हितोपदेश 4
4
बुद्धिद्वारा पाइने लाभ
1ए मेरा छोराहरू हो! आफ्ना बुबाको अर्ती सुन, तिनमा ध्यान देओ र तिमीहरूलाई समझशक्ति प्राप्त हुनेछ। 2म तिमीहरूलाई जे सिकाउँछु, त्यो उत्तम छ यसकारण त्यसलाई नत्याग। 3म बालक छँदा आमाको एक्लो छोरो थिएँ। 4मेरा बुबाले मलाई शिक्षा दिनुहुन्थ्यो। उनले यसो भन्थे, “मेरा कुरा याद राख् र कहिल्यै नभुल्। मैले भनेजस्तो गर् र जीवन पाउनेछस्। 5बुद्धि र अन्तर्दृष्टि प्राप्त गर्! मैले भनेका कुरा नभुल वा नसुनेजस्तो नगर्। 6बुद्धिलाई नत्याग्, त्यसले तेरो रक्षा गर्नेछ, त्यसलाई प्रेम गर्, त्यसले तँलाई कुशलसाथ राख्नेछ। 7बुद्धि प्राप्त गर्नु तेरो सबैभन्दा ठूलो काम हो। अरू जे-जति पाउन सके पनि अन्तर्दृष्टि प्राप्त गर्। 8बुद्धिलाई प्रेम गर्, त्यसले तँलाई महान् बनाउनेछ। त्यसलाई अँगालो हाल् र त्यसले तँलाई इज्जत दिनेछ। 9त्यो तेरो शिरको गौरवको मुकुट हुनेछ।”
10ए मेरो छोरो, मेरो कुरा सुन्। मैले भनेका कुरामा ध्यान दे र तेरो लामो आयु हुनेछ। 11मैले तँलाई बुद्धिको बाटो देखाएको छु र सोझो बाटोमा हिँडाएको छु। 12तँ बुद्धिसित हिँडिस् भने तँलाई केही कुराले बाधा दिनेछैन र तँ दगुरिस् भने पनि लड्नेछैनस्। 13तैँले जे सिकेको छस्, त्यो सदा याद राख्, तैँले पाएको शिक्षा तेरो जीवन हो, त्यसलाई राम्ररी जोगाएर राख्। 14दुष्ट मानिसहरू गएको बाटो नपछ्या, दुष्टहरूको चालको नक्कल नगर्। 15त्यसो नगर्! दुष्ट्याइँदेखि टाढा बस्! त्यसबाट तर्केर आफ्नै बाटोमा हिँड्। 16दुष्टहरू केही खराबी नगरेसम्म निदाउन सक्दैनन्। कसैको हानि नगरेसम्म तिनीहरू सुत्न सक्दैनन्। 17दुष्ट्याइँ र हिँसा तिनीहरूका निम्ति खाने र पिउने कुरा हुन्।
18धर्मी हिँडेको बाटो घाम झुल्केजस्तो हो, त्यो पूरा उज्यालो नभएसम्म झन्-झन् चहकिलो हुँदैजाँदछ। 19दुष्ट हिँडेको बाटो रातको अँध्यारोजस्तै हो, तिनीहरू लड्छन् तर केमा ठोकिएर लड्दै छन्, सो देख्दैनन्।
20ए मेरो छोरो, मेरो कुरामा ध्यान दे। मेरा वचन सुन्। 21ती तँबाट उम्कन नदे, ती याद राख् र तेरो हृदयमा लिइराख्। 22मेरो कुरा बुझ्नेले जीवन र स्वास्थ्य प्राप्त गर्नेछ। 23आफ्ना सोचबारे होशियार बस्, तेरो सोचअनुसार तेरो जीवन बन्दछ। 24कहिले झूटा नबोल्, झूटा र छल-कपटका कुराहरूबाट अलग बस्। 25इमानदारी र विश्वासका साथ आफ्नो अघि सीधा हेर्, लाजले तेरो शिर निहुरिन नपरोस्। 26#हिब्रू 12:13आफूले गर्ने कामको योजना होशियारीसाथ बना र तँ जे गर्छस्, त्यो ठीक हुनेछ। 27खराबीदेखि अलग बस्, सीधा अघि हिँड्। एक कदम दायाँ वा बायाँ नचाल्।
Currently Selected:
हितोपदेश 4: सरल नेपाली
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.