उत्पत्ति 7
7
1तब याहवेहले नोआलाई भन्नुभयो, “तँ र तेरा सम्पूर्ण परिवार जहाजभित्र जा; किनकि मैले तँलाई यस पुस्तामा धर्मी पाएको छु। 2तँसित हरेक प्रकारका शुद्ध पशुबाट भाले र पोथी गरेर सात जोडी, अशुद्ध पशुबाट#7:2 परमेश्वरले यी पशुहरू भेटीको रूपमा अर्पण गर्न र खान वर्जित गर्नुभएको छ। भाले र पोथी गरेर एक जोडी लिनू; 3अनि हरेक प्रकारका चराचुरुङ्गीबाट सात जोडी भाले र पोथी गरी लिनू, ताकि तिनीहरूका विभिन्न जातिहरू पृथ्वीभरि जीवित रहून्। 4अबको सात दिनमा म पृथ्वीमा चालीस दिन र चालीस रात पानी बर्साउनेछु; अनि म पृथ्वीबाट मैले बनाएको प्रत्येक जीवित प्राणीको नामनिशानै मेटिदिनेछु।”
5अनि नोआले याहवेहले तिनलाई आज्ञा गर्नुभएअनुसार सबै गरे।
6पृथ्वीमा जलप्रलय हुँदा नोआ छ सय वर्षका थिए। 7अनि जलप्रलयको पानीबाट बाँच्नका निम्ति नोआ अनि तिनका छोराहरू, तिनकी पत्नी र तिनका बुहारीहरू जहाजभित्र पसे। 8साथमा शुद्ध र अशुद्ध पशुहरू, चराचुरुङ्गी अनि जमिनमा चलहल गर्ने सबै प्राणीहरूका जोडीहरू, 9अर्थात् भाले र पोथी गरी परमेश्वरले आज्ञा गर्नुभएझैँ नोआसँगै जहाजभित्र पसे। 10अनि सात दिनपछि पृथ्वीमा जलप्रलय भयो।
11नोआको जीवनको छ सय वर्षको दोस्रो महिनाको सत्रौँ दिनमा पृथ्वीका सबै गहिरा मूलहरू फुटे, र आकाशका पानीका बाँधहरू खोलिए। 12अनि पृथ्वीमा चालीस दिन र चालीस रात पानी परिरह्यो।
13त्यसै दिन नोआ र तिनका छोराहरू शेम, हाम अनि येपेत, तिनकी पत्नी र तिनका तीन बुहारीहरू जहाजभित्र पसे। 14तिनीहरूसित आ-आफ्नै प्रकारका प्रत्येक जङ्गली जनावर, आ-आफ्नै प्रकारका सबै घरपालुवा पशु, आ-आफ्नै प्रकारका जमिनमा घस्रने प्राणी र पखेटा भएका आ-आफ्नै प्रकारका पक्षी थिए। 15जीवनको सास हुने सबै प्राणीहरूका जोडी-जोडी गरी नोआकहाँ जहाजमा आए। 16भित्र पसेका प्राणीहरूमध्ये परमेश्वरले नोआलाई आज्ञा गर्नुभएअनुसार प्रत्येक जीवित प्राणीका भाले र पोथी थिए। तिनीहरू भित्र पसेपछि याहवेहले ढोका थुनिदिनुभयो।
17चालीस दिनसम्म पृथ्वीमा जलप्रलय भइरह्यो; अनि जब पानी बढ्दैगयो, तब त्यसले जहाजलाई पृथ्वीमाथि उचाल्दै लग्यो। 18पानी बढ्दै गएर पृथ्वी भरिन थाल्यो, र जहाजचाहिँ पानीको सतहमाथि तैरिन थाल्यो। 19पृथ्वीमा पानी झन्-झन् बढ्दैगयो, र आकाशमुनि भएका सबै अग्ला-अग्ला पर्वतहरू डुबे। 20पानी बढेर पर्वतहरूभन्दा 15 क्यूबिट#7:20 लगभग 23 फिट माथिसम्म पुग्यो। 21पृथ्वीमा चलहल गर्ने प्रत्येक जीवित प्राणी—चराचुरुङ्गी, घरपालुवा पशु, जङ्गली जनावर, पृथ्वीमा हुल बाँधेर हिँड्ने हरेक प्रकारका जीवजन्तुहरू र सारा मानिस जातिहरू नष्ट भए। 22ओबानो भूमिमा भएका नाकमा जीवनको सास हुनेहरू सबै थोक नष्ट भए। 23पृथ्वीमा भएका प्रत्येक जीवित प्राणी; हरेक मानिस, पशु, जमिनमा चलहल गर्ने प्राणी र आकाशका चराहरू सबैको पृथ्वीबाट नामनिशानै मेटियो। नोआ र तिनीसित जहाजभित्र भएकाहरू मात्र जीवित रहे।
24पृथ्वीमाथि पानी एक सय पचास दिनसम्म जलमग्न भइरह्यो।
Okuqokiwe okwamanje:
उत्पत्ति 7: NCV
Qhakambisa
Dlulisela
Kopisha
Ufuna ukuthi okuvelele kwakho kugcinwe kuwo wonke amadivayisi akho? Bhalisa noma ngena ngemvume
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.