YouVersion लोगो
खोज आइकन

तीतस 3:1-8

तीतस 3:1-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

शासकहरू र अधिकारीहरूका वशमा रहनू र उनीहरूका आज्ञाकारी हुनू, र कुनै पनि ईमानदार काममा तत्‍पर रहनू भनी तिनीहरूलाई याद दिलाइदेऊ। तिनीहरूले कसैको बदनामी नगरून्, झैँझगड़ाबाट अलग बसून्, नम्र होऊन्‌ र सबै मानिससँग भद्रताको व्‍यवहार गरून्‌। किनभने हामी पनि एक पल्‍ट मूर्ख, अटेरी, बरालिएका, किसिम-किसिमका कामवासना र सुख-विलासमा फसेका, द्वेष र डाहमा दिन बिताउने, मानिसबाट घृणित भएका, एउटाले अर्कालाई घृणा गर्ने थियौं। तर जब परमेश्‍वर हाम्रा मुक्तिदाताको भलाइ र प्रेम प्रकट भयो, तब हामी आफैले धार्मिकतामा गरेका कामबाट होइन, तर उहाँको आफ्‍नै कृपाअनुसार पुनर्जीवनको स्‍नानद्वारा र पवित्र आत्‍माद्वारा भएको नवीकरणबाट उहाँले हामीलाई मुक्ति दिनुभयो, जो उहाँले हाम्रा मुक्तिदाता येशू ख्रीष्‍टद्वारा हामीमाथि प्रशस्‍त गरी खन्‍याउनुभयो, ताकि उहाँको अनुग्रहले धर्मी ठहरिएर हामी अनन्‍त जीवनको आशा राख्‍ने उत्तराधिकारी बन्‍न सकौं। यो भनाइ पक्‍का छ। म चाहन्‍छु कि तिमीले यी कुराहरूमा जोड देऊ, ताकि तिनीहरू जसले परमेश्‍वरमा विश्‍वास राखेका छन्‌ आफूलाई असल काममा कायम राख्‍न होशियार रहून्, किनकि यी कुरा मानिसहरूका लागि उत्तम र लाभदायक छन्‌।

शेयर गर्नुहोस्
तीतस 3 पढ्नुहोस्

तीतस 3:1-8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

शासकहरू तथा अख्तियारवालाहरूको अधीनमा बस्‍नू; आज्ञाकारी हुनू, जे असल छ, सो गर्नू भनी तिनीहरूलाई सम्झना गराउनू। तिनीहरूले कसैको बदनामी नगरून्, मिलापमा रहून्, विचारशील होऊन् र सधैँ सबै मानिसहरूप्रति नम्रता देखाऊन्। कुनै समय हामी पनि मूर्ख, अनाज्ञाकारी, सबै किसिमका अभिलाषा र सुख-विलासद्वारा ठगिएका र सेवक बनाइएका थियौँ। हामी द्वेष र डाहमा जिउने, घृणा गरिएका र एक-अर्कालाई घृणा गर्नेहरू थियौँ। तर जब हाम्रा मुक्तिदाता परमेश्‍वरको दया र प्रेम देखा पर्‍यो, तब उहाँले आफ्ना कृपाको कारण हामीलाई बचाउनुभयो; हामीले गरेका असल कामहरूको कारणले होइन। उहाँले हामीलाई पुनरुत्थानको स्‍नान र पवित्र आत्माको नवीकरणद्वारा बचाउनुभयो, जुन आत्मालाई उहाँले हाम्रा मुक्तिदाता येशू ख्रीष्‍टद्वारा हामीमा प्रशस्त गरी खन्याउनुभयो। उहाँको अनुग्रहद्वारा हामीलाई धर्मी ठहराउनुभयो र अनन्त जीवनको उत्तराधिकारी हुनेछौँ भन्‍ने आशा दिनुभयो। यो भनाइ विश्‍वासयोग्य छ। तिमीले यी कुराहरूमा जोड दिएको म चाहन्छु, जसले परमेश्‍वरमा भरोसा राखेका छन्, तिनीहरूले जे असल छ, सो गर्नमा आफूलाई लगाऊन्। यी कुराहरू हरेकको लागि अति उत्तम र लाभदायक छन्।

शेयर गर्नुहोस्
तीतस 3 पढ्नुहोस्

तीतस 3:1-8 पवित्र बाइबल (NERV)

मानिसहरूलाई यी कुरा गर्न नभुल्नु, भनी भन, शासक र सरकारी अगुवाहरूको अधिकारमा रहनु, ती अधिकारीहरूको आज्ञा पालन गर्नु अनि सबै किसिमको राम्रो कामका निम्ति तयार बस्नु, कसैको विरूद्ध नराम्रो कुरा नगर्नु, अरूहरूसित शान्तिले बस्नु, अन्य मानिसहरू प्रति सहनशील अनि अति भद्र बन्नु। विश्वासीहरूलाई सबै मानिसहरूसित यसो गर्नु भनी भन। अघि-अघि हामी मूर्ख थियौं। हामीले आज्ञा पालन गरेनौं, हामी गलत थियौं अनि आफ्नो शरीरको वश थियौं, जसले नराम्रा कुरा गर्न चाहन्थे। हामीले दुष्टता अनि इर्ष्याको जीवन बाँच्यौं। मानिसहरूले घृणा गरेको जीवन बाँच्दै थियौं अनि हामीले तिनीहरूलाई घृणा गर्यौं। तर तब हाम्रा मुक्तिदाता परमेश्वले मानिसहरूको लागि उहाँको दया अनि प्रेम हामीलाई जनाउनु भयो। उहाँले हामीलाई आफ्नो दयाद्वारा नै बचाउनु भयो-परमेश्वर प्रति सही हुन्छौं भनी हामीले गरेका असल कामको कारणले होइन। उहाँले हामीलाई धोएर बचाँउनु भयो जसले हामीलाई नयाँ मानिस तुल्यायो। उहाँले हामीलाई पवित्र आत्माद्वारा नँया तुल्याएर हामीलाई बचाउनु भयो। परमेश्वरले त्यो पवित्र आत्मा हाम्रा मुक्तिदाता येशू ख्रीष्टद्वारा हामीमाथि पूर्णरूपले खन्याउनु भयो। उहाँको अनुग्रहले हामी धर्मी ठहरियौं। अनि परमेश्वरले हामीलाई अनन्त जीवन प्राप्त गर्न आत्मा दिनुभयो। हामी त्यसैको आशामा थियौं। त्यो शिक्षा साँच्चो हो। अनि म चाहन्छु कि मानिसहरूले यी कुराहरू बुझ्नु पर्छ भनी निश्चित गर। तब परमेश्वरका मानिसहरूले तिनीहरूको जीवनमा असल कार्य गर्न तिनीहरू स्वयंलाई अर्पण गर्नेछन् यी कुरा असल छन् अनि यी कुराहरूले मानिसहरूलाई असल बन्नुमा सहयोग दिनेछ।

शेयर गर्नुहोस्
तीतस 3 पढ्नुहोस्

तीतस 3:1-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

सरकार र सरकारी मानिसहरूका अधीनमा रहनुपर्छ भनी त्‍यहाँका मानिसहरूलाई सम्‍झाऊ। तिनीहरूले हरेक किसिमले भलो गर्न तयार रहून्। तिनीहरूले कसैको विरोध नगरून् अनि झगडा पनि नगरून् तर सबै मानिसहरूसँग सुधा र मिलनसार होऊन् किनभने हामीहरू आफैं पनि एक समय मूर्ख, अनाज्ञाकारी र भुलमा परेका थियौं। हामीहरू नराम्रा इच्‍छाहरू र सबै प्रकारका सुख-विलासका कमाराहरू थियौं। हामीहरू आफ्‍नो जीवन द्वेष र डाहमा बिताउँथ्‍यौं; हेलित थियौं र एक-अर्कालाई हेला गर्थ्‍यौं। तर जब हाम्रा मुक्तिदाता परमेश्‍वरको दया र मानिसप्रतिको प्रेम हामीले देख्‍यौं, उहाँले हामीलाई बचाउनुभयो। हामी आफैंले कुनै असल काम गरेको हुनाले त यसो भएको होइन। तर उहाँकै दयाअनुसार उहाँले नयाँजन्‍म दिने नुहाइ र पवित्र आत्‍माको जीवन बदलाउने शक्तिद्वारा हामीलाई बचाउनुभएको हो। मुक्ति दिनुहुने प्रभु येशू ख्रीष्‍टले गर्दा परमेश्‍वरले उही पवित्र आत्‍मा हामीमाथि प्रशस्‍त गरी खन्‍याउनुभयो। यसरी उहाँको अनुग्रहले हामी परमेश्‍वरका अघि ठीक ठहरिन सक्‍यौं अनि हामीले आशा राखेका अनन्त जीवनको पनि हकदार हुन सक्‍यौं। यो साँचो कुरो हो। परमेश्‍वरमा विश्‍वास गर्ने जतिले असल काम गर्न ध्‍यान देऊन् भनेर तिमीले जोड दिएको म चाहन्‍छु। यी असल काम गर्नु नै हाम्रा मानिसहरूलाई फाइदा दिने कुरो हो।

शेयर गर्नुहोस्
तीतस 3 पढ्नुहोस्