YouVersion Logo
Search Icon

2 कोरिन्थी 3

3
1के हामी फेरि आफ्नै प्रशंसा गर्न थालेका छौं? अथवा कोही मानिसहरूलाई झैं हामीलाई पनि तिमीहरूलाई वा तिमीहरूबाट सिफारिस पत्रहरूको आवश्यकता पर्छ? 2हाम्रा सिफारिस पत्र तिमीहरू आफै नै हौ; जुन हाम्रा हृदयमा लेखिएका छन्, र प्रत्येकले जानेका छन् र पढेका छन्। 3तिमीहरूले यो देखाउछौ, कि तिमीहरू ख्रीष्‍टका पत्रहरू हौ, हाम्रा सेवाका प्रतिफलहरू हौ। तिमीहरू मसीले होइन, तर जीवित परमेश्‍वरका आत्माले लेखिएका, जो ढुङ्गाका पाटीमा होइन, तर मानवीय हृदयका पाटीहरूमा लेखिएका छन्।
4परमेश्‍वरको अघि ख्रीष्‍टद्वारा हाम्रो यस्तो भरोसा छ। 5हामीले आफैमा दाबी गर्ने किसिमको कुनै योग्यता हामीमा छैन, तर हाम्रो योग्यताचाहिँ परमेश्‍वरबाट नै आउँछ। 6उहाँले नै हामीलाई नयाँ करारका सेवकहरूको रूपमा योग्य बनाउनुभयो। लिखित नियमको रूपमा होइन, तर आत्माद्वारा, किनकि लिखित नियमले मार्छ, तर आत्माले जीवन दिनुहुन्छ।
नयाँ करारको महिमा
7अब यदि ढुङ्गामा खोपिएका अक्षरहरूको सेवाले मृत्यु ल्यायो, अनि त्यो महिमासाथ आयो, त्यही महिमाको कारण इस्राएलीहरूले मोशाको चम्किलो अनुहार सीधै हेर्न सकेनन्; यद्यपि त्यो हराएर जाने महिमाको चमक थियो भने#3:7 प्रस 34:29-30, 8के आत्माको जीवन दिने सेवा अझ महिमामय हुनेछैन र? 9मानिसहरूलाई दोषी ठहराउने त्यो नियमको सेवा महिमामय थियो भने धार्मिकता ल्याउने सेवा झन् कति बढी महिमामय छ! 10तर एकपटक जे महिमामय थियो, त्यसको तुलना वर्तमान महिमासित गर्दा अब त्यसको केही महिमा छैन। 11अनि यदि बितेर जाने महिमासाथ आए भने, सधैं रहिरहनेचाहिँको महिमा कति महान् होला!
12यसकारण हामीसित यस्तो आशा भएकोले अत्यन्त साहसी भएका छौं। 13हामी मोशाजस्ता होइनौं, जसले धमिलिँदै गएको महिमा इस्राएलीहरूले नदेखून् भनी आफ्नो अनुहारमा घुम्टो हाल्थे। 14तर इस्राएलीहरूको मन मन्द बनाइएको थियो; किनकि आजको दिनसम्मै पुरानो करार पढ्दा त्यही घुम्टोले ढाकिरहेकै छ; यो हटाइएकै छैन, किनकि ख्रीष्‍टमा मात्र यो हटाइन्छ। 15आज पनि यदि मोशाका पुस्तकहरू पढिन्छ भने तिनीहरूको हृदयलाई एउटा घुम्टोले ढाकेको हुन्छ। 16तर जब कोही प्रभुतिर फर्कन्छ, तब त्यो घुम्टो हटाइन्छ। 17अब प्रभु आत्मा हुनुहुन्छ, अनि जहाँ प्रभुको आत्मा हुनुहुन्छ, त्यहाँ स्वतन्त्रता हुन्छ। 18अनि हामी, जसले घुम्टो नलगाइएको मुहारले प्रभुको महिमा प्रतिविम्बित गर्छौं, प्रभुबाट आएको बढिरहने महिमासित उहाँको स्वरूपमा परिवर्तन भइरहेका छौं, जुन प्रभुबाट आउँछ, जो आत्मा हुनुहुन्छ।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in