मत्ती 10
10
येशूले बाह्र चेलाहरूलाई पठाउनुभएको
1येशूले आफ्ना बाह्र चेलाहरूलाई आफूकहाँ बोलाउनुभयो, अनि तिनीहरूलाई अशुद्ध आत्माहरू धपाउने, अनि हरेक किसिमका रोग र बिरामी निको पार्ने अधिकार दिनुभयो।
2ती बाह्र प्रेरितहरूका नाउँ यिनै हुन्:
पहिलो पत्रुस भनिने सिमोन, अनि तिनका भाइ अन्द्रियास;
जब्दीका छोरा याकोब र तिनको भाइ यूहन्ना;
3फिलिप अनि बारथोलोमाइ;
थोमा अनि कर उठाउने मत्ती;
अल्फयसको छोरो याकोब अनि थेदियस;
4सिमोन कनानी अनि यहूदा इस्करियोत, जसले उहाँलाई धोका दियो।
5यी बाह्र जनालाई येशूले यस्ता अधिकार दिएर पठाउनुभयो: “गैरयहूदीहरूको बीचमा नजाओ, अनि सामरीहरूका शहरहरूमा नपस। 6बरु इस्राएलका हराएका भेडाहरूकहाँ जाओ। 7तिमीहरू गएर यो समाचार प्रचार गर: ‘स्वर्गको राज्य नजिक आएको छ।’ 8रोगीहरूलाई निको पार, मरेकाहरूलाई जीवित बनाओ, कुष्ठरोगीहरूलाई निको बनाओ, भूत आत्माहरू धपाओ। तिमीहरूले सित्तैंमा पायौ, सित्तैंमा देओ।
9“आफूसित पटुकामा सुन, चाँदी अथवा तामा नलैजाओ। 10यात्राको लागि झोला अथवा दुईसरो लुगा, जुत्ता अथवा लौरो नबोक; किनकि खेताला ज्यालाको योग्य हुन्छ। 11तिमीहरू जुन शहर अथवा गाउँमा पस्छौ, त्यस ठाउँमा को योग्यको छ, त्यस व्यक्तिलाई खोज र तिमीहरूले त्यो ठाउँ नछोडेसम्म त्यसकै घरमा अतिथीको रूपमा बस। 12तिमीहरू त्यस घरमा पस्दा, त्यसलाई आफ्नो अभिवादन भन। 13यदि त्यो घर त्यस योग्यको छ भने, तिमीहरूको शान्ति त्यसमा रहोस्; यदि छैन भने, तिमीहरूको शान्ति तिमीहरूकहाँ फर्किआओस्। 14यदि कसैले तिमीहरूलाई स्वागत गरेन भने अथवा तिमीहरूको कुरा सुन्दैन भने तिमीहरूले त्यस घर अथवा शहरलाई छोडेर जाँदा तिमीहरूका खुट्टाको धूलो टक्टक्याइदेओ। 15म यो साँचो कुरा तिमीहरूलाई भन्दछु, न्यायको दिनमा त्यस शहरको भन्दा त सदोम र गमोराको अवस्था सहनसक्ने हुनेछ।
16“म तिमीहरूलाई ब्वाँसाहरूका बीचमा भेडाहरूझैं पठाउँदैछु। यसकारण सर्पझैं चतुर र ढुकुरझैं सोझो होओ। 17मानिसहरूदेखि होसियार बस, तिनीहरूले तिमीहरूलाई स्थानीय सभाहरूमा सुम्पिदिनेछन्, अनि तिनीहरूका सभाघरहरूमा कोर्रा लगाउनेछन्। 18मेरो कारणले गर्दा तिमीहरू राज्यपालहरू र राजाहरूका अगाडि लगिनेछौ, अनि तिमीहरू गैरयहूदीहरूको अघि मेरा साक्षी हुनेछौ। 19तर जब तिनीहरूले तिमीहरूलाई पक्रनेछन्, तिमीहरूले के बोल्नुपर्ने वा कसरी बोल्नुपर्छ भनी फिक्री नगर। त्यसै बेला तिमीहरूले के भन्नुपर्ने हो, सो दिइनेछ। 20किनकि त्यो तिमीहरू बोलेका हुनेछैनौ, तर तिमीहरूका पिताको आत्मा नै तिमीहरूद्वारा बोल्नुहुनेछ।
21“भाइले भाइलाई, बुबाले आफ्नो छोराछोरीलाई मृत्युको निम्ति धोका दिनेछन्; छोराछोरीहरू आफ्ना आमाबुबाको विरुद्धमा उठ्नेछन्, अनि तिनीहरूलाई मार्न लाउनेछन्। 22तिमीहरूलाई सबै मानिसहरूले मेरो निम्ति घृणा गर्नेछन्, तर जो अन्त्यसम्म स्थिर रहन्छ, त्यो नै बचाइनेछ। 23जब तिमीहरू एक ठाउँमा सताइनेछौ, तब अर्को ठाउँमा भाग। म साँचो भन्दछु, मानिसका पुत्र आउनु अघि तिमीहरूले इस्राएलका शहरहरू पनि घुमिसकेका हुनेछैनौ।
24“चेला गुरुभन्दा श्रेष्ठ हुँदैन, न ता सेवक मालिकभन्दा श्रेष्ठ हुन सक्छ। 25चेलालाई गुरु जत्तिको हुनु र सेवकलाई मालिक जत्तिको हुनु नै पर्याप्त हुन्छ। यदि घरानाको मुखियालाई बालजिबुल#10:25 बालजिबुल दुष्ट आत्माहरूको प्रधान भनिएको छ भने, घरानाका सदस्यहरूलाई त झन् कति बढ्ता गरी भन्लान्!
26“यसकारण तिनीहरूसित नडराओ। लुकेको कुनै कुरो छैन, जो प्रकट हुँदैन र गुप्तमा कुनै कुरो छैन, जो थाहा लाग्दैन। 27जे मैले तिमीहरूलाई अँध्यारोमा भनें, त्यसलाई दिनको उज्यालोमा भनिदेओ: तिमीहरूको कानमा जे भनिएको छ, त्यो घरको धुरीबाट घोषणा गरिदेओ। 28शरीरलाई मार्ने तर प्राणलाई नष्ट गर्न नसक्नेहरूसित नडराओ। बरु शरीर र प्राण दुवैलाई नरकमा नष्ट गर्न सक्नुहुने परमेश्वरसित डराओ। 29के एक पैसामा#10:29 एक दिनको ज्यालाको सोह्र भागको एक भाग दुई भँगेरा बिक्दैनन्? तापनि तीमध्ये तिमीहरूका पिताको इच्छाविना एउटा पनि भुइँमा खस्दैन। 30तिमीहरूका शिरका कपालसमेत गन्ती भइसकेका छन्। 31यसकारण नडराओ तिमीहरू धेरै भँगेराहरूभन्दा बढी मूल्यवान् छौ।
32“जसले मलाई मानिसहरूको सामुन्ने स्वीकार गर्दछ, त्यसलाई म पनि मेरा स्वर्गमा हुनुहुने पिताको सामुन्ने स्वीकार गर्नेछु। 33तर जसले मलाई मानिसहरूको सामुन्ने अस्वीकार गर्छ, त्यसलाई म मेरा स्वर्गमा हुनुहुने पिताको सामुन्ने अस्वीकार गर्नेछु।
34“म संसारमा शान्ति ल्याउन आएको हुँ भनी नठान। म संसारमा शान्ति होइन, तर तरवार लिएर आएको हुँ। 35किनकि म,
“ ‘मानिसलाई उसको बुबाको विरुद्धमा,
छोरीलाई उसकी आमाको विरुद्धमा,
बुहारीलाई उसकी सासूको विरुद्धमा अलग गराउन आएँ।
36मानिसका शत्रुहरू त आफ्नै परिवारका सदस्यहरू हुनेछन्।’#10:36 मीका 7:6
37“जसले मलाई भन्दा आफ्ना बुबा वा आमालाई बढी प्रेम गर्दछ, त्यो मेरो योग्यको हुँदैन; जसले आफ्ना छोरा वा छोरीलाई मलाई भन्दा बढी प्रेम गर्दछ, त्यो मेरो योग्यको हुँदैन। 38अनि जसले आफ्नो क्रूस लिएर मेरो पछि लाग्दैन, त्यो मेरो योग्यको हुँदैन। 39जसले आफ्नो प्राण जोगाउँछ, उसले त्यो गुमाउनेछ, जसले आफ्नो प्राण मेरो निम्ति गुमाउछ उसले त्यो पाउनेछ।
40“जसले तिमीहरूलाई ग्रहण गर्दछ, त्यसले मलाई ग्रहण गर्दछ, अनि जसले मलाई ग्रहण गर्दछ, उसले मलाई पठाउनुहुनेलाई ग्रहण गर्दछ। 41जसले अगमवक्तालाई अगमवक्ताको रूपमा ग्रहण गर्दछ, त्यसले अगमवक्ताको इनाम पाउनेछ, अनि जसले धार्मिक मानिसलाई धार्मिक मानिसको रूपमा ग्रहण गर्दछ, त्यसले धार्मिक मानिसको इनाम पाउनेछ। 42अनि यदि कसैले यी सानाहरूमध्ये एकजनालाई मेरो चेला हो भनी एक गिलास चिसो पानी दिन्छ भने, म तिमीहरूलाई साँच्चै भन्दछु, निश्चय नै उसले आफ्नो इनाम गुमाउनेछैन।”
Currently Selected:
मत्ती 10: NCV
Označeno
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
पवित्र बाइबल, नेपाली समकालीन संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ। सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Nepali Contemporary Version™, New Testament
Copyright © 1998, 2006, 2021 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.