यशैया 1
1
1 #
२ राजा 15:1-7; २ इतिहास 26:1-23;
२ राजा 15:32-38; २ इतिहास 27:1-9;
२ राजा 16:1-20; २ इतिहास 28:1-27;
२ राजा 18:1—20:21; २ इतिहास 29:1—32:33 यहूदाका राजाहरू उज्जियाह, योताम, आहाज र हिजकियाका शासनकालमा आमोजका छोरा यशैयालाई यहूदा र यरूशलेमबारे परमेश्वरले दर्शनमा दिनुभएको सन्देश यस पुस्तकमा छ।
परमेश्वरले आफ्ना प्रजालाई हप्काउनुहुन्छ
2परमप्रभुले भन्नुभयो, “हे पृथ्वी र आकाश, मेरा कुरा सुन! मैले हुर्काएका छोरा-छोरीहरूले मेरा विरुद्धमा विद्रोह गरेका छन्। 3गोरुले आफ्नो मालिक चिन्दछ र गधाले आफ्नो मालिकले खुवाउने डुँड चिन्दछ। यी पशुहरूको ज्ञान र मेरा प्रजा इस्राएलीहरूको भन्दा बढी छ। मेरा प्रजाले केही बुझ्दैनन्।”
4तिमी पापी जाति, दुष्ट र भ्रष्ट मानिसहरूका झुण्ड, तिमीहरू विनाश हुनेछौ। तिमीहरूका पापले तिमीहरूलाई तल घिसार्दछ! तिमीहरूले परमप्रभु, इस्राएलका पवित्र परमेश्वरलाई इन्कार गरेका छौ र उहाँलाई आफ्ना पिठ्युँ फर्काएका छौ। 5तिमीहरू किन विद्रोह गरिरहन्छौ? के तिमीहरूले अझ धेरै दण्ड खोजेका? हे इस्राएल, तेरो शिर घाउले भरिएको छ, तेरो हृदय र मन रोगी भएको छ। 6तेरो शरीरमा शिरदेखि पैतालासम्म रोग नलागेको कुनै ठाउँ छैन। चोट, घाउ, खटिरा र ठूला घाउहरूले तँ बिटुलिएको छस्। तेरा घाउ कसैले धोएर मलम-पट्टी लगाइदिएको छैन।
7तिमीहरूका देश विध्वंस पारिएको छ र तिमीहरूका सहरहरू आगोले भस्म पारिएका छन्। तिमीहरूकै सामुन्ने विदेशीहरूले तिम्रा जमिन हात पार्छन् र सबै थोक नष्ट गरिदिन्छन्। 8खालि यरूशलेम बाँचेको छ तर त्यो पनि घेरामा परेको छ। त्यो दाखबारीमा पालेले डेरा वा काँक्राघारीमा एउटा छाप्रोझैँ असुरक्षित छ। 9#उत्पत्ति 19:24; रोमी 9:29सर्वशक्तिमान् परमप्रभुले केही मानिसहरूलाई बचाएर नराख्नुभएको भए सदोम र गमोराजस्तै यरूशलेम पनि पूरा नाश भएर जानेथियो।
10हे यरूशलेम, तेरा शासकवर्ग र मानिसहरू सदोम र गमोराका जस्तै छन्। परमप्रभुले तँलाई के भन्दै हुनुहुन्छ, त्यो सुन्! हाम्रा परमेश्वरले तँलाई के सिकाउँदै हुनुहुन्छ, त्यसमा ध्यान दे। 11#आमोस 5:21,22उहाँ भन्नुहुन्छ, “के तिमीले चढाइरहेका थुप्रै बलिदानहरू म चाहन्छु भनी तिमीहरू सोच्दैछौ? मलाई त तिमीहरूले होमबलि चढाएका भेडाहरू र मोटा पशुका बोसोले नाक लागिसक्यो। साँढेहरू, भेडाहरू र बोकाहरूका रगतले मलाई वाक्क लागिसक्यो। 12मलाई पुज्न आउँदा यी सबै कुरा ल्याउनुपर्छ भनी कसले तिमीहरूलाई भन्यो? कसले मेरो मन्दिरमा तिमीहरूलाई खुट्टाले कुल्ची-मिल्ची गर्न लगायो? 13तिमीहरूका भेटीहरू ल्याउनु व्यर्थ छ। तिमीहरूले बालेका धूपसित म विरक्त भइसकें। तिमीहरूका औंसीका चाड, विश्रामको दिन पालन र धार्मिक सभाहरू मैले सहन नसक्ने भएका छन्। तिमीहरूका पापले गर्दा ती भ्रष्ट भएका छन्। 14म तिम्रा औंसी र अरू पवित्र चाडका दिनहरूलाई घृणा गर्दछु। ती मैले बोक्न नसक्ने भार भएका छन्।
15“तिमीहरूले प्रार्थनामा हात उचाल्दा म आफ्नो मुख अर्कोतिर फर्काउनेछु। तिमीहरूले जति धेरै प्रार्थना गरे पनि म ती सुन्नेछैनँ किनभने तिमीहरूका हातमा हत्या गरेका रगत लागेको छ। 16आफैंलाई धोएर चोखो पार। जुन दुष्कर्म तिमीहरूले गरेको म देख्दछु, ती बन्द गर। हो, दुष्कर्म छोड 17र ठीक काम गर्न सिक। सबैको निसाफ गर, अत्याचारमा परेकाहरूलाई सहायता गर, टुहुरा-टुहुरीहरूको हकको खोजी गरिदेऊ, रक्षा गरिदेऊ र विधवाको पक्षमा बोल।”
18परमप्रभु भन्नुहुन्छ, “आओ, हामी सबै कुरा छलफल गरौं। पापले तिमीहरूमा रातो दाग लागे तापनि म तिमीहरूलाई धोई हिउँजस्तै सेतो पार्नेछु। तिमीहरूका पापको दाग गाढा रातो रङ्गको भए तापनि तिमीहरू ऊनजस्तै सेता हुनेछौ। 19तिमीहरू मेरा आज्ञापालन गर्न इच्छुक भयौ भने तिमीहरूले देशका असल-असल उब्जाउहरू खान पाउनेछौ। 20तर तिमीहरूले अटेरी र मेरो विरोध गर्यौ भने त तिमीहरू तरवारले मारिनेछौ। म परमप्रभु यो कुरा भन्दछु।”
पापी सहर
21एक समयको विश्वासयोग्य सहर अब वेश्याजस्तै भएको छ! एक समय त्यो सहर धार्मिक मानिसहरूले भरिभराउ थियो तर अब त त्यहाँ हत्याराहरू मात्र छन्। 22हे यरूशलेम, एक समय तँ चाँदीजस्तो थिइस् तर अब बेकामको भइस्, तँ असल दाखमद्यझैँ थिइस् तर अब त साधारण पानी मात्र भएको छस्। 23तेरा अगुवाहरू विद्रोही र चोरका साथीहरू भएका छन्। तिनीहलेरू सदा कोसेली र घुस खोजिरहन्छन्। अदालतमा तिनीहरूले कहिल्यै टुहुरा-टुहुरीको न्यायको रक्षा गर्दैनन् र विधवाहरूका उजुर सुन्दैनन्।
24यसर्थ सर्वशक्तिमान् परमप्रभु इस्राएलका शक्तिशाली परमेश्वर के भन्दै हुनुहुन्छ, त्यो राम्ररी सुन, “मेरा शत्रुहरूसित म बदला लिनेछु र शत्रुहरूले मलाई अरू दु:ख दिन सक्नेछैनन्। 25म तिमीहरूका विरुद्धमा कारवाही गर्नेछु। चाँदी खारेझैँ म तिमीहरूलाई शुद्ध गर्नेछु र तिमीहरूका सबै अशुद्धता हटाउनेछु। 26उहिलेका जस्तै न्यायकर्ता र सल्लाहकारहरू म तिमीहरूलाई दिनेछु। तब यरूशलेम धर्मी र विश्वासयोग्य सहर कहलिनेछ।”
27परमप्रभु धर्मी हुनुहुन्छ र उहाँले यरूशलेम र त्यहाँका पश्चात्ताप गर्ने हरेक प्राणीलाई बचाउनुहुनेछ। 28तर पाप गर्ने र उहाँको विरोध गर्ने हरेकलाई उहाँले चुर पार्नुहुनेछ। उहाँलाई त्याग्ने हरेकलाई उहाँले नाश गर्नुहुनेछ।
29तिमीहरूले फलाँटका रूखका पूजा गरेका र मूर्तिको पूजा-स्थल लाएका कारणले तिमीहरूले अफसोस गर्नुपर्नेछ। 30सुक्न लागेको फलाँटको रूख र पानी नपाएको बगैँचाझैँ तिमीहरू ओइलाइजानेछौ। 31आगोको फिलिङ्गाले पराल भस्म भएझैँ शक्तिशाली मानिसहरूका आफ्ना दुष्ट कामसमेत नाश हुनेछ र कसैले तिनीहरूको विनाश रोक्न सक्नेछैन।
Currently Selected:
यशैया 1: सरल नेपाली
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.