YouVersion Logo
Search Icon

प्रस्‍थान 28

28
पूजाहारीहरूको पोशाक
1“तेरा दाजु हारून र त्‍यसका छोराहरू नादाब, अबीहू, एलाजार र ईतामारलाई बोला। तिनीहरूलाई इस्राएलीहरूका बीचबाट अलग गर्‌ र तिनीहरूले मेरो निम्‍ति पूजाहारीका काम गरून्। 2तेरो दाजु हारूनको लागि पूजाहारीका वस्‍त्र बनाइदे र त्‍यसले आदर र शोभाको पोशाक पाओस्। 3मैले जुन-जुन कारिगरलाई काम गर्ने योग्‍यता दिएको छु, तिनीहरूलाई बोलाउन पठा र तिनीहरूलाई हारूनको पोशाक बनाउन लगा अनि हारूनलाई मेरो सेवाकार्यको लागि अर्पण गर्‌। 4एक-एक वटा छाती-पाता, एपोद, लबेदा, अलखा, फेटा र पटुका बनाउन ती कारिगरहरूलाई भन्‍नू। यी पूजाहारीका वस्‍त्रहरू तिनीहरूले हारून र त्‍यसका छोराहरूको निम्‍ति बनाऊन् र तिनीहरूले पूजाहारी काम गरी मेरो सेवा गर्नेछन्। 5ती कारिगरहरूले नीलो, बैजनी र रातो धागो, सुनको धागो र मिहिन सुती कपडाले ती पोशाकहरू बनाऊन्‌।
6“तिनीहरूले नीलो, बैजनी र रातो रङ्गका धागो, सुनको धागो र मिहिन सुतीको कपडामा फूल-बुट्टा लाएर एपोद बनाऊन्। 7त्‍यसका छेउमा काँधमा बाँध्‍ने दुईवटा कपडाका पेटी लगाऊन्।
8त्‍यही सामग्रीहरूले राम्ररी बुनेको एउटा कम्‍मरपेटी एपोदसँग एउटै टुक्रा गरी लगाऊन्। 9-10एक जोर आनिक्‍स लिएर एउटामा छ वटा र अर्कोमा छ वटा गरी इस्राएलका बाह्र छोराहरूको नाम जेठाबाट सुरु गरेर पालैसित कान्‍छासम्‍म तिनमा खोपून्। 11ती दुईवटा पत्‍थरमा एउटा सिपालु शिल्‍पकारलाई इस्राएलका छोराहरूका नाम खोप्‍न लाउनू र ती पत्‍थर सुनमाथि जडेर राख्‍नू।
12ती दुई पत्‍थरहरू इस्राएलका बाह्र कुल बुझाउन एपोदका काँधेपेटीमा लगाउनू। यस प्रकारले तिनीहरूको नाम हारूनले आफ्‍नो काँधमा बोक्‍नेछ र म परमप्रभुले मेरा प्रजालाई सधैँ सम्‍झनेछु। 13सुनका दुईवटा मणि जड्‍ने घर बनाउनू 14र तिनमा डोरीजस्‍तो बाटेका निखुर सुनका एक जोर सिक्रीहरू जोड्‍नू।
छाती-पाता
(प्रस्‍थान ३९:८-२१)
15“परमेश्‍वरको इच्‍छा पक्‍का गरी बुझ्‍नलाई मुख्‍य पूजाहारीको निम्‍ति एउटा छाती-पाता बनाइदिनू। एपोदकै जस्‍तो र त्‍यसरी नै फूल-बुट्टा भरेको सामग्रीले त्‍यो छाती-पाता बनाउनू। 16त्‍यसलाई बराबर लम्‍बाइ र चौडाइ भएको चारकुने बनाएर बीचमा पट्ट्याउनू। त्‍यो २२ सेन्‍टिमिटर लामो र २२ सेन्‍टिमिटर चौडा हुनेछ। 17त्‍यसमा चार लहर दामी पत्‍थरहरू लाउनू। पहिलो लहरमा मानिक, पुष्‍पराज र बेरूज लाउनू। 18दोस्रो लहरमा फिरोजा, नीर र पन्‍ना, 19तेस्रो लहरमा नीलमणि, हाकिक र कटेलाको र 20चौथो लहरमा पीतमणि, आनिक्‍स र बिल्‍लौर मणिहरू लाउनू। यी सबै सुनका मणि घरहरूमा जडेर लाउनू। 21इस्राएलका कुल बुझाउन ती बाह्र पत्‍थरहरूमा एक-एक वटा गरी याकूबका बाह्र छोराहरूका नाम खोपाउनू। 22छाती-पाताको लागि डोरीजस्‍तो बाटेको निखुर सुनका सिक्रीहरू बनाउनू। 23सुनका दुईवटा मुन्‍द्रा बनाएर छाती-पाताका माथिल्‍ला दुई कुनामा जोड्‍नू, 24ती दुईवटा सुनका सिक्रीहरू दुई मुन्‍द्रामा जोड्‍नू। 25डोरीको अर्का दुई छेउ मणि जडेका दुई घरसँग जोड्‍नू र यसरी एपोदको काँधे-पेटीसित तिनलाई अगाडिपट्टि जोड्‍नू। 26त्‍यसपछि सुनका दुईवटा मुन्‍द्रा बनाएर छाती-पाताको भित्री बिटका मुनिका दुई कुनासित एपोदको छेउमा जोड्‍नू। 27अरू दुईवटा सुनका मुन्‍द्राहरू बनाएर एपोदको काँधे-पेटीको सामुन्‍नेपट्टि मुनिको भागसित त्‍यसको राम्ररी बुनेका कम्‍मरपेटी मास्‍तिर सिउनीको छेउमा जोड्‍नू। 28नीलो धागोले छाती-पाताका मुन्‍द्रालाई एपोदका मुन्‍द्रासित बाँध्‍नू। त्‍यसरी छाती-पाता कम्‍मरपेटी मास्‍तिर बस्‍नेछ र त्‍यो खुकुलो हुनेछैन।
29“हारून पवित्रस्‍थानमा पस्‍दा त्‍यसले इस्राएलका कुलका नाम खोपिएका छाती-पाता पहिरनेछ र म परमप्रभुले त्‍यसरी आफ्‍ना प्रजालाई सधैँ सम्‍झनेछु। 30#गन्ती 27:21; व्यवस्था 33:8; एज्रा 2:63; नहेम्‍याह 7:65छाती-पातामा ऊरीम र तुम्‍मीम राख्‍नू र मेरो सामुन्‍ने आउँदा तिनलाई हारूनले आफूसँग बोक्‍नेछ। त्‍यसरी मेरो सामने आउँदा हारूनले सधैँ छाती-पाता लाओस् र त्‍यसले इस्राएलका प्रजाको निम्‍ति मेरो इच्‍छा के छ, पक्‍का गरी बुझ्‍न सक्‍नेछ।
पूजाहारीका अन्‍य वस्‍त्रहरू
(प्रस्‍थान ३९:२२-३१)
31“एपोदमाथि लाउने लबेदा सम्‍पूर्ण नीलो ऊनी कपडाको बनाउनू। 32त्‍यसमा टाउको छिराउनलाई एउटा प्‍वाल बनाउनू र प्‍वालको मुख बलियो गराउन रिङ्गै बुनेको घेरा लाउनू र त्‍यो नफाटोस्। 33-34त्‍यसको तल्‍लो फेरोमा रिङ्गै नीलो, बैजनी र रातो धागोले अनार बनाएर फूल-बुट्टा भर्नू र बीच-बीचमा सुनको घण्‍टी झुन्‍ड्याइदिनू। 35हारूनले पूजाहारी काम गर्दा त्‍यो लबेदा लगाओस्। त्‍यो पवित्रस्‍थानमा मेरो सामु आउ-जाउ गर्दा घण्‍टीको आवाज सुनिनेछ र त्‍यो मर्नेछैन।
36“एउटा निखुर सुनको पाता बनाएर त्‍यसमा ‘परमप्रभुलाई अर्पण गरिएको’ भनी खोप्‍नू। 37त्‍यसलाई फेटाको अघिपट्टि नीलो डोरीले बाँध्‍नू। 38त्‍यो हारूनले आफ्‍नो निधारमा लाउनेछ र म परमप्रभुले इस्राएलीहरूले मलाई चढाएका सबै भेटीहरू ग्रहण गर्नेछु, तिनीहरूले ती भेटी चढाउन केही गल्‍ती गरे पनि म ती ग्रहण गर्नेछु।
39“हारूनका लबेदा र फेटा मसिनो सुती कपडाको बनाउनू। बुट्टा हानेको काम भएको पटुका पनि बनाउनू।
40“हारूनका छोराहरूका लागि अलखा, पटुका र फेटाहरू बनाउनू। ती वस्‍त्रले तिनीहरूलाई मान र शोभा दिनेछन्। 41यी वस्‍त्रहरू तेरा दाजु र त्‍यसका छोराहरूलाई लाइदिनू। तब तिनीहरूलाई काममा खटाउनू र जैतुनको तेलले अभिषेक गरेर अर्पण गर्नू र तिनीहरूले पूजाहारी बनी मेरो सेवा गर्नेछन्। 42तिनीहरूको निम्‍ति सुती कपडाको कम्‍मरदेखि घुँडाबाट तिघ्रासम्‍म पुग्‍ने भित्री वस्‍त्र बनाउनू र तिनीहरूको नाङ्गोपना नदेखिओस्। 43पवित्रस्‍थानमा पूजाहारीको सेवा गर्न म बास गर्ने पालमा जाँदा वा वेदीको नजिक आउँदा हारून र त्‍यसका छोराहरूले सधैँ ती वस्‍त्रहरू पहिरून् र तिनीहरूका नाङ्गोपना देखिएर तिनीहरू मर्नेछैनन्। यो हारून र त्‍यसका सन्‍तानको निम्‍ति सदाकालको लागि एउटा विधि रहनेछ।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in