१ राजाहरू 18:36-42
बलिदानको बेलामा एलिया अगमवक्ताले अगि बढ़ेर प्रार्थना गरे, “हे परमप्रभु, अब्राहाम, इसहाक र इस्राएलका परमेश्वर, इस्राएलमा तपाईं परमेश्वर हुनुहुन्छ, र मचाहिँ तपाईंको दास हुँ, र यी सबै काम तपाईंको आज्ञाअनुसार मैले गरेको छु भनी आज थाहा होस्। मलाई जवाफ दिनुहोस्, हे परमप्रभु, जवाफ दिनुहोस्, र यी मानिसहरूले जानून्, कि तपाईं परमप्रभु नै परमेश्वर हुनुहुन्छ, र तपाईंले नै तिनीहरूका मन फर्काउँदैहुनुहुन्छ।” तब परमप्रभुको आगो बर्स्यो र आगोले बलिदान, दाउरा, ढुङ्गाहरू र माटो भस्म पार्यो, र खाड़लको पानी पनि सुकाइदियो। जब सबै मानिसहरूले यो देखे, तब तिनीहरू भूइँमा घोप्टो परी कराएर भने, “परमप्रभु उहाँ नै परमेश्वर हुनुहुँदोरहेछ! परमप्रभु, उहाँ नै परमेश्वर हुनुहुँदोरहेछ!” तब एलियाले तिनीहरूलाई हुकुम गरे, “बालका अगमवक्ताहरूलाई पक्र। एउटै पनि उम्कन नपाओस्।” तिनीहरूले उनीहरूलाई पक्रे, र एलियाले उनीहरूलाई तल कीशोन खोलामा ल्याउन लगाएर उनीहरूलाई मारे। अनि एलियाले आहाबलाई भने, “गएर खानपान गर्नुहोस्, किनभने म ठूलो झरी आइरहेको सुन्दैछु।” तब आहाब खानपान गर्न गए, तर एलियाचाहिँ कर्मेल डाँड़ाको टाकुरामा चढ़े, र त्यहाँ तिनले भूइँमा निहुरेर आफ्नो टाउको घुँड़ाहरूका बीचमा राखे।
१ राजाहरू 18:36-42