एफिसी 4:1-16
यसकारण, म प्रभुको निम्ति एक कैदी, तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्दछु, कि जुन बोलावटमा तिमीहरू बोलाइएका छौ त्यही योग्यको जीवन यापन गर। सारा दीनता, नम्रता र धैर्यसँग एउटाले अर्कोलाई प्रेममा सहेर, शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्न प्रयत्न गर। शरीर एउटै छ, र पवित्र आत्मा एउटै हुनुहुन्छ— जसरी तिमीहरू बोलाइँदा एउटै आशामा बोलाइएका थियौ, जुन आशा तिमीहरूको बोलावटसँग गाभिएको छ— एउटै प्रभु, एउटै विश्वास र एउटै बप्तिस्मा, हामी सबैका एउटै परमेश्वर र पिता, जो सबैमाथि, सबैका मध्य र सबैमा हुनुहुन्छ। तर ख्रीष्टको वरदानको नापअनुसार हामी हरेकलाई अनुग्रह दिइएको छ। यसकारण यसो भनिएको छ: “उहाँ उच्चमा चढ़िजानुहुँदा कैदलाई बन्दी बनाएर लानुभयो, र मानिसहरूलाई वरदानहरू दिनुभयो।” (अब यो “उच्चमा चढ़िजानुभयो” भनेको चाहिँ के हो? केवल यही कि उहाँ पृथ्वीको तल्लो भागमा ओर्लनु पनि भयो। उहाँ जो ओर्लनुभयो उहाँ नै सारा स्वर्गहरूभन्दा धेरै माथि चढ़िजानुभयो, यस हेतुले कि समस्त थोकलाई उहाँले भरिपूर्ण पार्न सकून्।) अनि उहाँका वरदानहरूचाहिँ यी नै थिए, कि कोही प्रेरितहरू, कोही अगमवक्ताहरू, कोही प्रचारकहरू, कोही मण्डलीका पास्टरहरू र कोही शिक्षकहरू बनून्, कि ख्रीष्टको शरीर निर्माण होस् र सेवाको काम गर्न सन्तहरू सुसज्जित होऊन्, जबसम्म हामी सबैले विश्वासको र परमेश्वरका पुत्रको ज्ञानको एकता प्राप्त गर्दैनौं, र परिपक्व मानिस बनी ख्रीष्टका पूर्णताको नापसम्म पुग्दैनौं। यसरी हामी छालले अगि-पछि हुत्त्याइएका, धार्मिक-सिद्धान्तको प्रत्येक बतासले र मानिसहरूका जालझेल, धूर्तता र फट्याइँले यताउता उड़ाइएका बालकहरूजस्ता नहोऔं। बरु प्रेमसित सत्य बोल्दै हरेक कुरामा हामी उहाँसम्मै, अर्थात् ख्रीष्टसम्मै बढ्दैजाऔं, जो शिर हुनुहुन्छ। उहाँबाट नै सारा शरीर प्रत्येक जोर्नीद्वारा जोडिएको र बाँधिएको भई प्रत्येक भागले ठीक-ठीक काम गरी सुगठित हुनेछ र प्रेममा वृद्धि हुँदैजानेछ।
एफिसी 4:1-16