मत्ती 6:19-31
“आफ्नो निम्ति पृथ्वीमा धन-सम्पत्ति नथुपार, जहाँ कीरा र खियाले ती नष्ट पार्छन् र जहाँ चोरहरूले घर फोरेर ती चोर्छन्। तर आफ्नो निम्ति स्वर्गमा धन-सम्पत्ति थुपार, जहाँ कीराले वा खियाले नष्ट पार्दैन, र चोरले पनि चोर्दैन। किनकि जहाँ तिम्रो धन हुन्छ, त्यहीँ तिम्रो मन पनि हुन्छ। “आँखा शरीरको बत्ती हो। यसकारण यदि तिम्रा आँखा स्वस्थ छन् भने, तिम्रो सारा शरीर उज्यालो हुनेछ। तर तिम्रा आँखा खराब छन् भने, तिम्रो सारा शरीर अँध्यारो हुनेछ। यसकारण तिमीभित्र भएको उज्यालोचाहिँ अँध्यारो भयो भने, त्यो अँध्यारो कस्तो घोर हुन्छ! “कसैले दुई मालिकको सेवा गर्न सक्दैन। किनभने त्यसले एउटालाई घृणा गर्नेछ र अर्कालाई प्रेम गर्नेछ। अथवा त्यसले एउटाप्रति भक्ति राख्नेछ, र अर्कालाई त्यसले तुच्छ ठान्नेछ। तिमीहरूले परमेश्वर र धनको सेवा गर्न सक्दैनौ। “यसैकारण म तिमीहरूलाई भन्दछु, ‘के खाउँला, के पिउँला’ भनी आफ्नो प्राणको निम्ति र ‘के लगाउँला’ भनी आफ्नो शरीरको निम्ति फिक्री नगर।’ के जीवन खानेकुराभन्दा र शरीर लुगाफाटाभन्दा उत्तम होइन? आकाशका चराचुरुङ्गीलाई हेर। तिनीहरूले न त बीउ छर्छन्, न अन्न कटनी गर्छन्, न भकारीमा बटुल्छन्, तर तिमीहरूका स्वर्गका पिताले तिनीहरूलाई खुवाउनुहुन्छ। के तिमीहरू तिनीहरूभन्दा बढ़ी मूल्यवान् छैनौ र? तिमीहरूमध्ये कुनचाहिँले फिक्री गरेर आफ्नो आयुमा एक घड़ी पनि थप्न सक्छ? “अनि लुगाफाटाका निम्ति तिमीहरू किन फिक्री गर्दछौ? मैदानका लिली फूललाई हेर, ती कसरी बढ्दछन्। तिनले न परिश्रम गर्दछन्, न धागो कात्छन्। तर म तिमीहरूलाई भन्दछु, सोलोमन राजा पनि आफ्ना सारा वैभवमा तिनीहरूमध्ये एउटा जति आभूषित थिएनन्। आज हुने र भोलि अगेनोमा फालिने घाँसलाई परमेश्वरले यसरी पहिराउनुहुन्छ भने, ए अल्पविश्वासी हो, के तिमीहरूलाई झन् बढ़ी उहाँले पहिराउनुहुनेछैन र? यसकारण ‘के खाऔंला?’ कि ‘के पिऔंला?’ कि ‘के पहिरौंला?’ भनेर फिक्री नगर।
मत्ती 6:19-31