२ तिमोथी 2:15-26
शर्माउन नपर्ने र सत्यको वचनलाई ठीकसँग प्रयोग गर्ने कामदारजस्तै आफूले आफूलाई परमेश्वरमा ग्रहणयोग्य तुल्याउने भरमग्दूर प्रयत्न गर। भक्तिहीन बकबक त्याग, किनकि यसले मानिसहरूलाई झन् बढ़ी भक्तिहीनतातिर लानेछ। तिनीहरूको बातचीत सइनको घाउजस्तो गाडिँदैजानेछ। तिनीहरूमध्ये हुमेनियस र फिलेतस हुन्। पुनरुत्थान अघि नै भइसकेको छ भनेर यिनीहरू सत्यबाट तर्किएका छन्। कति जनाको विश्वासलाई यिनीहरूले खलबल्याइरहेका छन्। तर परमेश्वरको दृढ़ जग खड़ै रहन्छ, र त्यसमा यो छाप लागेको छ, “प्रभुले आफ्ना जतिलाई चिन्नुहुन्छ,” र “प्रभुको नाउँ लिने जति हरेक अधर्मबाट टाढ़ै रहोस्।” ठूलो घरमा सुन र चाँदीका भाँड़ाहरू मात्र हुँदैनन्, तर काठ र माटोका पनि हुन्छन्, कुनै आदर र कुनै अनादरका निम्ति। जे कुरो अनादरको छ, यदि कसैले त्यसबाट आफूलाई शुद्ध पार्यो भने त्यो आदरका कामको लागि एउटा पात्र बन्नेछ, र घरका मालिकको निम्ति चोखो, उपयोगी, र कुनै पनि असल कामको निम्ति तयार रहनेछ। यसकारण जवानीका अभिलाषाहरू त्याग, र शुद्ध हृदयले प्रभुको नाउँ लिनेहरूका साथसाथै धार्मिकता, विश्वास, प्रेम र शान्तिको लक्ष्य राख। तर मूर्ख र बेसमझका सवाल जवाफलाई इन्कार गर— तिमी जान्दछौ यिनीहरूबाट झगड़ा हुन्छ। प्रभुको सेवक झगड़ालु हुनुहुँदैन, तर हरेकको लागि दयालु, योग्य शिक्षक, सहनशील, र नम्रतासाथ आफ्ना विरोधीहरूलाई सुधार्ने हुनुपर्दछ, र शायद परमेश्वरले तिनीहरूलाई पश्चात्ताप गर्ने, सत्यतालाई बुझ्ने मन दिनुहुनेछ, र तिनीहरू चेतना पाएर दियाबलसको पासोबाट उम्कनेछन्, जसले तिनीहरूलाई त्यसको इच्छाअनुसार चल्नलाई कैदी बनाएको छ।
२ तिमोथी 2:15-26