लूका 4

4
येशूको परीक्षा
1येशू पवित्र आत्माले भरपूर भएर यर्दनबाट फर्कनुभयो र आत्माद्वारा उहाँ उजाडस्थानमा लगिनुभयो, 2अनि उहाँ त्यस ठाउँमा चालीस दिनसम्म शैतानबाट परीक्षित हुनुभयो। ती दिनहरूमा उहाँले केही खानुभएन, र अन्त्यमा उहाँ भोकाउनुभयो।
3तब शैतानले उहाँलाई भन्यो, “यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने यस ढुङ्गालाई रोटी भइजा भनी आज्ञा दिनुहोस्।”
4येशूले जवाफ दिनुभयो, “धर्मशास्त्रमा यसो लेखिएको छ: ‘मानिस रोटीले मात्र बाँच्दैन।’#4:4 व्यव 8:3
5शैतानले उहाँलाई एउटा उच्‍च स्थानमा लग्यो र एकै क्षणमा संसारका सबै राज्यहरू देखायो। 6अनि त्यसले उहाँलाई भन्यो, “यी राज्यका सबै अधिकार र गौरव म तपाईंलाई दिनेछु; किनकि यी सबै थोक मलाई दिइएका छन्, र म जसलाई चाहन्छु, त्यसलाई यो दिन सक्छु। 7यदि तपाईंले मलाई दण्डवत् गर्नुभयो भने यी सबै तपाईंका हुनेछन्।”
8येशूले जवाफ दिनुभयो, “लेखिएको छ: ‘तैँले आफ्ना प्रभु परमेश्‍वरलाई दण्डवत् गर्नू र उहाँको मात्र सेवा गर्नू।’#4:8 व्यव 6:13
9तब शैतानले उहाँलाई यरूशलेममा लगेर मन्दिरको टुप्पामा राखेर भन्यो, “यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने यहाँबाट हाम फाल्नुहोस्। 10किनकि धर्मशास्त्रमा यसरी लेखिएको छ:
“ ‘उहाँले तिम्रो सम्बन्धमा होसियारीसाथ सुरक्षा गर्न
आफ्ना स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ,
11अनि तिनीहरूले तिमीलाई तिनीहरूका हातहरूमा उचाल्नेछन्,
ताकि तिम्रो खुट्टा ढुङ्गामाथि नबजारियोस्।’#4:11 भजन 91:11, 12
12येशूले जवाफ दिनुभयो, “यसो लेखिएको छ: ‘तैँले प्रभु आफ्ना परमेश्‍वरको परीक्षा नगर्नू।’#4:12 व्यव 6:16
13शैतानले उहाँको परीक्षा गर्न यी सबै काम सकेपछि अनुकूल समय नहोउन्जेलसम्म उहाँलाई छोडेर गयो।
नासरतमा येशूलाई इन्कार
14येशू पवित्र आत्माको शक्तिमा गालील प्रदेशमा फर्कनुभयो र उहाँको बारेमा सारा मुलुकभरि खबर फैलियो। 15उहाँले तिनीहरूका सभाघरहरूमा गएर शिक्षा दिनुभयो र सबैले उहाँको प्रशंसा गरे।
16उहाँ नासरतमा जानुभयो, जहाँ उहाँ हुर्कनुभएको थियो। अनि शब्बाथमा#4:16 यो हप्‍ताको सातौँ दिन यहूदीहरूले परमेश्‍वरको आराधना गर्न अलग गरिएको दिन थियो। यस दिन यहूदीहरू कुनै पनि शारीरिक काम गर्दैनन्। उहाँ आफ्नो रीतिअनुसार सभाघरमा जानुभयो, र पढ्नलाई उभिनुभयो। 17यशैया अगमवक्ताको पुस्तक उहाँलाई पढ्न दिइयो। त्यो पुस्तक खोलेर उहाँले यसो लेखिएको खण्ड निकाल्नुभयो:
18“प्रभुको आत्मा ममाथि छ,
किनकि गरिबहरूलाई सुसमाचार सुनाउनका निम्ति
उहाँले मलाई अभिषेक गर्नुभएको छ।
उहाँले मलाई कैदीहरूलाई छुटकाराको घोषणा गर्न,
र दृष्‍टिविहीनहरूलाई दृष्‍टि दिलाउन,
उत्पीडनमा परेकाहरूलाई स्वतन्त्र गराउन,
19र प्रभुको निगाहको वर्ष घोषणा गर्न पठाउनुभएको छ।”#4:19 यशै 58:6; 61:1, 2
20त्यसपछि त्यो पुस्तक बन्द गरेर उहाँले सेवकलाई दिनुभयो र बस्‍नुभयो। सभाघरमा भएका हरेकले उहाँलाई एक टक हेरिरहेका थिए। 21अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “आज तिमीहरूको सुनाइमा यो धर्मशास्त्र पूरा भएको छ।”
22सबैले उहाँको प्रशंसा गरे, र उहाँको मुखबाट आएका अनुग्रहपूर्ण वचनमा छक्‍क परे; अनि तिनीहरूले सोधे, “के यिनी योसेफका छोरा होइनन् र?”
23येशूले तिनीहरूलाई भन्‍नुभयो, “पक्‍कै तिमीहरूले मलाई यो दृष्‍टान्त भन्‍नेछौ: ‘ए वैद्य, आफैँलाई निको पार! कफर्नहुममा तिमीले जे जति गर्‍यौ भनी हामीले सुनेका थियौँ, ती सबै यहाँ आफ्नै सहरमा पनि गर।’ ”
24उहाँले भन्‍नुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, कुनै पनि अगमवक्तालाई उसको आफ्नै सहरमा स्वीकार गरिँदैन। 25म तिमीहरूलाई साँचो भन्दछु, एलियाको समयमा जब आकाश साँढे तीन वर्षसम्म थुनियो र सारा देशभरि भयङ्ककर अनिकाल पर्‍यो, त्यस बेला इस्राएलमा धेरै विधवाहरू थिए। 26तापनि एलिया अरू कसैकहाँ होइन, तर सीदोनको क्षेत्रमा पर्ने सारपतकी#4:26 1 राजा 17:8 एउटी विधवाकहाँ मात्र पठाइए। 27अनि एलीशा अगमवक्ताका समयमा पनि इस्राएलमा धेरै कुष्‍ठरोगीहरू थिए, तर तिनीहरू कोही पनि निको पारिएनन्, केवल सिरियाली नामान#4:27 2 राजा 5 मात्र निको पारिए।”
28यो सुनेपछि सभाघरमा भएका सबै मानिसहरू रिसले चुर भए। 29तिनीहरू खडा भए, र उहाँलाई सहरदेखि बाहिर, जुन पहाडमा तिनीहरूका सहर बनाइएको थियो, त्यसैको भिरबाट खसालिदिन टाकुरामा लगे। 30तर उहाँ भीडबाट नै छिरेर आफ्नै बाटो जानुभयो।
येशूले अशुद्ध आत्मा निकाल्नुभएको
31त्यसपछि येशू गालील प्रदेशको एउटा सहर कफर्नहुममा जानुभयो। अनि शब्बाथमा मानिसहरूलाई शिक्षा दिन थाल्नुभयो। 32उहाँका शिक्षामा तिनीहरू छक्‍क परे; किनकि उहाँको सन्देश अधिकारपूर्ण थियो।
33सभाघरमा भूतआत्मा लागेको एउटा मानिस थियो। त्यसले चिच्याएर भन्यो, 34“तपाईं गइहाल्नुहोस्! हे नासरतका येशू, तपाईं हामीसित के चाहनुहुन्छ? के तपाईं हामीलाई नष्‍ट गर्न आउनुभएको हो? तपाईं को हुनुहुन्छ भनी म जान्दछु। तपाईं परमेश्‍वरको पवित्र जन हुनुहुन्छ!”
35येशूले भूतआत्मालाई हकारेर भन्‍नुभयो, “चुप लाग्, र त्यसबाट निस्की जा!” त्यसपछि भूतआत्माले त्यस मानिसलाई तिनीहरूका बीचमा पछार्‍यो, र त्यसलाई केही पनि हानि नगरी निस्केर गयो।
36सबै मानिसहरू छक्‍क परे, र एक-अर्कालाई भने, “यी कस्ता वचन हुन्? यिनले अधिकार र शक्तिसित अशुद्ध आत्माहरूलाई आज्ञा गर्छन्, र तिनीहरू निस्केर जान्छन्!” 37उहाँको विषयमा यो खबर वरिपरिका इलाकाभरि फैलियो।
येशूले धेरैलाई निको पार्नुभएको
38त्यस दिन येशू सभाघरबाट निस्केर सिमोनको घरमा जानुभयो। सिमोनकी सासू उच्‍च ज्वरोले थलिएकी थिइन्। तिनीहरूले तिनलाई सहायता गर्न भनी येशूलाई बिन्ती गरे। 39उहाँ तिनको नजिकै उभिएर ज्वरोलाई हप्काउनुभयो; र ज्वरोले तिनलाई छोड्यो। तिनी तुरुन्तै उठिन्, र उहाँहरूको सेवा गरिन्।
40घाम अस्ताउनै लाग्दा, मानिसहरूले विभिन्‍न किसिमका रोग लागेका मानिसहरूलाई येशूकहाँ ल्याए। उहाँले तिनीहरू हरेकमाथि हात राख्नुभयो र सबैलाई निको पार्नुभयो। 41अझ धेरै मानिसहरूबाट भूतहरू पनि यसो भनी चिच्याउँदै निस्के, “तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ!” तर उहाँले तिनीहरूलाई हप्काउनुभयो र बोल्न दिनुभएन; किनकि उहाँ ख्रीष्‍ट हुनुहुन्छ भनी तिनीहरूले जान्दथे।
42बिहान उज्यालो हुँदा येशू निस्केर एउटा एकान्त ठाउँमा जानुभयो। मानिसहरूले उहाँलाई खोजिरहेका थिए। तिनीहरू उहाँ हुनुभएको ठाउँमा आए, र उहाँलाई तिनीहरूलाई छोडेर जान नदिन प्रयास गरे। 43तर उहाँले भन्‍नुभयो, “मैले परमेश्‍वरको राज्यको सुसमाचार अरू सहरहरूमा पनि सुनाउनुपर्छ; किनकि म यसैका निम्ति पठाइएको हुँ।” 44अनि उहाँले यहूदिया प्रदेशका सभाघरहरूमा प्रचार गरिरहनुभयो।

موجودہ انتخاب:

लूका 4: NCV

سرخی

شئیر

کاپی

None

کیا آپ جاہتے ہیں کہ آپ کی سرکیاں آپ کی devices پر محفوظ ہوں؟ Sign up or sign in