यूहन्‍ना पुस्‍तक परिचय

पुस्‍तक परिचय
यो सुसमाचार येशूका चेला यूहन्‍ना, जब्‍दियाका छोराबाट लेखिएको हो (मर्कूस १:१९)। धेरैजसो बाइबलका विद्वानहरूको विचार अनुसार यूहन्‍नाले यो सुसमाचार ईस्वी सम्बत्‌ ७०-९० मा लेखिएका थिए, तर ठीक कुन साल हो भन्‍ने निश्‍चय छैन। यूहन्‍ना “येशूले प्रेम गर्नुहुने” चेला थिए (यूहन्‍ना १३:२३; २१:२०)। येशूका बाह्र जना चेलाहरूमध्ये यूहन्‍ना येशूसँग सबभन्दा घनिष्‍ठ थिए। त्‍यसै कारण येशूको मन राम्ररी बुझेर यस सुसमाचारमा यूहन्‍नाले उहाँको सबभन्‍दा गहिरा विचार र भनाइहरू लेखेका छन्‌।
यूहन्‍ना बुढेसकालसम्‍म बाँचे। तिनी धेरै सालसम्‍म एफिससमा बसे: कसै-कसैको विचार अनुसार यो सुसमाचार त्यहीँ लेखिएको थियो। यी नै यूहन्‍नाले नयाँ करारका “यूहन्‍नाका” तीन वटा पत्रहरू पनि लेखे। तिनको जीवनको अन्ततिर यूहन्‍ना देश निकाला भएर भूमध्यसागरमा भएको पत्मोस भन्‍ने टापूमा पठाइए (प्रकाश १:९), जहाँ तिनले ख्रीष्टको एउटा प्रकाश पाए, जसको पूरा बयानचाहिँ नयाँ करारको “प्रकाश” भन्‍ने अन्तिम पुस्तकमा लेखिएको छ।
यूहन्‍नाको सुसमाचारचाहिँ मत्ती, मर्कूस र लूकाका सुसमाचारहरूभन्दा फरक छ। यूहन्‍नाको सुसमाचारमा हामी ख्रीष्‍टको मन र आत्मा सबभन्दा स्‍पष्‍ट गरी देख्‍न र बुझ्‍न सक्छौं। ख्रीष्‍टको स्‍वभाव कस्तो छ भनेर यूहन्‍नाले विस्तारमा बताएका छन्‌। तिनले येशूले आफ्‍नो विषयमा भन्‍नुभएका कुरा लेखिएका छन्‌। “जीवनको रोटी म हुँ” (यूहन्‍ना ६:३५)। “म संसारको ज्‍योति हुँ” (यूहन्‍ना ८:१२)। “म असल गोठालो हुँ” (यूहन्‍ना १०:११)। “ढोका म नै हुँ” (यूहन्‍ना १०:९), “साँचो दाखको बोट म हुँ” (यूहन्‍ना १५:१), “बाटो, सत्य र जीवन म नै हुँ” (यूहन्‍ना १४:६)। यूहन्‍नाले येशू र आफ्‍ना चेलाहरूका बीचमा भएका सबभन्दा गहिरा छलफलहरू बयान गरेका छन्‌। विशेष गरी यूहन्‍नाले येशूको आफ्‍नो जीवनको अन्तिम रातमा भएको आफ्‍नो प्रेम-भोजमा बोल्नुभएका कुराहरू पूरै बयान गरेका छन्, जुन कुरा अध्याय चौधदेखि सत्रसम्‍ममा लेखिएका छन्‌।
यूहन्‍नाको सुसमाचारबाट हामी पवित्र आत्माको विषयमा धेरै कुरा सिक्छौं। हामी यही सिक्छौं कि ख्रीष्‍टका पवित्र आत्मा हामीमा बस्‍नुभएन भने, हामी ख्रीष्‍टको लागि केही गर्न सक्दैनौं (यूहन्‍ना १५:५)। यूहन्‍नाले प्रष्‍टसँग हामीलाई देखाएका छन्‌ कि विश्‍वास गर्नेहरूको जीवनमा भएका पवित्र आत्माको कार्य गर्ने शक्तिद्वारा मात्र ख्रीष्‍टको काम यस संसारमा सफलसित हुँदै जान सक्छ र उहाँको मण्‍डली अगि बढ्‍न सक्छ।
जब हामी पहिला तीन वटा सुसमाचारहरू र यूहन्‍नाको सुसमाचार सँगसँगै अध्‍ययन गर्छौं, तब हामी येशूको पूरा काम र जीवनको बयान पाउन सक्छौं। तर येशूको बारेमा ज्ञान प्राप्‍त गरेर मात्र हामीलाई पुग्‍दैन। यो सुसमाचार पढ्‍दा पढ्‍दै यी कुरा लेखेर यूहन्‍नाको उद्देश्‍य सम्झनुहोस्‌। तिनले यी कुरा लेखेका छन्, ताकि “तिमीहरूले येशू परमेश्‍वरका पुत्र, ख्रीष्‍ट हुनुहुन्‍छ भनी विश्‍वास गर र विश्‍वासद्वारा उहाँको नाउँमा तिमीहरूलाई जीवन प्राप्‍त होस्‌” (यूहन्‍ना २०:३१)।

Лаҳзаҳои махсус

Паҳн кунед

Нусха

None

Want to have your highlights saved across all your devices? Sign up or sign in