योएल 2:12-32
परमप्रभु घोषणा गर्नुहुन्छ, “अहिले पनि तिमीहरू आफ्ना सम्पूर्ण हृदयले, उपवास बसेर, रुँदै र शोक गर्दै मतिर फर्क।” आफ्नो लुगा होइन, तर आफ्नो हृदय फटाएर परमप्रभु तिमीहरूका परमेश्वरतिर फर्क, किनकि उहाँ अनुग्रहकारी, दयामा भरपूर, रीस गर्नमा ढीला र प्रेममा भरिपूर्ण हुनुहुन्छ, र विपत्ति ल्याउनुहुँदा उहाँ दु:खित हुनुहुन्छ। कसले जान्दछ, कतै दु:खित भएर उहाँले आफ्नो मन बदली आशिष् दिनुहुन्छ— परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति तिमीहरूले चढ़ाउने अन्नबलि र अर्घ-बलिहरू। सियोनमा तुरही फुक, पवित्र उपवासको घोषणा गर, पवित्र सभा बोलाओ। मानिसहरूलाई भेला गर, सभालाई अर्पण गर, धर्म-गुरुहरूलाई जम्मा गर, नानीहरू र दूधे-बालकहरूलाई बटुल। दुलहा आफ्नो कोठाबाट र दुलही आफ्नो भित्री कोठाबाट निस्कून्। परमप्रभुको अगि सेवा गर्ने पूजाहारीहरू मन्दिरको दलान र वेदीका बीचमा रोऊन्। तिनीहरूले भनून्, “हे परमप्रभु, आफ्नो प्रजालाई बाँकी राख्नुहोस्। आफ्नो उत्तराधिकारीलाई गिल्लाको पात्र हुन, र जाति-जातिहरूका बीचमा हेलाको शब्द हुन नदिनुहोस्। ‘तिनीहरूका परमेश्वर कहाँ छन् त?’ भनी अन्यजातिहरूले किन भन्न पाऊन्?” तब परमप्रभु आफ्नो देशको निम्ति डाही हुनुहुनेछ र उहाँले आफ्नो प्रजालाई टिठ्याउनुहुनेछ। परमप्रभुले आफ्नो प्रजालाई यसो भनेर जवाफ दिनुहुनेछ, “म तिमीहरूलाई नयाँ अन्न, दाखमद्य र तेल पठाइदिनेछु, र तिमीहरू सम्पूर्ण तृप्त हुनेछौ। जाति-जातिहरूका बीचमा फेरि कहिल्यै म तिमीहरूलाई गिल्लाको पात्र हुन दिनेछैनँ। “म उत्तरतिरबाट आएको सेनालाई तिमीहरूदेखि टाढ़ा खेदिदिनेछु। म त्यसलाई बाँझो र उजाड़ देशमा धपाइदिनेछु। त्यसको अगिल्लो पङ्क्तिलाई पूर्वको समुद्रमा र त्यसको पछिल्लो पङ्क्तिलाई चाहिँ पश्चिमको समुद्रमा हटाइदिनेछु, अनि त्यसको गन्ध, त्यसको सड़ेको दुर्गन्ध माथि उठ्नेछ।” निश्चय नै उहाँले ठूला-ठूला काम गर्नुभएको छ। ए देश, नडरा, तँ खुशी भएर रमाहट गर्। निश्चय नै परमप्रभुले ठूला-ठूला कामहरू गर्नुभएको छ। ए जङ्गली पशु हो, नडराओ, किनकि खुला खर्कहरू हरिया भइरहेका छन्। रूखमा फलहरू फलिरहेछन्, नेभाराका बोट र दाखका बोटले प्रशस्त फलहरू दिन्छन्। ए सियोनका मानिस हो, खुशी होओ, परमप्रभु तिमीहरूका परमेश्वरमा रमाहट गर, किनकि उहाँले तिमीहरूलाई शरद्को वर्षा धार्मिकतामा दिनुभएको छ। उहाँले हामीलाई प्रशस्त झरी ल्याइदिनुहुन्छ— शरद् र बसन्त दुवै झरी पहिलेको झैँ पठाइदिनुहुन्छ। तब खलाहरू अन्नले भरिनेछन्, घैलाहरू नयाँ दाखमद्य र तेलले भरेर पोखिनेछन्। “म तिमीहरूलाई ती वर्षहरूको भर्ना गरिदिनेछु, जो ठूलो सलह, जवान सलह र अरू सलह, अर्थात् मैले तिमीहरूका बीचमा पठाएको मेरो ठूलो सेनाले खाएको थियो। तिमीहरू अघाउञ्जेल प्रशस्त खान पाउनेछौ, र तिमीहरूका निम्ति उदेकका काम गर्नुहुने परमप्रभु तिमीहरूका परमेश्वरका नाउँको प्रशंसा गर्नेछौ। मेरो प्रजा फेरि कहिल्यै लज्जित हुनेछैन। तब म इस्राएलको बीचमा छु, र म परमप्रभु तिमीहरूका परमेश्वर हुँ, र मबाहेक अरू कोही छैन भनी तिमीहरूले जान्नेछौ। मेरो प्रजा फेरि कहिल्यै लज्जित हुनेछैन। “त्यसपछि म मेरा आत्मा सबै मानिसमाथि खन्याउनेछु। तिमीहरूका छोराछोरीहरूले अगमवाणी बोल्नेछन्। तिमीहरूका बूढ़ा मानिसहरू स्वप्नदर्शी हुनेछन्, र तिमीहरूका युवकहरूले दर्शन देख्नेछन्। ती दिनमा मेरा सेवकहरू पुरुष र स्त्रीहरू दुवैमाथि म आफ्ना आत्मा खन्याउनेछु। आकाश र पृथ्वीमा म अचम्मका कामहरू देखाउनेछु, अर्थात् रगत, आगो र धूवाँका मुस्लाहरू। परमप्रभुको त्यो महान् र भयङ्कर दिन आउनुभन्दा अघि सूर्य अँध्यारोमा र चन्द्र रक्तमा परिवर्तन हुनेछन्। परमप्रभुको नाउँ लिने हरेकले उद्धार पाउनेछ। किनकि परमप्रभुले भन्नुभएअनुसार सियोन पर्वत र यरूशलेममा परमप्रभुले बोलाउनुभएअनुसार बाँचेकाहरूको छुटकारा हुनेछ।”
योएल 2:12-32