YouVersion Logo
Search Icon

प्रेरित 24

24
पावल फेलिक्सको सम्‍मुख
1पाँच दिनपछि प्रधान पूजाहारी हननिया र कतिपय धर्म-गुरुहरू, तर्तुल्‍लस नाउँका एक जना वकीलसँग त्‍यहाँ आए, र तिनीहरूले पावलको विरुद्ध हाकिमको अगि मुद्दा पेश गरे। 2पावल त्‍यहाँ झिकाइएपछि तर्तुल्‍लसले तिनलाई यसो भन्‍दै अभियोग लाउन थाले, “अति माननीय फेलिक्‍स, हजूरबाट हामीले ठूलो शान्‍ति भोग गर्दैछौं, र हजूरले यस जातिको निम्‍ति सुधारहरू सुरु गर्नुभएको छ। 3यो कुरा हरप्रकारले सबै ठाउँमा हामी कृतज्ञतासाथ स्‍वीकार गर्छौं। 4तर हजूरको बढ़ी समय नलिएर हाम्रो बिन्‍ती छोटकरीमा दया गरी सुनिदिनुहोस्‌। 5“किनकि हामीले यस मानिसलाई जताततै दुःख दिइहिँड्‌ने, संसारभरिका सारा यहूदीहरूका बीचमा आन्‍दोलन मच्‍चाउने, र नासरी पन्‍थका मुख्‍य अगुवाको रूपमा भेट्टाएका छौं। 6यसले मन्‍दिर अपवित्र पार्ने पनि कोसिस गरेको थियो, तर यसलाई हामीले पक्र्यौं। हाम्रो व्‍यवस्‍थाअनुसार कारवाही गर्ने पनि थियौं, 7तर सेनापति लुसियसले हामीकहाँ आएर बड़ो जबरदस्‍तसाथ त्‍यसलाई हाम्रा हातबाट खोसेर लैजानुभयो, र यसको विरुद्धमा अभियोग लाउनेहरूलाई हजूरकहाँ आउने आज्ञा गर्नुभयो। 8अब हजूर स्‍वयम्‌ले यसको जाँच गर्नुभएमा हामीले यसलाई लाएको अभियोगका यी सबै कुरा ऊबाट थाहा पाउन सक्‍नुहुन्‍छ।”
9ती यहूदीहरूले पनि ती कुराहरू सबै ठीक हुन्‌ भनी समर्थन गरे।
10हाकिमले तिनलाई बोल्‍ने इशारा गरेपछि पावलले जवाफ दिए, “धेरै वर्षदेखि हजूर यहूदी जातिका न्‍यायाधीश हुनुभएको कुरा थाहा भएकोले म आफ्‍नो पक्षमा सहर्ष बोल्‍दछु। 11हजूरले पत्ता लाउन सक्‍नुहुन्‍छ कि म यरूशलेममा आराधना गर्न गएको बाह्र दिनभन्‍दा बढ़ी भएको छैन। 12यिनीहरूले न त मलाई कुनै मानिससँग बहस गरिरहेको भेट्टाए, न मन्‍दिरमा वा सभाघरमा अथवा सहरमा जनतालाई उत्तेजित पारेको भेट्टाए, 13न त मलाई अहिले दोष लाइरहेका कुराहरूको यिनीहरूले प्रमाण दिन सक्‍छन्‌। 14तर यो म हजूरकै सामने स्‍वीकार गर्दछु, कि जुन मार्गलाई तिनीहरू एउटा पन्‍थ भन्‍दछन्, त्‍यहीबमोजिम व्‍यवस्‍थामा भएका कुरा र अगमवक्ताका पुस्‍तकमा लेखिएका सबै कुरा विश्‍वास गरी मेरा पुर्खाहरूका परमेश्‍वरको आराधना म गर्दछु। 15धर्मी र अधर्मीहरू दुवैको मृतकबाट पुनरुत्‍थान हुन्‍छ भन्‍ने यिनीहरू आफैले स्‍वीकार गरेजस्‍तै म परमेश्‍वरमा आशा राख्‍दछु। 16यसैले परमेश्‍वरप्रति र मानिसहरूप्रति म सधैँ शुद्ध विवेक राख्‍ने प्रयत्‍न गर्दछु। 17“अब केही वर्षपछि आफ्‍नो जातिको निम्‍ति दान र भेटी दिन म आएको थिएँ।#प्रे २१:१७-२८ 18यिनीहरूले मलाई मन्‍दिरमा भेट्टाउँदा शुद्ध हुने विधि मैले पूरा गरिसकेको थिएँ। त्‍यहाँ कुनै भीड थिएन, होहल्‍ला पनि थिएन। तर त्‍यहाँ एशियाका कुनै यहूदीहरू थिए, 19तिनीहरू यहाँ हजूरको सामुन्‍ने हाजिर हुनुपर्नेथियो। मेरो विरुद्धमा यदि केही भन्‍ने कुरा भएदेखि तिनीहरूले अभियोग लाउन सक्‍थे। 20अथवा यी मानिसहरूले आफै यहाँ भनून्‌— म महासभाको सामुन्‍नेमा खड़ा हुँदा ममा के कसूर भेट्टाएका थिए? 21केवल यही एक कुरा मात्र हो, जो मैले तिनीहरूका बीचमा उभी कराएर भनेको थिएँ, ‘मरेकाहरूका पुनरुत्‍थानको विषयमा आज तपाईंहरूका सामुन्‍ने मेरो मुद्दा चलिरहेको छ’।”#प्रे २३:६
22यस मार्गको विषयमा फेलिक्‍सलाई यथार्थ ज्ञान भएको हुनाले उनले यी कुराहरू सुनेपछि तिनीहरूलाई यसो भनी टारेर पठाए, “सेनापति लुसियस यहाँ आएपछि म तिमीहरूको मुद्दा फैसला गरिदिनेछु।” 23तब उनले पावललाई पहरामा राख्‍नू र तिनलाई केही स्‍वतन्‍त्रता दिनू, अनि तिनका कुनै पनि मित्रलाई तिनका खाँचोका कुरा पूरा गर्न नरोक्‍नू भनी कप्‍तानलाई आज्ञा दिए।
24केही दिनपछि फेलिक्‍स उनकी यहूदी पत्‍नी द्रूसिल्‍लालाई साथमा लिएर आए, र उनले पावललाई बोलाएर ख्रीष्‍ट येशूमाथिको विश्‍वासबारे तिनीबाट सुने। 25पावलले धार्मिकता, संयम र भावी इन्‍साफको विषयमा बहस गर्दा फेलिक्‍स आत्तिए, र यसो भने, “अहिलेलाई जाऊ, मौका परेको बेलामा म तिमीलाई बोलाउँला।” 26पावलबाट कतै रुपियाँ मिलिहाल्‍ला कि भनी उनले आशा पनि गरेका थिए। यसकारणले पनि उनले तिनलाई घरीघरी डाकी कुराकानी गर्ने गर्थे।
27तर दुई वर्षपछि जब फेलिक्‍सको बदलीमा पर्किअस फेस्‍तस आए, तब फेलिक्‍सले यहूदीहरूलाई खुशी राख्‍नका निम्‍ति पावललाई झ्‍यालखानमै राखेर गए।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in