YouVersion Logo
Search Icon

प्रस्‍थान 27

27
वेदी
1“बबुल काठको लम्‍बाइ र चौडाइ बराबर भएको चारपाटे वेदी बनाउनू। त्‍यसको लम्‍बाइ र चौडाइ २ मिटर २० सेन्‍टिमिटर र उचाइ १ मिटर ३० सेन्‍टिमिटर हुनेछ। 2त्‍यसका चार कुनाका टुप्‍पामा बाहिर सिङजस्‍ता निस्‍केका चोसो राखून्। त्‍यस वेदीसँग एउटै काठको टुक्राले बनेको होस् र जम्‍मै काँसाले मोहोर्नू। 3बोसोसितको खरानी थाप्‍ने भाँडाहरू र बेल्‍चाहरू, बटुका, अङ्कुसे परेका काँटा र आगोका पात्रहरू काँसाको बनाउनू। 4काँसाको एउटा जाली बनाउनू र त्‍यसका कुना-कुनामा चार वटा काँसाका बोक्‍ने मुन्‍द्राहरू लगाउनू। 5जाली वेदीको किनारामुनि राख्‍नू, त्‍यसरी राख्‍दा जाली वेदीको बीचसम्‍म आइपुगोस्। 6वेदी बोक्‍ने डन्‍डाहरू बबुल काठको बनाउनू र काँसाले मोहोर्नू। 7वेदी बोक्‍दा त्‍यसका छेउमा लागेका मुन्‍द्राहरूभित्र डन्‍डाहरू छिराउनू। 8वेदी फल्‍याकले बनाउनू र खोक्रो छोड्‍नू। मैले पर्वतमाथि देखाएको ढाँचाअनुसार त्‍यो बनाउनू।
परमप्रभुको उपस्‍थिति हुने पवित्र पालको घेरो
(प्रस्‍थान ३८:९-२०)
9“म बास गर्ने पवित्र पाललाई घेरेर मिहिन सुती कपडाको पर्दाले एउटा घेरा हाल्‍नू। पर्दा दक्षिणपट्टि ४४ मिटर लामो होस्। 10त्‍यसलाई काँसाकै आसन भएका र चाँदीको अङ्कुसे र डन्‍डी लागेका काँसाका बीसवटा खम्‍बाहरूमा झुन्‍ड्याउनू। 11चोकको उत्तरपट्टि पनि त्‍यसै गर्नू। 12पश्‍चिमपट्टि दश आसनमाथि र दश खम्‍बाहरूमा २२ मिटर लामो पर्दा रहनेछ। 13पूर्वपट्टि, जहाँ मूलढोका रहनेछ, घेराको चौडाइ पनि २२ मिटर रहनेछ। 14-15मूल-ढोकाको दुवैपट्टि छ मिटर ६० सेन्‍टिमिटरका पर्दाहरू रहनेछन्। ती पर्दाहरू एक-एक गरेर तीन आसनमाथि तीन खम्‍बाहरूमा राखिनेछन्। 16ढोकाको निम्‍ति नीलो बैजनी र रातो धागोको ऊनले बुनी जोडेको अनि फूल-बुट्टा भरेको एउटा मिहिन सुती लुगाको ९ मिटर लामो पर्दा रहनेछ। त्‍यसलाई चार आसनमाथि खडा चार खम्‍बाहरूले थाम्‍नेछन्। 17घेराका चारैपट्टिका खम्‍बाहरू एउटा अर्कोसित चाँदीको डन्‍डीले जोडिनुपर्छ र तिनका आसनहरू काँसाको अनि अङ्कुसेहरू चाँदीको बनिनुपर्छ। 18घेरा ४४ मिटर लामो, २२ मिटर चौडा र २ मिटर २० सेन्‍टिमिटर अग्‍लो रहनेछ। तिनका आसन काँसाको र पर्दाहरू मिहिन सुती कपडाका हुनेछन्। 19पवित्र पालका सबै सामान र किलाहरू र घेरामा लाग्‍ने किलाहरू काँसाका बनिनेछन्।
पानसको जतन
(लेवी २४:१-४)
20“पानसको लागि सबैभन्दा असल जैतुनको तेल ल्‍याउने आदेश इस्राएलको प्रजालाई दे र हरेक साँझ त्‍यो बालिराख्‍नू। 21हारून र त्‍यसका छोराहरूले म बास गर्ने पवित्र पालमा करारको सन्‍दुक अघिल्‍तिरका पर्दाको बाहिरपट्टि पानस राख्‍नेछन्। त्‍यहाँ मेरो सामुन्‍नेमा त्‍यो साँझदेखि बिहानसम्‍म बलिरहनेछ। इस्राएलीहरू र तिनका सन्‍तानले सदासर्वदा यो आज्ञापालन गर्नुपर्नेछ।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in