हिब्रू 11:1-21
अब विश्वासचाहिँ आशा राखिएका कुराको निश्चय र नदेखिएका कुराको ढृढ़ भरोसा हो। किनकि यसै विश्वासद्वारा प्राचीन मानिसहरूलाई परमेश्वरले ग्रहण गर्नुभयो। विश्वासद्वारा हामी बुझ्दछौं कि सारा विश्व परमेश्वरको वचनद्वारा सृष्टि भयो, र जो दृश्य छ त्यो अदृश्य कुराबाट बन्यो। विश्वासद्वारा हाबिलले परमेश्वरलाई कयिनले भन्दा अझ ग्रहणयोग्य बलि चढ़ाए, र त्यसद्वारा नै हाबिल धर्मी ठहरिए। तिनको बलि स्वीकार गरेर परमेश्वरले आफ्नो सम्मति जनाउनुभयो। तिनी मरे तापनि विश्वासद्वारा नै तिनी अझै बोलिरहेका छन्। विश्वासद्वारा मृत्यु नचाखी हनोक स्वर्गमा उठाइलगिए, र तिनी कतै फेला परेनन्, किनकि परमेश्वरले तिनलाई लानुभएको थियो। तिनी उठाइलगिनुभन्दा अघि परमेश्वरलाई तिनले प्रसन्न पारेका कुराको पुष्टि भएको थियो। विश्वासविना परमेश्वरलाई प्रसन्न पार्नु असम्भव छ। किनकि जो परमेश्वरको नजिक आउँछ, त्यसले परमेश्वर हुनुहुन्छ र उहाँलाई खोज्नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्छ भन्ने पक्का विश्वास गर्नुपर्छ। विश्वासद्वारा नोआले त्यति बेलासम्म अदेख रहेका घटनाका बारेमा परमेश्वरबाट चेताउनी पाएर भक्तिसाथ आफ्नो घरानालाई बचाउन एउटा जहाज बनाए। यसरी संसारलाई दोषी ठहराएर विश्वासद्वारा उनी आउने धार्मिकताका उत्तराधिकारी भए। विश्वासद्वारा अब्राहामले आज्ञापालन गरे, र जाऊ भनेको ठाउँतिर गए, जुन ठाउँ उत्तराधिकारको रूपमा उनले पछि पाउनेथिए, यद्यपि उनी कतातिर गइरहेका थिए, त्यो उनलाई थाहा थिएन। विश्वासैद्वारा उनी एक परदेशीझैँ प्रतिज्ञाको देशमा इसहाक र याकूबजस्तै तम्बूहरूमा बसोबास गरे। उनीहरू अब्राहामसँगसँगै उही प्रतिज्ञाका हकदार थिए। किनकि उनले एउटा जग भएको सहरको प्रतीक्षा गर्थे, जसलाई बनाउनुहुने र निर्माण गर्नुहुने परमेश्वर नै हुनुहुन्छ। विश्वासैद्वारा साराले पनि आफ्नो उमेर ढल्किसकेपछि गर्भधारण गर्ने शक्ति प्राप्त गरिन्। किनभने प्रतिज्ञा गर्नुहुनेलाई तिनले विश्वासयोग्य ठानेकी थिइन्। यसैकारण मरेतुल्य शरीर भइसकेको एउटै मानिसबाट आकाशका तारा जत्तिकै असंख्य र समुद्रका किनारका अनगिन्ती बालुवाका कण जत्तिकै सन्तान उत्पन्न भए। प्रतिज्ञा गरिएको कुरा प्राप्त नगरी यिनीहरू सबै विश्वासैमा मरे, तर टाढ़ैबाट त्यसलाई देखेर स्वागत गरी तिनीहरूले मानिलिए, कि तिनीहरू यस पृथ्वीमा परदेशी र प्रवासी थिए। यस्ता कुरा भन्ने मानिसहरूले आफ्नो निम्ति एउटा देश खोजिरहेका छन् भन्ने कुरा प्रष्ट हुन्छ। जुन देशबाट तिनीहरू निस्केर गएका थिए, यदि तिनीहरूले त्यही देशको विषयमा सोचेका भए तिनीहरूलाई फर्किजाने मौका मिल्ने थियो। तर तिनीहरू अझ उत्तम देश, अर्थात् एक स्वर्गीय देशको इच्छा गर्छन्। यसैकारण परमेश्वर तिनीहरूका परमेश्वर भनी पुकारिनु शर्माउनुहुन्न, किनभने उहाँले तिनीहरूका निम्ति एउटा सहर तयार पारिदिनुभएको छ। विश्वासद्वारा आफ्नो परीक्षा हुँदा अब्राहामले इसहाकलाई बलि चढ़ाए। उनले प्रतिज्ञाहरू पाएका थिए, तापनि आफ्नो एउटै छोराको बलि चढ़ाउन उनी तयार भए। यिनकै विषयमा यसो भनिएको थियो, “इसहाकद्वारा नै तेरो सन्तानको नाउँ रहनेछ।” परमेश्वरले मानिसहरूलाई मरेकोबाट पनि फेरि जीवित पार्न सक्नुहुन्छ भन्ने कुरा अब्राहामले सोचे, र भनौं भने, उनले इसहाकलाई फिर्ता पाए। विश्वासद्वारा इसहाकले याकूब र एसावलाई तिनीहरूका भविष्यको बारेमा आशीर्वाद दिए। विश्वासद्वारा मर्ने बेलामा याकूबले आफ्नो लहुरोको टुप्पामा घोप्टो परेर परमेश्वरको आराधना गरे, र योसेफको प्रत्येक छोरालाई आशीर्वाद दिए।
हिब्रू 11:1-21