प्रेरित 2:37-47
यो कुरा सुनेर तिनीहरूको हृदय छियाछिया भयो, अनि पत्रुस र अरू प्रेरितहरूलाई तिनीहरूले भने, “ए भाइ हो, हामीले के गर्ने?” पत्रुसले तिनीहरूलाई भने, “पश्चात्ताप गर, र तिमीहरूका पाप-क्षमाको निम्ति येशू ख्रीष्टको नाउँमा तिमीहरू प्रत्येकले बप्तिस्मा लेऊ, र तिमीहरूले पवित्र आत्माको वरदान पाउनेछौ। किनकि प्रतिज्ञा तिमीहरूका निम्ति, तिमीहरूका सन्तानको निम्ति र टाढ़ा-टाढ़ामा रहेका सबैका निम्ति हो, प्रत्येक जसलाई प्रभु हाम्रा परमेश्वरले बोलाउनुहुन्छ।” अरू धेरै कुराहरूद्वारा उनले तिनीहरूलाई गवाही दिए, र यसो भनेर अर्ती दिए, “यस दुष्ट पुस्ताबाट तिमीहरूले आफैलाई बचाओ।” तब जस-जसले उनको कुरा ग्रहण गरे तिनीहरूले बप्तिस्मा लिए, र त्यसै दिन प्राय: तीन हजार मानिसहरू तिनीहरूको संख्यामा थपिए। तिनीहरू प्रेरितहरूका शिक्षा, सङ्गति र रोटी भाँच्न र प्रार्थनामा भक्तिसाथ लागिरहन्थे। हरेकको हृदयमा भय उत्पन्न भयो, र प्रेरितहरूद्वारा धेरै अचम्मका काम र चिन्हहरू भए। विश्वास गर्नेहरू जति सबै एकसाथ बस्थे, र तिनीहरूका सबै थोक साझा थिए। तिनीहरूले आफ्ना सम्पत्ति र मालमत्ता बेचिकन जस-जसलाई जे-जे कुराको खाँचो पर्थ्यो सबैलाई ती बाँड़िदिन्थे। तिनीहरू एकै मनका भई मन्दिरमा एकसाथ उपस्थित हुन्थे, र घर-घरमा रोटी भाँच्थे, र तिनीहरू खुशी र शुद्ध हृदयले मिलीजुली खान्थे, र परमेश्वरको प्रशंसा गर्दै, र सबै मानिसहरूबाट शुभेच्छा पाउँदै बस्थे। उद्धार पाउनेहरूलाई प्रभुले दिनदिनै तिनीहरूको संख्यामा थपिदिनुहुन्थ्यो।
प्रेरित 2:37-47