फिलिप्पी 2:12-30
यसकारण मेरा प्रिय हो, जसरी तिमीहरूले सधैँ आज्ञापालन गरेका छौ, मेरो उपस्थितिमा मात्र गरेजस्तो होइन, तर अब झन् बढ़ी मेरो अनुपस्थितिमा डर र कम्पसाथ तिमीहरूको आफ्नो मुक्तिको काम पूरा गर्न परिश्रम गर। किनकि तिमीहरूलाई उहाँको असल अभिप्रायअनुसार इच्छा गर्ने र काम गर्ने दुवै तुल्याउनलाई परमेश्वर तिमीहरूमा काम गर्नुहुन्छ। गनगन अथवा वाद-विवाद नगरी सबै काम गर्दैजाओ, कि तिमीहरूचाहिँ निर्दोष र सुधा भएर टेढ़ा र बरालिएका पुस्ताको बीचमा परमेश्वरका निष्खोट सन्तान होओ, जुन पुस्ताको बीच संसारमा तिमीहरू ताराहरूझैँ चम्कन्छौ। जीवनको वचन दह्रिलो गरी पक्रिराख, ताकि म व्यर्थमा दगुरिनँ, र मैले व्यर्थमा परिश्रम गरिनँ भनी ख्रीष्टको दिनमा म गर्व गर्न सकूँ। यदि तिमीहरूका विश्वासको बलिदानमाथि अर्घ-बलिको रूपमा अर्पित हुनुपरे तापनि म आनन्दित छु, र तिमीहरू सबैसँग म रमाउँछु। त्यसै गरी तिमीहरू पनि मसँग खुशी हुनु र रमाउनुपर्छ। म तिमीहरूकहाँ तिमोथीलाई चाँड़ै पठाउन प्रभुमा आशा गर्दछु, ताकि तिमीहरूको समाचार पाएर म पनि प्रसन्न हुन सकूँ। तिनीजस्तो साँचो मनले तिमीहरूका कल्याणको चिन्ता गर्ने मानिस मसँग अरू कोही छैन। येशू ख्रीष्टका कुराको वास्ता नगरी, तिनीहरू सबै आफ्नै स्वार्थ खोज्छन्। तर तिमोथीको योग्यता त तिमीहरूलाई थाहै छ, कि जसरी छोराले बाबुको सेवा गर्दछ, त्यसरी नै तिनले मसँग सुसमाचारको काममा सेवा गरे। यसकारण मेरो निम्ति के-कसो हुन्छ सो बुझ्ने बित्तिकै तिनलाई पठाउने आशा गर्दछु। अनि म पनि चाँड़ै आउँला भनी प्रभुमा भरोसा राखेको छु। इपाफ्रोडिटस, जो मेरा भाइ, सहकर्मी र सङ्गी-सिपाही तथा तिमीहरूले पठाएका दूत र मलाई खाँचो पर्दा सेवा गर्ने हुन्, तिनलाई तिमीहरूकहाँ पठाउन आवश्यक ठानेको छु, किनकि तिनले तिमीहरू सबैका निम्ति अति तृष्णा गरिरहेका छन्। तिनी बिरामी भएको खबर तिमीहरूले थाहा पाएकाले तिनी व्याकुल भएका छन्। तिनी साँच्चै मरणान्त बिरामी थिए, तर परमेश्वरले तिनीमाथि दया देखाउनुभयो। तिनीमाथि मात्र होइन, तर मलाई शोकमाथि शोक नथपिओस् भनेर ममाथि पनि दया गर्नुभयो। यसकारण म तिनलाई पठाउन झन् बढ़ी उत्सुक छु, ताकि तिनलाई फेरि देखेर तिमीहरू रमाउनेछौ, र मेरो चिन्ता पनि कम हुनेछ। त्यसैले ज्यादै आनन्दसाथ प्रभुमा तिनलाई ग्रहण गर, र यस्ता मानिसहरूलाई आदर गर। किनकि मप्रतिको तिमीहरूको सेवा पूरा गर्नलाई ख्रीष्टका कामको निम्ति तिनी मृत्युको मुखैमा पुगेका थिए।
फिलिप्पी 2:12-30