YouVersion logo
Dugme za pretraživanje

प्रेरित 1

1
येशू स्वर्गमा उठाइ लगिनुभएको
1प्रिय थियोफिलस, मैले मेरो पहिलो पुस्तकमा येशूले गर्न र सिकाउन थाल्नुभएका सबै कुराका बारेमा लेखेको छु। 2उहाँले चुन्‍नुभएका प्रेरितहरूलाई पवित्र आत्माद्वारा आज्ञा दिनुभएको दिनदेखि उहाँ स्वर्गमा उठाएर लगिनुभएको दिनसम्मको वृत्तान्त मैले मेरो त्यसै पुस्तकमा वर्णन गरिसकेको छु। 3आफूले दुःख सहनुभएपछि, उहाँ ती मानिसहरूका सामु प्रकट हुनुभयो र आफू जीवित हुनुभएको विश्‍वास लाग्दा धेरै प्रमाणहरू तिनीहरूलाई दिनुभयो। तिनीहरूका सामु उहाँ चालीस दिनसम्म देखा परिरहनुभयो र परमेश्‍वरको राज्यको बारेमा तिनीहरूलाई बताउनुभयो। 4तिनीहरूसँगै भोजन गरिरहेको बेला एकपल्ट तिनीहरूलाई उहाँले यस्तो आज्ञा दिनुभयो: “मैले तिमीहरूलाई भनेका मेरा पिताको प्रतिज्ञाको वरदानलाई पर्खेर बस्‍नू, त्यो प्राप्‍त नहोउन्जेल यरूशलेमलाई नछोड्नू। 5किनकि यूहन्‍नाले पानीले बप्‍तिस्मा दिए, तर केही दिनमा तिमीहरूले पवित्र आत्मामा बप्‍तिस्मा पाउनेछौ।”
6त्यसैकारण जब तिनीहरू भेला भएका थिए, तिनीहरूले उहाँलाई सोधे, “हे प्रभु, के तपाईंले यसै समयमा इस्राएलको राज्य पुनर्स्थापना गरिदिनुहुनेछ?”
7उहाँले तिनीहरूलाई भन्‍नुभयो: “आफ्नो अधिकारद्वारा पिताले तोक्नुभएको समय वा मिति जान्‍ने काम तिमीहरूको होइन। 8तर पवित्र आत्मा तिमीहरूमाथि आउनुभएपछि तिमीहरूले शक्‍ति पाउनेछौ; र तिमीहरू यरूशलेममा, सम्पूर्ण यहूदियामा, सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म नै मेरा साक्षी हुनेछौ।”
9उहाँले यति भनिसक्नुभएपछि तिनीहरूका आँखाकै सामुन्‍ने उहाँ माथि स्वर्गमा लगिनुभयो र उनीहरूको दृष्‍टिबाट उहाँ बादलभित्र लोप हुनुभयो।
10उहाँ आकाशतिर माथि जाँदै गर्नुहुँदा तिनीहरू एक टकले हेरिरहेका थिए, त्यसै बेला अकस्मात् सेता पोशाकमा दुईजना मानिस तिनीहरूका नजिक प्रकट भए। 11तिनीहरूले भने, “हे गालीलका मानिसहरूहो, आकाशतिर हेर्दै तिमीहरू यहाँ किन उभिरहेका छौ? तिमीहरूका बीचबाट स्वर्ग लगिइनुभएका यही येशू, जसरी अहिले स्वर्ग जानुभएको तिमीहरूले देख्यौ, त्यसै गरी उहाँ फेरि आउनुहुनेछ।”
यहूदाको साटो मतियासको छनौट
12त्यसपछि प्रेरितहरू जैतुनको पहाड भनिने डाँडाबाट यरूशलेम फर्के। यो ठाउँ यरूशलेम शहरदेखि झण्डै एक विश्रामदिनको#1:12 करीब एक किलोमिटर बाटो टाढा पर्दछ। 13तिनीहरू त्यहाँ आइपुगेपछि, आफू बसेको माथिल्‍लो तलाको कोठामा गए।
पत्रुस, यूहन्‍ना, याकोब र अन्द्रियास,
फिलिप र थोमा,
बारथोलोमाइ र मत्ती,
अल्फयसको छोरो याकोब र सिमोन कनानी र याकोबको छोरो यहूदा उपस्थित थिए।
14येशूकी आमा मरियम, उहाँका भाइहरू र अन्य महिलाहरूसँग मिलेर तिनीहरू निरन्तर प्रार्थनामा लागिरहन्थे।
15ती दिनमा पत्रुस, दाजुभाइ-दिदीबहिनीहरू (तिनीहरूका संख्या करीब एक सय बीस थियो) का बीचमा उभिए 16र भने, “दाजुभाइ-दिदीबहिनीहरूहो, येशूलाई पक्राउनेहरूको अगुवा यहूदाको बारेमा पवित्र आत्माले दाविदको मुखद्वारा जे वचन धेरै पहिल्यै बोल्नुभएको थियो, पवित्रशास्‍त्रको त्यो वचन पूरा हुनैपर्थ्यो। 17किनकि त्यो पनि हामीहरूमध्येकै एक थियो र त्यो हाम्रै सेवाको एउटा साझेदार पनि थियो।”
18(आफ्नो दुष्‍टतापूर्ण कामको इनामबाट यहूदाले एउटा खेत किन्यो; त्यहाँ त्यो उँधोमुन्टो भई खस्यो र त्यसको भुँडी फुट्यो, अनि त्यसका सबै आन्द्राभुँडी बाहिर छरपस्‍ट भए। 19यरूशलेमका हरेक मानिसले यो कुरा थाहा पाए, यसैकारण तिनीहरूले आफ्नो भाषामा त्यस खेतलाई आखेल्दामा अर्थात् रगतको खेत भनी नाम राखे।)
20पत्रुसले भने, “किनकि भजनहरूको पुस्तकमा लेखिएको छ,
“ ‘त्यसको ठाउँ उजाड होस्;
त्यहाँ वास गर्ने कोही नहोस्,’#1:20 भजन 69:25
र,
“ ‘त्यसको नेतृत्वको ठाउँ अरूले लेओस्।’#1:20 भजन 109:8
21यसैकारण एकजना यस्तो व्यक्‍ति छान्‍नु आवश्यक छ, जो प्रभु येशू हाम्रा साथमा हुनुहुँदा सबै कुराको साक्षी थियो। 22त्यो मानिस यूहन्‍नाको बप्‍तिस्माको समयदेखि येशू हामीबाट माथि उठाइ लगिइनुभएको बेलासम्म हामीसँगै रहेको हुनुपर्दछ; किनकि तीमध्ये एकजना हामीसँगै उहाँ पुनर्जीवित#1:22 अन्य नेपाली अनुवादहरूमा पुनरुत्थान हुनुभएको साक्षी हुनैपर्दछ।”
23त्यसैले तिनीहरूले बर्साबास भन्‍ने योसेफ (जसलाई युस्तस पनि भनिन्थ्यो) र मतियास गरी दुईजनालाई प्रस्ताव गरे। 24अनि तिनीहरूले प्रार्थना गरे, “प्रभु, तपाईं सबैका हृदयका कुरा जान्‍नुहुन्छ। यी दुईमध्ये कसको छनौट तपाईंले गर्नुभएको छ, हामीलाई देखाइदिनुहोस्। 25अनि त्यसले यो प्रेरितको सेवाको काम गर्न सकोस्, जुन सेवाका निम्ति छानिएको ठाउँ छोडेर यहूदा आफ्नो निज ठाउँमा गयो।” 26त्यसपछि तिनीहरूले गोला हाले, र गोला मतियासको नाउँमा पर्‍यो। त्यसैले तिनी एघार प्रेरितहरूमा थपिए।

Istaknuto

Podijeli

Kopiraj

None

Želiš li da tvoje istaknuto bude sačuvano na svim tvojim uređajima? Kreiraj nalog ili se prijavi