YouVersion Logo
Search Icon

हितोपदेश 5

5
व्‍यभिचार विरुद्ध चेतावनी
1ए मेरो छोरो, बुद्धि र अन्‍तर्दृष्‍टिका कुरामा ध्‍यान दे अनि मेरा कुरामा कान थाप्। 2त्‍यसो भए, कसरी उचित चालमा चल्‍नुपर्छ, सो तैँले जान्‍नेछस् र तेरा वचनहरू ज्ञानपूर्ण हुनेछन्। 3अर्काकी स्‍वास्‍नीको ओठ महजस्‍तो मीठा र त्‍यसको बोली जैतुनको तेलझैँ चिप्‍ला होलान्, 4तर अन्‍तमा त्‍यो पित्तजस्‍तै तीतो र दुईधारे तरवारजस्‍तै हुन्‍छ। 5त्‍यसले तँलाई ओह्रालो मृत्‍यु-लोकमा पुर्‍याउँछे, त्‍यसका पाउहरू मृत्‍युको बाटोतिर लागेका हुन्‍छन्। 6तिनी जीवनको बाटोमा हिँड्दिन तर त्‍यो त्‍यागेर कुबाटो हिँड्छे र आफूलाई के हुँदै छ, त्‍यसले चाल पाउँदिन।
7ए मेरा छोराहरू हो! अब मेरा कुरा सुन र ती कहिल्‍यै नछोड। 8त्‍यस्‍ती आइमाईबाट टाढा बस! त्‍यसको घरको ढोकाको नजिक पनि नजाओ! 9नत्र त तिमीहरूले आफ्‍नो इज्‍जत अर्काका हातमा र आफ्‍नो प्राण जवान छँदै निष्‍ठुर मानिसहरूका हातमा गुमाउनेछौ। 10अँ, विदेशीहरूले तिमीहरूका धन-सम्‍पत्ति लिनेछन् र तिम्रा मिहिनेतको फल अरूलाई हुनेछ। 11अनि मर्ने बेलामा तिमीले पीडाले छटपटिएर सोर निकाल्‍नेछौ र हाड र छाला मात्र हुनेछौ। 12अनि तिमीले भन्‍नेछौ, “हाय! मैले किन समयमा शिक्षा लिइनँ? किन कसैबाट सुधारको कुरा ग्रहण गरिनँ? 13मेरा शिक्षकहरूका कुरा सुनिनँ। तिनीहरूका कुरामा ध्‍यानै दिइनँ 14र अचानक सारा समाजअघि मेरो बेइज्‍जत भएको थाहा पाएँ।”
15आफ्‍नी स्‍वास्‍नीप्रति विश्‍वासयोग्‍य भइरह र उसलाई मात्र प्रेम गर। 16अरू आइमाईहरूबाट जन्‍मेका तेरा सन्‍तानहरूले केही लाभ दिँदैनन्। 17तेरो आफ्‍नै सन्‍तानहरू ठूला भएर तँलाई सहायता गर्नुपर्छ, अरूहरूलाई होइन। 18-19यसकारण आफ्‍नी स्‍वास्‍नीसँग प्रसन्‍न भइबस र आफूले विवाह गरेकी हरिणीझैँ सुन्‍दरी र शोभावती स्‍त्रीसित आनन्‍दित हो। त्‍यसको शोभाले तँलाई खुसी राखोस् र त्‍यसले आफ्‍नो प्रेममा तँलाई डुबाइराखोस्। 20ए मेरो छोरो, तँ किन अर्की आइमाईलाई प्रेम गर्छस्? किन अर्काकी स्‍वास्‍नीको मोहनीमा भुल्‍छस्? 21तेरा सबै काम परमप्रभुले देख्‍नुहुन्‍छ। तँ जहाँ जान्‍छस्, उहाँले तँलाई हेरिरहनुहुन्‍छ। 22दुष्‍ट मानिसका पाप एउटा पासो हो, त्‍यो आफ्‍नै पापको जालमा फस्‍छ। 23आत्‍म-संयम नभएकाले त्‍यो नाश हुन्‍छ, आफ्‍नो अघोर मूर्खतामा त्‍यो मरेर जान्‍छ।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in