फिलिप्पी 2:5-18
तिमीहरूमा यस्तो मन होस्, जो ख्रीष्ट येशूमा पनि थियो। परमेश्वरको स्वरूपमा भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्ने वस्तुजस्तो ठान्नुभएन। तर आफैलाई रित्त्याईकन कमाराको रूप धारण गरेर, तथा मनुष्य भएर जन्मनुभयो। स्वरूपमा मानिसजस्तै भएर आफैलाई होच्याउनुभयो, र मृत्युसम्मै, अर्थात् क्रूसको मृत्युसम्मै आज्ञाकारी रहनुभयो। त्यसैकारण परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो, र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो, जो हरेक नाउँभन्दा उच्च छ, कि स्वर्गमा, पृथ्वीमाथि र पृथ्वीमुनि भएको हरेक प्राणीले येशूको नाउँमा घुँड़ा टेक्नुपर्छ, र हरेक जिब्रोले परमेश्वर पिताका महिमाको निम्ति येशू ख्रीष्टलाई प्रभु भनी स्वीकार गर्नुपर्छ। यसकारण मेरा प्रिय हो, जसरी तिमीहरूले सधैँ आज्ञापालन गरेका छौ, मेरो उपस्थितिमा मात्र गरेजस्तो होइन, तर अब झन् बढ़ी मेरो अनुपस्थितिमा डर र कम्पसाथ तिमीहरूको आफ्नो मुक्तिको काम पूरा गर्न परिश्रम गर। किनकि तिमीहरूलाई उहाँको असल अभिप्रायअनुसार इच्छा गर्ने र काम गर्ने दुवै तुल्याउनलाई परमेश्वर तिमीहरूमा काम गर्नुहुन्छ। गनगन अथवा वाद-विवाद नगरी सबै काम गर्दैजाओ, कि तिमीहरूचाहिँ निर्दोष र सुधा भएर टेढ़ा र बरालिएका पुस्ताको बीचमा परमेश्वरका निष्खोट सन्तान होओ, जुन पुस्ताको बीच संसारमा तिमीहरू ताराहरूझैँ चम्कन्छौ। जीवनको वचन दह्रिलो गरी पक्रिराख, ताकि म व्यर्थमा दगुरिनँ, र मैले व्यर्थमा परिश्रम गरिनँ भनी ख्रीष्टको दिनमा म गर्व गर्न सकूँ। यदि तिमीहरूका विश्वासको बलिदानमाथि अर्घ-बलिको रूपमा अर्पित हुनुपरे तापनि म आनन्दित छु, र तिमीहरू सबैसँग म रमाउँछु। त्यसै गरी तिमीहरू पनि मसँग खुशी हुनु र रमाउनुपर्छ।
फिलिप्पी 2:5-18