उत्‍पत्ति 7

7
जलप्रलय
1परमप्रभुले नोआलाई भन्‍नुभयो, “आफ्‍ना जहान सबै सँगै लिएर भित्र जा। संसारभरिमा ठीक काम गर्ने तँलाई मात्र मैले पाएँ। 2विधिअनुसार जुन पशुहरू शुद्ध छन्, तिनका सात-सात जोडी तर अशुद्ध पशुहरूका चाहिँ एक-एक जोडी मात्र आफूसँग लिनू। 3पंक्षीहरू पनि हरथरी सात-सात जोडी लिनू। त्‍यसो गर्नुपर्छ किनभने हरथरीका पशु-पंक्षी बचाएर राख्‍नुपर्छ र तिनीहरू फेरि पृथ्‍वीमा बढ्दै जानेछन्। 4अबको सात दिनपछि म वर्षा ल्‍याउनेछु, पानी चालीस दिन र चालीस रातसम्‍म पर्नेछ र मैले बनाएका सबै जिउँदा प्राणीहरू नाश हुनेछन्।” 5परमेश्‍वरले आज्ञा गर्नुभएअनुसार सबै कुरा नोआले गरे।
6नोआको उमेर ६०० वर्षको हुँदा पृथ्‍वीमा जलप्रलय भएको थियो। 7#मत्ती 24:38,39; लूका 17:27नोआ, उनकी स्‍वास्‍नी, उनका छोराहरू र बुहारी, जलप्रलयको भलदेखि बाँच्‍न नाउभित्रै गए। 8परमेश्‍वरले आज्ञा गर्नुभएझैँ शुद्ध वा अशुद्ध हरथरीका पशु-पंक्षी, जोडी-जोडी, भाले-पोथी गरी 9नोआसित नाउमा पसे। 10सात दिनपछि पानीको भल आयो।
11 # २ पत्रुस 3:6 नोआ ६०० वर्षको हुँदा दोस्रो महिनाको सत्रौँ दिनमा पृथ्‍वीमुनिका अगाध पानीका मूलहरू फुटे, आकाशका पानीका ढोकाहरू सबै खुले र दिनरात 12चालीस दिनसम्‍म पानी परिरह्यो। 13त्‍यही दिन नोआ र उनकी स्‍वास्‍नी आफ्‍ना तीन जना छोराहरू शेम, हाम र येपेत र तिनका स्‍वास्‍नीहरूसँगै लिएर नाउमा पसे। 14तिनीहरूसँग हरथरीका ठूला-साना घरेलु र बन-पशुहरू र हरथरीका पंक्षीहरू पनि नाउमा गए। 15परमेश्‍वरले आज्ञा गर्नुभएअनुसार हरप्रकारका जिउँदा प्राणीहरू जोडी-जोडी, भाले-पोथी गरी, नोआसित नाउमा गए। 16त्‍यसपछि परमप्रभुले ढोका बन्‍द गरिदिनुभयो।
17जलप्रलय ४० दिनसम्‍म भइरह्यो। पानी बढेर यति गहिरो भयो कि नाउ उचालिएर तैरन लाग्‍यो। 18पानी अझै गहिरो भयो र नाउ माथि-माथि बग्‍न थाल्‍यो। 19पानी यति गहिरो भयो कि अग्‍लाभन्दा अग्‍ला पहाडहरू पानीमा डुबे। 20पानी अझै बढ्दै गयो र पर्वतहरूमाथि सात मिटर अग्‍लोसम्‍म पुग्‍यो। 21पृथ्‍वीमा भएका जम्‍मै जिउँदा प्राणीहरू सबै चरा-चुरुङ्गी, पशु र नर-नारीहरू मरे। 22पृथ्‍वीमा भएका सास फेर्ने प्राणीहरू सबै मरे। 23पृथ्‍वीमा भएका सबै जिउँदा प्राणीहरू मानिस, पशु र पंक्षीहरूलाई परमप्रभुले नाश पार्नुभयो। नोआ र उनीसित नाउमा हुनेहरू मात्र जिउँदा छोडिए। 24पानी १५० दिनसम्‍म घटेन।

سرخی

شئیر

کاپی

None

کیا آپ جاہتے ہیں کہ آپ کی سرکیاں آپ کی devices پر محفوظ ہوں؟ Sign up or sign in