मत्ती 7:24-29
“यसकारण जसले मेरा यी वचन सुन्छ र पालन गर्छ, म एक जना बुद्धिमान् मानिससँग त्यसको तुलना गर्छु, जसले आफ्नो घर चट्टानमाथि बनायो। अनि पानी पर्यो, र बाढ़ी आयो, अनि हुरी चल्यो र त्यस घरमाथि बजारियो, र पनि त्यो घर ढलेन। किनकि त्यो चट्टानमाथि बसालिएको थियो। जसले मेरा यी वचन सुनेर पनि पालन गर्दैन, त्यसको तुलना एउटा मूर्ख मानिससँग गरिन्छ, जसले आफ्नो घर बालुवामाथि बनायो। पानी पर्यो, र बाढ़ी आयो, अनि हुरी चल्यो र त्यस घरमाथि बजारियो, र त्यो घर ढल्यो, अनि त्यसको ठूलो विनाश भयो।” येशूले यी कुरा भनिसक्नुभएपछि भीड उहाँका शिक्षा सुनेर छक्क पर्यो। किनकि उहाँले तिनीहरूका शास्त्रीहरूले झैँ होइन, तर अधिकार भएको मानिसले जस्तो गरी सिकाउनुहुन्थ्यो।
मत्ती 7:24-29