मत्ती 13
13
बीउ छर्नेको दृष्टान्त
1येशू त्यही दिन त्यस घरबाट निस्केर तालको छेउमा बस्नुभयो। 2उहाँको चारैतिर यति ठूला भीडहरू जम्मा भए कि उहाँ एउटा डुङ्गामा चढेर बस्नुभयो, अरू सबै मानिसहरूचाहिँ किनारमा उभिए। 3तब उहाँले यसो भन्दै तिनीहरूलाई दृष्टान्तबाट धेरै कुराहरू भन्नुभयो: “एकजना किसान बीउ छर्नलाई निस्क्यो। 4उसले जब बीउ छर्दैथियो, केही बीउ बाटोमा परे, अनि चराहरूले आएर ती खाइहाले। 5केही ढुङ्गेनी जमिनहरूमा परे, जहाँ धेरै माटो थिएन। ती चाँडै उम्रे, किनकि माटो पातलो भएकोले 6जब घाम लाग्यो, ती बिरुवाहरू ओइलाए, अनि तिनीहरूमा जरा नभएकाले ती सुकिहाले। 7अरू काँडाका झाडीमा परे, अनि काँडाहरू बढेर आए र ती बिरूवाहरूलाई निसासिदिए। 8अरू बीउहरूचाहिँ असल जमिनमा परे, जसबाट त्यसले छरेको भन्दा सय गुणा, साठी गुणा र तीस गुणा अन्न फलाए। 9जसको कान छ, त्यसले सुनोस् र बुझोस्।”
10अनि चेलाहरूले उहाँकहाँ आएर सोधे, “तपाईं मानिसहरूसित किन दृष्टान्तहरूमा बोल्नुहुन्छ?”
11उहाँले जवाफ दिनुभयो, “स्वर्गको राज्यको रहस्यको ज्ञान तिमीहरूलाई प्रकट गरिएको छ, तर तिनीहरूलाई गरिएको छैन। 12जससित छ, त्यसलाई अरू दिइनेछ, अनि त्यससित प्रशस्त हुनेछ; तर जससित छैन, त्यससित भएको पनि खोसिनेछ।#13:12 यो ज्ञान र समझको बारेमा भनिएको हो 13यसैकारण म तिनीहरूसित दृष्टान्तद्वारा बोल्छु:
“हेरे तापनि तिनीहरूले देख्नेछैनन्:
सुने तापनि तिनीहरूले सुन्ने वा बुझ्नेछैनन्।
14तिनीहरूमा यशैयाको अगमवाणी पूरा भयो:
“ ‘तिमीहरू सुनिरहनेछौ, तर कहिल्यै बुझ्नेछैनौ;
तिमीहरू देख्न ता देख्छौ, तर कहिल्यै चिन्नेछैनौ।
15किनकि यी मानिसहरूका हृदय कठोर भएका छन्।
तिनीहरूका कानले प्रायः सुन्दैनन्,
अनि तिनीहरूले आफ्ना आँखा बन्द गरेका छन्।
नत्र ता तिनीहरूले आफ्ना आँखाले देख्नेथिए,
आफ्ना कानले सुन्नेथिए,
आफ्ना हृदयले बुझ्नेथिए र मतिर फर्कनेथिए,
अनि म तिनीहरूलाई निको पार्नेथिएँ।’#13:15 यशै 6:9, 10
16तर तिमीहरूका आँखा धन्यका हुन्, किनकि तिनले देख्छन्, अनि तिमीहरूका कानहरू धन्य हुन् किनकि तिनले सुन्छन्। 17किनकि म तिमीहरूलाई साँच्चै भन्दछु, धेरै अगमवक्ताहरू र धार्मिक मानिसहरूले तिमीहरूले देखेका कुराहरू हेर्ने उत्कट इच्छा गरेका थिए, तर देखेनन्; अनि तिमीहरूले सुनेका कुराहरू सुन्ने उत्कट इच्छा गरेका थिए, तर सुनेनन्।
18“त्यसैले बीउ छर्नेको दृष्टान्तको अर्थ के हो ध्यानसित सुन: 19कसैले राज्यको वचन सुनेर बुझेन भने दुष्ट आएर उसको हृदयमा जे छरिएको थियो त्यो खोसेर लैजान्छ। बाटोतिर परेको बीउ यही हो। 20ढुङ्गेनी जमिनमा खसेको बीउले त्यो मानिसलाई जनाउँछ, जसले वचन सुन्ने बित्तिकै आनन्दसाथ त्यसलाई ग्रहण गर्छ। 21तर तिनीहरूका जरा नभएकाले ती थोरै समयको लागि मात्र रहन्छन्। जब वचनको कारण दुःख र सतावट आइपर्छ, तिनीहरू झट्टै पछि हट्छन्। 22काँडाहरूमा परेको बीउले त्यस्तो मानिसलाई जनाउँछ, जसले वचन त सुन्छ, तर यस जीवनको फिक्री र धनसम्पत्तिको छलले वचनलाई निसासिदिन्छन् र त्यो फलहीन हुन्छ। 23तर असल जमिनमा परेको बीउले त्यो मानिसलाई जनाउँछ, जसले वचन सुन्छ अनि बुझ्छ। उसले छरेको भन्दा सय गुणा, साठी गुणा र तीस गुणा फल फलाउँछन्।”
सामाको दृष्टान्त
24येशूले तिनीहरूलाई अर्को दृष्टान्त भन्नुभयो: “स्वर्गको राज्य त्यो मानिसजस्तो हो, जसले आफ्नो खेतबारीमा असल बीउ छर्यो। 25तर जब सबै सुतिरहेका थिए, उसको शत्रु आयो र गहुँको बीचमा सामा छरेर गयो। 26जब गहुँ उम्रियो अनि बाला लाग्यो, त्यहाँ सामा पनि देखा पर्यो।
27“मालिकका सेवकहरू आएर उसलाई भने, ‘मालिक, के तपाईंले आफ्नो खेतबारीमा असल बीउ छर्नुभएको होइन, अनि यी सामाहरू कताबाट आए त?’
28“ ‘कुनै शत्रुले यो गर्यो,’ उसले जवाफ दियो।
“ती सेवकहरूले उसलाई सोधे, ‘के हामी गएर ती उखेलिदिऔं भन्ने तपाईं चाहनुहुन्छ?’
29“उसले जवाफ दियो, ‘होइन, किनकि जब तिमीहरूले सामा उखेलिरहेका हुन्छौ, तिमीहरूले सामासित गहुँ पनि उखेल्न सक्छौ। 30कटनीको समयसम्म दुवैलाई सँगसँगै बढ्नदेओ। त्यस बेला म कटनी गर्नेहरूलाई भन्नेछु: पहिले सामा बटुलेर जलाइनको लागि बिटा बाँध: त्यसपछि गहुँ बटुलेर मेरो धनसारमा ल्याओ।’ ”
रायोको बीउ र खमीरका दृष्टान्तहरू
31उहाँले तिनीहरूलाई अर्को दृष्टान्त भन्नुभयो: “स्वर्गको राज्य एउटा रायोको बीउजस्तो हो, जसलाई कुनै मानिसले लिएर बारीमा रोप्यो। 32यो तिम्रा अरू बीउहरूभन्दा सानो भए तापनि, जब यो बढ्छ, यो बारीमा भएका अरू बोटबिरुवाहरू भन्दा ठूलो भएर झाँगिन्छ, अनि चराचुरुङ्गीहरू यसका हाँगाहरूमा बास बस्छन्।”
33उहाँले तिनीहरूलाई अझ अर्को दृष्टान्त भन्नुभयो: “स्वर्गको राज्य खमीरजस्तै हो, जसलाई एउटी स्त्रीले लिएर करीब सत्ताईस किलो जति पीठोमा मिसाई, अनि सम्पूर्ण पीठो खमीरी नहुन्जेल राखी।”
34येशूले भीडलाई यी सबै कुराहरू दृष्टान्तहरूमा भन्नुभयो: उहाँले तिनीहरूलाई दृष्टान्तहरू प्रयोग नगरी केही भन्नुभएन। 35यसरी अगमवक्ताद्वारा भनिएको यो कुरा पूरा भयो:
“म दृष्टान्तहरूमा आफ्नो मुख खोल्नेछु,
म संसारको उत्पत्तिदेखि गुप्त रहेका कुराहरू प्रकाश गर्नेछु।”#13:35 भजन 78:2
सामाको दृष्टान्तको अर्थ
36तब येशू भीडलाई छोडेर घरमा आउनुभयो। उहाँका चेलाहरूले उहाँकहाँ आएर भने, “हामीलाई खेतबारीमा भएको सामाको दृष्टान्तको अर्थ बुझाइदिनुहोस्।”
37उहाँले जवाफ दिनुभयो, “जसले असल बीउ छरे, त्योचाहिँ मानिसका पुत्र हुन्। 38खेत संसार हो, अनि असल बीउहरू राज्यका सन्तान हुन्। सामाचाहिँ त्यस दुष्टका सन्तान हुन्, 39अनि त्यसलाई छर्ने शत्रु शैतान हो। कटनी युगको अन्त्य हो, अनि खेतालाहरू स्वर्गदूतहरू हुन्।
40“सामा उखेलिएर आगोमा हालिएझैं यस युगको अन्त्य पनि हुनेछ। 41मानिसका पुत्रले आफ्ना दूतहरू पठाउनेछ, अनि तिनीहरूले पाप गर्न लाउने र दुष्ट काम गर्ने हरेकलाई राज्यदेखि बटुल्नेछन्। 42अनि तिनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्, जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ। 43तब धर्मात्माहरू तिनीहरूका पिताको राज्यमा सूर्यझैं चम्कनेछन्। जसको कान छ, उसले सुनोस् र बुझोस्।
गुप्त गाडधन र मोतीका दृष्टान्तहरू
44“स्वर्गको राज्य खेतमा लुकाइ राखिएको गाडधनजस्तो हो। जब एकजना मानिसले त्यसलाई भेट्टायो, त्यसले फेरि लुकाइ राख्यो, अनि आनन्दसाथ गएर आफूसित भएका सबै थोक बेचेर त्यो खेत किन्यो।
45“फेरि स्वर्गको राज्य असल मोतीहरूको खोजी गर्ने एकजना व्यापारीजस्तो हो। 46जब उसले एउटा बहुमूल्य मोती भेट्टायो, ऊ गइहाल्यो अनि आफूसित भएका सबै थोक बेचेर त्यो किन्यो।
जालको दृष्टान्त
47“फेरि पनि स्वर्गको राज्य समुद्रमा हानेको एउटा जालजस्तै हो, जसमा सबै किसिमका माछाहरू परे। 48जब त्यो भरियो, मछुवाहरूले त्यसलाई तानेर किनारमा ल्याए। त्यसपछि तिनीहरू बसेर असल माछाहरूलाई टोकरीमा बटुले, तर खराबलाई बाहिर फ्याँकिदिए। 49युगको अन्त्यमा पनि यस्तै हुनेछ। स्वर्गदूतहरू आएर दुष्टहरूलाई धर्मीहरूबाट अलग गर्नेछन्, 50अनि तिनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्, जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ।”
51येशूले तिनीहरूलाई “के यी कुराहरू बुझ्यौ?” भनी सोध्नुभयो।
तिनीहरूले जवाफ दिए, “ज्यू, बुझ्यौं।”
52उहाँले तिनीहरूलाई भन्नुभयो, “यसकारण स्वर्गको राज्यको विषयमा शिक्षा पाएको हरेक व्यवस्थाको शिक्षक, घरको एकजना मालिकजस्तै हो, जसले आफ्नो ढुकुटीबाट नयाँ र पुरानो मूल्यवान् वस्तुहरू झिक्दछ।”
आदरविनाको अगमवक्ता
53जब येशूले यी दृष्टान्तहरू भनिसक्नुभयो, उहाँ त्यहाँबाट अघि बढ्नुभयो। 54आफ्नो घर भएको शहरमा आएर उहाँले मानिसहरूलाई तिनीहरूका सभाघरमा सिकाउन थाल्नुभयो, अनि तिनीहरू छक्क परे। तिनीहरूले सोधे, “यस मानिसले यस्तो बुद्धि र शक्तिशाली कामहरू गर्ने शक्ति कहाँबाट पायो? 55के यो सिकर्मीको छोरो होइन? के यसकी आमाको नाउँ मरियम होइन, अनि यसका भाइहरू याकोब, योसेफ, सिमोन र यहूदा होइनन्? 56के यसका बहिनीहरू हामीसित छैनन्? त्यसो भए यस मानिसले यी सबै कुराहरू कहाँबाट पायो?” 57अनि तिनीहरू उहाँसित चिढिए।
तर येशूले तिनीहरूलाई भन्नुभयो, “अगमवक्ता आफ्नै ठाउँमा अनि उसको आफ्नै घरमा मात्र आदररहित हुन्छ।”
58अनि उहाँले तिनीहरूका विश्वासको कमीले गर्दा त्यहाँ धेरै शक्तिशाली कामहरू गर्नुभएन।
Currently Selected:
मत्ती 13: NCV
Označeno
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
पवित्र बाइबल, नेपाली समकालीन संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ। सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Nepali Contemporary Version™, New Testament
Copyright © 1998, 2006, 2021 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.