रोमी 8:18-39
म विचार गर्दछु, कि हामीमा जुन महिमा प्रकट गरिनेछ, त्यससँग वर्तमान समयका कष्टहरू तुलना गर्न योग्य छैनन्। सृष्टि बड़ो उत्कण्ठाले परमेश्वरका पुत्रहरू प्रकट हुने कुराको प्रतीक्षा गर्छ। सृष्टि व्यर्थताको वशमा पारियो, त्यसको आफ्नै इच्छाले होइन, तर उहाँको इच्छाले, जसले त्यसलाई वशमा पार्नुभयो, यसै आशामा, कि सृष्टि त्यसको आफ्नै विनाशको बन्धनबाट मुक्त गराइनेछ, र त्यसले पनि परमेश्वरका सन्तानको महिमित स्वतन्त्रता प्राप्त गर्नेछ। हामी जान्दछौं, सारा सृष्टि अहिलेसम्म एकसाथ प्रसववेदनाको आर्तनाद गरिरहेछ। सृष्टि मात्र होइन, तर हामी आफै पनि, जसमा पवित्र आत्माको पहिलो फल छ, सन्तानको रूपमा ग्रहण गरिनलाई, अर्थात् हाम्रो देहको उद्धारको निम्ति प्रतीक्षा गरेर हामी आफै पनि भित्र-भित्रै आर्तनाद गर्दछौं। किनकि यही आशामा हामीले मुक्ति पाएका थियौं। अब देखिनेचाहिँ आशा त आशा नै होइन। किनकि देखेका कुराको आशा कसले गर्छ र? तर यदि हामी आफूले नदेखेका कुराको आशा गर्छौं भने, धैर्यसाथ हामी त्यसको प्रतीक्षा गर्छौं। त्यसै गरी पवित्र आत्माले पनि हाम्रो दुर्बलतामा सहायता गर्नुहुन्छ। कसरी प्रार्थना गर्नुपर्ने हो हामी जान्दैनौं, तर शब्दहरूमा व्यक्त गर्न नसकिने सुस्केरामा पवित्र आत्माले हाम्रा निम्ति मध्यस्थता गर्नुहुन्छ। र मानिसहरूका हृदयको खोजी गर्नुहुनेले पवित्र आत्माको विचार के हो सो जान्नुहुन्छ, किनकि परमेश्वरको इच्छाअनुसार पवित्र आत्माले सन्तहरूका निम्ति मध्यस्थता गर्नुहुन्छ। हामी जान्दछौं, उहाँलाई प्रेम गर्नेहरू र उहाँका अभिप्रायअनुसार बोलाइएकाहरूका निम्ति हरेक कुरामा परमेश्वरले भलाइ नै गर्नुहुन्छ। जस-जसलाई उहाँले पहिलेबाटै चिन्नुभएको छ, उहाँले तिनीहरूलाई आफ्ना पुत्रको रूपसमान बनाउनलाई, धेरै भाइहरूमध्ये उहाँचाहिँ ज्येष्ठ होऊन् भनेर, अघिबाटै नियुक्त गर्नुभयो। जस-जसलाई उहाँले अघिबाटै नियुक्त गर्नुभयो, तिनीहरूलाई उहाँले बोलाउनु पनि भयो, र जस-जसलाई उहाँले बोलाउनुभयो, तिनीहरूलाई उहाँले धर्मी पनि ठहराउनुभयो, र जस-जसलाई धर्मी ठहराउनुभयो तिनीहरूलाई उहाँले महिमित पनि पार्नुभयो। हामीले यसमा के भन्ने त? यदि परमेश्वर हामीतर्फ हुनुहुन्छ भने, हाम्रो विरुद्ध को हुन्छ? जसले आफ्नै निज पुत्रलाई बाँकी राख्नुभएन, तर हामी सबैका निम्ति उहाँलाई दिनुभयो, के उहाँले हामीलाई सबै थोक पनि उहाँकै साथमा दिनुहुनेछैन र? परमेश्वरका चुनिएकाहरूका विरुद्धमा कसले अभियोग लाउनेछ? धर्मी ठहराउने परमेश्वर नै हुनुहुन्छ भने, दण्डको आज्ञा दिने को हो? मर्ने त ख्रीष्ट येशू, हुनुहुन्छ, जो मरेकाहरूबाट जीवित पारिनुभयो, र परमेश्वरको दाहिने बाहुलीतर्फ हुनुहुन्छ, र हाम्रा निम्ति मध्यस्थ पनि गर्नुहुन्छ। कसले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्ने? के सङ्कष्टले, अथवा दुःखले, वा खेदोले, वा अनिकालले, वा नग्नताले, अथवा खतराले वा तरवारले? यस्तो लेखिएको छ, “तपाईंको खातिर हामी दिनभरि मारिन्छौं, काटिने भेड़ाहरूजस्तै हामीहरू गनिएका छौं।” होइन, यी सबै कुरामा हामीलाई प्रेम गर्नुहुनेद्वारा हामी विजेताहरूभन्दा पनि अझ बढ़ी छौं। किनकि म यो पक्का गरी जान्दछु, कि मृत्युले वा जीवनले, स्वर्गदूतहरूले वा प्रधानताहरूले, वर्तमानका कुराहरूले वा पछि हुने कुराहरूले, वा शक्तिहरूले, उचाइले वा गहिराइले, वा सारा सृष्टिमा भएका कुनै पनि कुराले, ख्रीष्ट येशू हाम्रा प्रभुमा भएका परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्नेछैन।
रोमी 8:18-39