१ इतिहास 16:23-36
हे सारा पृथ्वीका मानिस हो, परमप्रभुको निम्ति गाओ, दिनहुँ उहाँले दिनुभएको उद्धारको घोषणा गर। जातिहरूका बीचमा उहाँका महिमाको घोषणा गर, सारा मानिसहरूका बीचमा उहाँका अचम्मका कामहरूको वर्णन गर। किनकि परमप्रभु महान् हुनुहुन्छ, उच्च प्रशंसाको योग्यका हुनुहुन्छ, सारा देवताहरूभन्दा बढ़ी उहाँकै डर राख्नुपर्छ। किनकि जातिहरूका सबै देवहरू केवल मूर्ति मात्र हुन्, तर परमप्रभुले त स्वर्ग सृष्टि गर्नुभयो। प्रताप र गौरव उहाँको सम्मुख छन्, उहाँको वासस्थानमा शक्ति र महिमा छन्। जाति-जातिका परिवार हो, परमप्रभुलाई चढ़ाओ, परमप्रभुलाई महिमा र शक्ति चढ़ाओ। परमप्रभुलाई उहाँको नाउँअनुसारको महिमा चढ़ाओ, भेटी लिएर उहाँको सामु आओ। उहाँका पवित्रताको वैभवमा परमप्रभुलाई दण्डवत् गर, हे सारा पृथ्वी, उहाँको सामु थरथरी होओ। संसार स्थिर रूपले स्थापित भएको छ, त्यसलाई हल्लाउन सकिँदैन। स्वर्ग आनन्दित होस्, र पृथ्वी रमाओस्, जाति-जातिहरूका बीचमा मानिसहरूले यसो भनेर प्रचार गरून्, “परमप्रभु नै राज्य गर्नुहुन्छ।” समुद्र र तिनमा भरिएका सबै थोकले हर्षनाद गरून्। खेत र त्यसमा भएका सबै कुरा उल्लसित होऊन्। तब जङ्गलमा भएका वृक्षहरू गाउनेछन्, तिनीहरू परमप्रभुको सम्मुख आनन्दले गाउनेछन्, किनकि उहाँ पृथ्वीको न्याय गर्न आउनुहुन्छ। परमप्रभुलाई धन्यवाद देओ, किनभने उहाँ भला हुनुहुन्छ, उहाँको प्रेम सदासर्वदा रहिरहन्छ। यसो भनेर कराओ, “हे हाम्रा उद्धारक परमेश्वर, हामीलाई बचाउनुहोस्। हामीलाई एकसाथ भेला गर्नुहोस्, र जाति-जातिहरूबाट छुटकारा दिनुहोस्, र हामी तपाईंको पवित्र नाउँमा धन्यवाद दिन सकौं, र तपाईंको प्रशंसामा हामी गर्व गरौं।” परमप्रभु इस्राएलका परमेश्वरको सदासर्वदै प्रशंसा होस्। तब सबै मानिसहरूले भने, “आमेन, र परमप्रभुको स्तुति होस्।”
१ इतिहास 16:23-36