रोमी 8:31-37
हामीले यसमा के भन्ने त? यदि परमेश्वर हामीतर्फ हुनुहुन्छ भने, हाम्रो विरुद्ध को हुन्छ? जसले आफ्नै निज पुत्रलाई बाँकी राख्नुभएन, तर हामी सबैका निम्ति उहाँलाई दिनुभयो, के उहाँले हामीलाई सबै थोक पनि उहाँकै साथमा दिनुहुनेछैन र? परमेश्वरका चुनिएकाहरूका विरुद्धमा कसले अभियोग लाउनेछ? धर्मी ठहराउने परमेश्वर नै हुनुहुन्छ भने, दण्डको आज्ञा दिने को हो? मर्ने त ख्रीष्ट येशू, हुनुहुन्छ, जो मरेकाहरूबाट जीवित पारिनुभयो, र परमेश्वरको दाहिने बाहुलीतर्फ हुनुहुन्छ, र हाम्रा निम्ति मध्यस्थ पनि गर्नुहुन्छ। कसले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्ने? के सङ्कष्टले, अथवा दुःखले, वा खेदोले, वा अनिकालले, वा नग्नताले, अथवा खतराले वा तरवारले? यस्तो लेखिएको छ, “तपाईंको खातिर हामी दिनभरि मारिन्छौं, काटिने भेड़ाहरूजस्तै हामीहरू गनिएका छौं।” होइन, यी सबै कुरामा हामीलाई प्रेम गर्नुहुनेद्वारा हामी विजेताहरूभन्दा पनि अझ बढ़ी छौं।
रोमी 8:31-37