मत्ती 4

4
येशूको परीक्षा
1तब येशू शैतानद्वारा परीक्षित हुनालाई पवित्र आत्माद्वारा उजाडस्थानमा लगिनुभयो। 2अनि चालीस दिन र चालीस रात उपवास बसेपछि उहाँ भोकाउनुभयो। 3परीक्षा गर्नेले उहाँकहाँ आएर भन्यो, “यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने, यी ढुङ्गाहरूलाई रोटी भइजाऊन् भनी भन्‍नुहोस्।”
4येशूले जवाफ दिनुभयो, “धर्मशास्त्रमा यसो लेखिएको छ: ‘मानिस रोटीले मात्र बाँच्दैन तर परमेश्‍वरको मुखबाट निस्केको हरेक वचनले मात्र बाँच्दछ।’ ”#4:4 व्यव 8:3
5तब शैतानले उहाँलाई पवित्र शहरमा लग्यो अनि उहाँलाई मन्दिरको सबैभन्दा अग्लो ठाउँमा उभ्यायो। 6अनि भन्यो, “यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने, यहाँबाट हाम फाल्नुहोस्। किनकि धर्मशास्त्रमा यसरी लेखिएको छ:
“ ‘उहाँले तपाईंको सम्बन्धमा आफ्ना स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ,
अनि तिनीहरूले तपाईंलाई तिनीहरूका हातमा उचाल्नेछन्,
ताकि तपाईंको खुट्टा कुनै ढुङ्गामाथि नबजारियोस्।’ ”#4:6 भजन 91:11, 12
7येशूले त्यसलाई जवाफ दिनुभयो, “धर्मशास्त्रमा यसो पनि लेखिएको छ: ‘तैंले प्रभु आफ्ना परमेश्‍वरको परीक्षा नगर्नू।’ ”#4:7 व्यव 6:16
8फेरि शैतानले उहाँलाई एउटा अति अग्लो पर्वतमा लगेर संसारका सबै राज्यहरू अनि तिनीहरूका वैभव देखायो, 9अनि भन्यो, “यदि तपाईंले घोप्टेर मलाई दण्डवत् गर्नुभयो भने, म यी सबै तपाईंलाई दिनेछु।”
10त्यसपछि येशूले त्यसलाई भन्‍नुभयो, “हे शैतान, तँ मबाट टाढा भइजा! किनकि यसरी लेखिएको छ: ‘तैंले आफ्ना प्रभु परमेश्‍वरलाई दण्डवत् गर्नू र उहाँको मात्र सेवा गर्नू।’ ”#4:10 व्यव 6:13
11तब शैतान उहाँलाई छोडेर गइहाल्यो अनि स्वर्गदूतहरू आएर उहाँको सेवाटहल गरे।
येशूले प्रचार गर्न थाल्नुभएको
12जब येशूले यूहन्‍ना झ्यालखानामा परेका छन् भनी सुन्‍नुभयो, तब उहाँ गालील प्रदेशमा फर्कनुभयो। 13नासरत शहरलाई छोडेर उहाँ कफर्नहुममा जानुभयो, जुन जबूलून र नप्‍तालीको इलाकामा समुद्रको किनारमा थियो। 14यशैया अगमवक्‍ताले भनेका कुरा पूरा हुनालाई यसो भएको थियो:
15“यर्दन नदीपारि समुद्रको छेउतिर रहेको
जबूलून र नप्‍तालीको मुलुक,
गैरयहूदीहरूको गालील,
16अन्धकारमा बस्‍ने मानिसहरूले
एउटा ठूलो ज्योति देखेका छन्।
मृत्युको छायामा बस्‍नेहरूमाथि
एउटा ज्योति उदाएको छ।”#4:16 यशै 9:1, 2
17त्यस बेलादेखि येशूले यसो भन्दै प्रचार गर्न लाग्नुभयो, “पश्‍चात्ताप गर, किनकि स्वर्गको राज्य नजिकै आइपुगेको छ।”
येशूले प्रथम् चेलाहरूलाई बोलाउनुभएको
18येशू गालील समुद्रको किनारमा हिँडिरहनुभएको समयमा उहाँले दुई भाइहरू, पत्रुस भनिने सिमोन अनि तिनका भाइ अन्द्रियासलाई देख्नुभयो। तिनीहरू तालमा जाल हान्दै थिए, किनकि तिनीहरू मछुवा थिए। 19उहाँले तिनीहरूलाई भन्‍नुभयो, “आओ, मलाई पछ्याओ, अनि म तिमीहरूलाई मानिसहरूका जालहारी बनाउनेछु।” 20त्यसपछि तुरुन्तै तिनीहरूले आफ्ना जालहरू छोडेर उहाँको पछि लागे।
21अनि त्यहाँबाट अघि बढ्दैगर्दा, उहाँले अरू दुई भाइहरू, जब्दीको छोरो याकोब र तिनको भाइ यूहन्‍नालाई देख्नुभयो। तिनीहरू आफ्ना पिता जब्दीसित डुङ्गामा आफ्नो जाल तयार पार्दैथिए। येशूले तिनीहरूलाई बोलाउनुभयो, 22अनि तुरुन्तै तिनीहरू डुङ्गा र आफ्ना बुबालाई छोडेर उहाँलाई पछ्याए।
येशूले बिरामीलाई निको पार्नुभएको
23येशूले गालील प्रदेशभरि तिनीहरूका सभाघरहरूमा सिकाउँदै, राज्यको सुसमाचार प्रचार गर्दै अनि मानिसहरूका रोग र बिरामीहरू निको पार्दै जानुभयो। 24उहाँको बारेमा कुरा सारा सिरियाभरि फिँजियो, अनि मानिसहरूले विभिन्‍न किसिमका रोग लागेकाहरू, धेरै कष्‍ट भोगेकाहरू, भूत लागेकाहरू, छारेरोग लागेकाहरू अनि पक्षघात भएकाहरूलाई उहाँकहाँ ल्याए, अनि उहाँले तिनीहरूलाई निको पार्नुभयो। 25गालील प्रदेश, डेकापोलिस#4:25 भन्‍नाले दश शहरहरू जनाउँदछ, यरूशलेम, यहूदिया प्रदेश अनि यर्दन पारिका मानिसहरूको ठूलो भीड उहाँको पछि लाग्यो।

Seçili Olanlar:

मत्ती 4: NCV

Vurgu

Paylaş

Kopyala

None

Önemli anlarınızın tüm cihazlarınıza kaydedilmesini mi istiyorsunuz? Kayıt olun ya da giriş yapın

मत्ती 4 için video