हिब्रू 4:12-16
किनकि परमेश्वरको वचन जीवित र क्रियाशील हुन्छ, र कुनै पनि दुईधारे तरवारभन्दा बढ़ी धारिलो हुन्छ। यसले प्राण र आत्मालाई त्यसका जोर्नी-जोर्नी र हाड़को गुदीसम्मलाई भाग-भाग पारुञ्जेल वारपार छेड्ने र हृदयका विचार र इच्छा जाँच्न सक्ने हुन्छ। परमेश्वरको दृष्टिमा सृष्टिको कुनै कुरा लुकेको हुँदैन। उहाँका नजरको सामुन्ने सबै कुरा स्पष्ट र खुला छन्, उहाँलाई नै हामीले लेखा दिनुपर्छ। आकाश छिचोलेर जानुभएका परमेश्वरका पुत्र येशू हाम्रा महान् प्रधान पूजाहारी हुनुभएको हुनाले हामीले पक्कासँग स्वीकार गरेको यो विश्वास थामिराखौं। किनकि हाम्रा प्रधान पूजाहारी हाम्रो दुर्बलतामा हामीसँग सहानुभूति देखाउन नसक्ने हुनुहुन्न। तर हामीजस्तै उहाँ सबै कुरामा परीक्षित हुनुभयो, र पनि पापरहित हुनुहुन्थ्यो। यसकारण साहससँग अनुग्रहको सिंहासन नजिक जाऔं, र खाँचोको समयमा सहायता पाउनलाई कृपा र अनुग्रह प्राप्त गर्न सकौं।
हिब्रू 4:12-16