भजनसंग्रह 51:1-9

हे परमेश्वर, तपाईंको अचूक करुणाअनुसार ममाथि कृपा गर्नुहोस्, तपाईंको अपार अनुकम्पामा मेरा अपराधहरू मेटिदिनुहोस्। मेरो सबै अधर्मबाट मलाई पूर्ण रूपमा धोइदिनुहोस्, र मेरो पापबाट मलाई शुद्ध गरिदिनुहोस्। किनकि मेरा अपराधहरू म जान्दछु, र मेरो पाप सदा मेरो सामुन्ने छ। तपाईंको विरुद्धमा, केवल तपाईंकै विरुद्धमा मैले पाप गरेको छु, र तपाईंको दृष्टिमा जे खराबी छ, त्यही गरेको छु। यसैकारण बोल्नुहुँदा तपाईं ठीक प्रमाणित हुनुहुन्छ, र न्याय गर्दा तपाईं न्यायी ठहरिनुहुन्छ। साँच्चै, म जन्मँदा नै पापी थिएँ, र मेरी आमाले मलाई गर्भधारण गरेदेखि नै म पापी थिएँ। निश्चय नै हृदयको सत्यता तपाईं चाहना गर्नुहुन्छ, अन्तस्करणमा तपाईं मलाई बुद्धिका कुरा सिकाउनुहुन्छ। हिसपले मलाई शुद्ध पार्नुहोस्, र म शुद्ध हुनेछु। मलाई धुनुहोस्, र म हिउँभन्दा सेतो हुनेछु। मलाई हर्ष र उल्लास सुन्न दिनुहोस्, र तपाईंले चूर्ण पारिदिनुभएका हड्डीहरू आनन्दित होऊन्। मेरा पापहरूदेखि आफ्नो मुख लुकाउनुहोस्, र मेरा सारा अधर्महरू मेटिदिनुहोस्।
भजनसंग्रह 51:1-9