१ कोरिन्थी 1:10-17
अब भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्टको नाउँमा म तिमीहरूलाई आग्रह गर्दछु, कि तिमीहरू सबै एक-अर्कासँग सहमत होओ, र तिमीहरूको माझमा केही फूट नहोस्। तर तिमीहरू एकै मन र एकै विचारका होओ। किनकि, मेरा भाइ हो, तिमीहरूमा झगड़ा छ भन्ने कुरा क्लोएका परिवारहरूले मलाई खबर दिएका छन्। मेरो भनाईको तात्पर्य यही हो, तिमीहरू कसैले, “म पावलको”, कसैले “म अपोल्लोसको”, कसैले “म केफासको” र कसैले “म ख्रीष्टको हुँ” भन्छौ अरे। के ख्रीष्ट बाँड़िनुभएको छ र? के पावल तिमीहरूका निम्ति क्रूसमा टाँगियो र? अथवा के पावलको नाउँमा तिमीहरू बप्तिस्मा भयौ र? म परमेश्वरलाई धन्यवाद दिन्छु, कि मैले तिमीहरूमध्ये क्रिस्पस र गायसलाई बाहेक अरू कसैलाई पनि बप्तिस्मा दिएको छैनँ। यसकारण मेरो नाउँमा बप्तिस्मा भयौ भनी तिमीहरू कसैले भन्न पाउनेछैनौ। (हो, मैले स्तिफनासको परिवारलाई पनि बप्तिस्मा दिएँ। यस उप्रान्त, मैले अरू कसैलाई बप्तिस्मा दिएँ कि दिइनँ, त्यो मलाई थाहा छैन।) किनभने बप्तिस्मा दिन होइन, तर सुसमाचार प्रचार गर्न ख्रीष्टले मलाई पठाउनुभएको हो— सांसारिक बुद्धिको कुरामा होइन, नत्रता ख्रीष्टको क्रूसको शक्ति व्यर्थ हुनेछ।
१ कोरिन्थी 1:10-17