YouVersion Logo
Search Icon

प्रेरित 23

23
1पावलले महासभातिर एकटक लाएर हेरे, र भने, “भाइ हो, आजको दिनसम्‍म परमेश्‍वरको दृष्‍टिमा मैले शुद्ध विवेकले जीवन बिताएको छु।”
2यस कुरामा प्रधान पूजाहारी हननियाले तिनको छेउमा उभिनेहरूलाई मुखमा हिर्काउने हुकुम दिए। 3तब पावलले उनलाई भने, “हे चून पोतेको भित्तो! तिमीलाई पनि परमेश्‍वरले प्रहार गर्नुहुनेछ। तिमी व्‍यवस्‍थाबमोजिम मेरो इन्‍साफ गर्न बसेर के व्‍यवस्‍थाको विपरीत मलाई हिर्काउने हुकुम दिन्‍छौ?”#मत्ती २३:२७-२८
4अनि छेउमा उभिनेहरूले भने, “के तँ परमेश्‍वरका प्रधान पूजाहारीको अपमान गर्छस्‌?”
5तब पावलले भने, “भाइ हो, उहाँ प्रधान पूजाहारी हुनुहुन्‍छ भन्‍ने मलाई थाहा थिएन। किनकि लेखिएको छ, ‘तैंले आफ्‍ना जनताका शासकको खराबी नबोल्‍नू’।”#प्रस २२:२८
6तर त्‍यस महासभामा एक दल सदुकी र अर्को दल फरिसीहरू रहेछन्‌ भन्‍ने थाहा पाएर पावलले उच्‍च सोरमा भने, “भाइ हो, म त फरिसीहरूका छोरो फरिसी नै हुँ। मरेकाहरूको आशा र पुनरुत्‍थानको कारण मेरो मुद्दा चलिरहेछ।”#प्रे २६:५; फिलि ३:५ 7तिनले यसो भनेपछि फरिसीहरू र सदुकीहरूमा मतभेद भयो, र भीड़मा फाटो पर्‍यो। 8किनकि सदुकीहरू भन्‍दछन्‌ कि पुनरुत्‍थान, स्‍वर्गदूत, आत्‍मा भन्‍ने केही पनि छैन। तर फरिसीहरू ती सबै मान्‍छन्‌।#मत्ती २२:२३; मर्क १२:१८; लूक २०:२७
9त्‍यहाँ ठूलो होहल्‍ला मच्‍चियो, र फरिसी दलका कोही शास्‍त्रीहरू खड़ा भएर यसो भन्‍दै प्रतिवाद गर्न लागे, “यस मानिसमा हामी केही खराबी पाउँदैनौं। यदि आत्‍मा वा स्‍वर्गदूतले यिनलाई यसो भनेका हुन्‌ भने के त?” 10त्‍यहाँ ठूलो मतभेद भएपछि उनीहरूका हातबाट पावल लुछलाछ पारिएलान्‌ भन्‍ने डरले सेनापतिले सिपाहीहरूलाई तल गएर तिनलाई उनीहरूका बीचबाट बलजफतीसँग ल्‍याएर ब्‍यारेकभित्र लैजानू भनी आज्ञा दिए।
11भोलिपल्‍ट राती प्रभुले तिनका नजिक उभिएर भन्‍नुभयो, “साहस गर, पावल, किनकि जसरी तिमीले यरूशलेममा मेरो विषयमा गवाही दियौ, त्‍यसरी तिमीले रोममा पनि गवाही दिनुपर्छ।”
पावललाई हत्‍या गर्ने षड्‌यन्‍त्र
12बिहान उज्‍यालो भएपछि यहूदीहरूले आपसमा गट्ठा बाँधेर पावलको हत्‍या नगरेसम्‍म केही नखाने र नपिउने शपथ खाए। 13यो षड्‌यन्‍त्र गर्ने मानिसहरू चालीसभन्‍दा पनि बढ़ी थिए। 14यिनीहरूले मुख्‍य पूजाहारीहरू र धर्म-गुरुहरूकहाँ गएर भने, “पावलको हत्‍या नगरेसम्‍म हामी केही खानेछैनौं भनी हामीले दृढ़ शपथ खाएका छौं। 15यसकारण तपाईंहरू र महासभा मिलेर सेनापतिलाई अपिल गर्नुहोस्, र त्‍यसको मुद्दाको निर्णय अझ ठीक रूपले गर्नुपर्छ भन्‍ने बहाना बनाई त्‍यसलाई झिकाउनुहोस्‌। अनि त्‍यो यहाँ आउनासाथ हामी त्‍यसको हत्‍या गर्न तयार रहन्‍छौं।”
16अब पावलको भानिजले यो षड्‌यन्‍त्र थाहा पाएर ब्‍यारेकभित्र गई पावललाई सुनाइदियो।
17तब पावलले कप्‍तानहरूमध्‍ये एक जनालाई बोलाएर भने, “यस युवकलाई सेनापतिकहाँ पुर्‍याइदिनुहोस्, किनकि यसको उहाँसँग केही भन्‍ने कुरा छ।”
18यसकारण उनले त्‍यसलाई लिएर सेनापतिकहाँ पुर्‍याएर भने, “बन्‍दी पावलले मलाई डाकेर यस ठिटालाई तपाईंकहाँ लैजानू भनेको छ, तपाईंलाई भन्‍नुपर्ने केही कुरा छ, अरे।”
19सेनापतिले त्‍यसको हात समातेर एकातिर लगी एकान्‍तमा सोधे, “तैंले मलाई भन्‍ने कुरा के हो?”
20त्‍यसले भन्‍यो, “यहूदीहरूले पावलको विषयमा अझ राम्ररी सोधपूछ गर्ने निहुँ गरी भोलि तिनलाई महासभामा ल्‍याइदिनुहोस्‌ भनी तपाईंसँग अनुरोध गर्ने मतो गरेका छन्‌। 21तर तपाईंले तिनीहरूको कुरा नमान्‍नुहोला, किनकि तिनीहरूमध्‍ये चालीसभन्‍दा पनि बढ़ी मानिसहरूले तिनको हत्‍या नगरुञ्‍जेल केही खानपान नगर्ने शपथ खाएर तिनलाई मार्नलाई ढुकेर बसेका छन्, र अब तिनीहरू तपाईंका वचनको आशा गरी तयारीमा छन्‌।”
22यसकारण सेनापतिले त्‍यस ठिटालाई यसो भनी आज्ञा दिएर पठाए, “तैंले मलाई यो खबर दिएको कुरा कसैलाई नभन्‌।”
पावल कैसरिया पठाइएका
23त्‍यसपछि तिनले कप्‍तानहरूमध्‍ये दुई जनालाई बोलाई भने, “आज राती नौ बजेतिर दुई सय सिपाहीहरू, सत्तरी जना घोड़चढ़ी र दुई सय भालावालहरूलाई कैसरियासम्‍म जान तयार पारी राख। 24अनि पावलको निम्‍ति पनि घोडाको व्‍यवस्‍था गर, र उनलाई सुरक्षासाथ हाकिम फेलिक्‍सकहाँ पुर्‍याऊ।” 25तिनले यस किसिमको पत्र पनि लेखे:
26“माननीय हाकिम फेलिक्‍सलाई, क्‍लौडियस लुसियसको अभिवादन! 27यस मानिसलाई यहूदीहरूले पक्रेर मार्न खोजेका थिए, तर यो रोमी नागरिक रहेछ भन्‍ने मैले थाहा पाई फौजसँग त्‍यहाँ पुगी यसलाई छुटाएँ। 28कुन अभियोगमा तिनीहरूले यसलाई दोष लाएका रहेछन्‌ भनी जान्‍ने इच्‍छाले मैले यसलाई तिनीहरूको महासभामा ल्‍याएँ। 29तिनीहरूले व्‍यवस्‍थाका प्रश्‍नबारे यसलाई दोष लाएका रहेछन्‌। तर ज्‍यानसजाय अथवा कैद गर्नुपर्ने माफिकको केही दोष मैले भेट्टाइनँ। 30यस मानिसको विरुद्ध षड्‌यन्‍त्र हुँदैछ भन्‍ने कुराको सूचना मलाई दिइयो, र यसलाई तुरुन्‍तै तपाईंको सामने पठाएको छु, र यसको विरुद्ध दोष लाउनेहरूलाई पनि तपाईंको सामु बयान दिनू भनी आदेश गरेको छु।”
31यसैले आज्ञा पाएबमोजिम सिपाहीहरूले पावललाई राती नै एन्‍टिपाट्रिसमा पुर्‍याए। 32घोड़चढ़ीहरूलाई तिनको साथ जान त्‍यहीँ छोड़ेर अर्को दिन तिनीहरू ब्‍यारेक फर्के। 33कैसरियामा पुगेपछि तिनीहरूले हाकिमलाई पत्र बुझाई पावललाई पनि उनका सामुन्‍ने हाजिर गराए। 34उनले पत्र पढ़ेपछि तिनी कुन जिल्‍लाका हुन्‌ भनी सोधे। तिनी किलिकियाका हुन्‌ भन्‍ने थाहा पाएपछि उनले भने, 35“तिमीलाई अभियोग लाउनेहरू आएपछि तिम्रो मुद्दा सुन्‍नेछु।” अनि उनले तिनलाई हेरोदले बनाएको दरबारमा राख्‍नू भनी हुकुम गरे।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in