तीतस 1:1-16
तीतस 1:1-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमेश्वरको दास र येशू ख्रीष्टको प्रेरित पावलबाट, परमेश्वरका चुनिएकाहरूको विश्वास र भक्तिसँग मिल्दो तिनीहरूका सत्यको ज्ञान बढ़ाउनलाई, जुन विश्वास र ज्ञान अनन्त जीवनको आशामा स्थिर छन्, अनि कहिल्यै झूट नबोल्नुहुने परमेश्वरले अनन्त कालदेखि प्रतिज्ञा गर्नुभयो। परमेश्वर हाम्रा मुक्तिदाताको आज्ञाअनुसार मलाई जिम्मा लाएको प्रचारद्वारा उचित समयमा उहाँले आफ्नो वचन प्रकट गर्नुभयो। एउटै विश्वासमा भएको मेरो साँचो बालक तीतसलाई— परमेश्वर पिता र हाम्रा मुक्तिदाता येशू ख्रीष्टबाट अनुग्रह र शान्ति। यसैकारण मैले तिमीलाई क्रेटमा छोडें, कि मैले तिमीलाई अह्राएबमोजिम तिमीले त्यहाँ अपूरा कुराहरू पूरा गर्नू, र हरेक सहरमा एल्डरहरू नियुक्त गर्नू। एल्डर एउटै स्त्रीको पति र दोषरहित र यस्तो व्यक्ति होस्, जसका छोरा-छोरीहरू विश्वासी होऊन्, र चरित्रहीन र अनाज्ञाकारी नहोऊन्। किनभने परमेश्वरको कारिन्दा हुनुपर्ने हुनाले बिशपचाहिँ दोषरहित हुनुपर्छ। तिनी हठी वा झट्टै रीस गर्ने, वा मतवाला, वा झगड़ालु वा धनको लोभी हुनुहुँदैन, तर अतिथिसत्कार गर्ने, भलाइ प्रेमी, आफूलाई वशमा राख्ने, ईमानदार, पवित्र र संयमी हुनुपर्दछ। तिनलाई सिकाइएको विश्वासयोग्य वचनमा तिनी दह्रिलो बस्नुपर्छ, ताकि तिनले पक्का सिद्धान्तअनुसार शिक्षा दिन सकून्, र ती कुराहरूको खण्डन गर्नेहरूलाई झूटा साबित गर्न सकून्। किनभने धेरै जना मानिसहरू अरूका अधीनमा नबस्ने, बकवादी र छलीहरू हुन्छन्, झन् विशेष गरी खतनावालहरू त यस्तै हुन्छन्। यिनीहरूको मुख बन्द गर्नुपर्छ, किनकि तिनीहरूले नीच लाभको लागि सारा परिवारलाई खलबल्याइराखेका छन्। यस्तो शिक्षा तिनीहरूले दिनुहुँदैनथियो। तिनीहरूमध्येका एक जना, तिनीहरूकै अगमवक्ताले भनेका छन्, “क्रेटका मानिसहरू सधैँ झूट बोल्ने, दुष्ट पशुहरू र अल्छे घिचुवाहरू हुन्छन्।” यो गवाही साँचो हो। त्यसैकारण तिनीहरूलाई कड़ासित हप्काऊ, ताकि तिनीहरू विश्वासमा पक्का होऊन्, र सत्यतालाई इन्कार गर्ने मानिसहरूका आज्ञा र यहूदी दन्त्यकथामा ध्यान नलगाऊन्। शुद्धहरूलाई सबै थोक शुद्धै हुन्छन्, तर अशुद्ध र अविश्वासीहरूलाई चाहिँ केही कुरा पनि शुद्ध हुँदैन, तर तिनीहरूका मन र विवेकसमेत भ्रष्ट भएका हुन्छन्। तिनीहरू परमेश्वरलाई चिनेका छौं भनी भान त पार्छन्, तर तिनीहरूले आफ्ना कामद्वारा उहाँलाई इन्कार गर्दछन्। तिनीहरू घृणित र अनाज्ञाकारी हुन्छन्, र कुनै पनि असल कामको निम्ति योग्यका हुँदैनन्।
तीतस 1:1-16 नेपाली समकालीन संस्करण (NCV)
परमेश्वरको सेवक र येशू ख्रीष्टको प्रेरित पावलबाट—परमेश्वरका चुनिएकाहरूको विश्वासलाई बढाउन तथा भक्तिमा डोर्याउने सत्यको ज्ञानको लागि, अनन्त जीवनको आशामा अडिएको त्यो विश्वास र ज्ञान, जसलाई झूट नबोल्नुहुने परमेश्वरले सनातनदेखि नै प्रतिज्ञा गर्नुभएको थियो, अनि मलाई हाम्रा मुक्तिदाता परमेश्वरको आज्ञाद्वारा सुम्पनुभएको प्रचारद्वारा उहाँले आफ्नो वचनलाई तोक्नुभएको समयमा प्रकाशमा ल्याउनुभयो। एउटै विश्वासमा भएको मेरो साँचो छोरो तीतसलाई: परमेश्वर पिता र हाम्रा मुक्तिदाता ख्रीष्ट येशूमा अनुग्रह र शान्ति होस्। मैले तिमीलाई क्रेटमा छोडेको कारण अधुरो कामहरू पूरा गर्न, अनि मैले तिमीलाई अह्राएबमोजिम प्रत्येक शहरमा मण्डली प्रधानहरू नियुक्त गर्नलाई हो। मण्डलीका प्रधान निर्दोष, एउटै पत्नीका पति, जसका छोराछोरीहरू विश्वासयोग्य होऊन्, अनि कामुकता र अनाज्ञाकारीताको दोष नलागेका होऊन्। मण्डली अध्यक्षमाथि परमेश्वरको कामको अभिभारा सुम्पिएको हुनाले तिनी निर्दोष, अहङ्कार नगर्ने, चाँडै नरिसाउने, मद्यपान नगर्ने, झगडा नगर्ने, नीच कमाइको लोभ नगर्ने हुनुपर्छ। बरु तिनी पाहुनासत्कार गर्ने, असल मन पराउने, आत्मसंयमी, सोझो, भक्तिमा लागेको र अनुशासित हुनुपर्छ। तिनलाई सिकाइएका विश्वासयोग्य शिक्षामा तिनी दृढ रहून्; ताकि अरूलाई यस शिक्षाले उत्साहित पार्न सकून् र यसको विरोध गर्नेहरूलाई खण्डन गर्न सकून्। किनकि धेरै मानिसहरू विद्रोही, अर्थहीन कुरै मात्र गर्ने र छलीहरू हुन्छन्; खासगरी खतना समर्थकहरू नै यस्तै हुन्छन्। तिनीहरूले बेइमानीसाथ लाभ उठाउनको लागि गर्न नहुने कुराहरू सिकाइकन सारा परिवारहरूलाई नष्ट पारिरहेका हुनाले तिनीहरूलाई चूप गराउनैपर्छ। तिनीहरूका अगमवक्ताहरूमध्ये एक जनाले त यसो पनि भनेका छन्, “क्रेटकाहरू सधैं झूटा, दुष्ट पशुहरू र अल्छे घिचुवाहरू हुन्।” यो साक्षी साँचो हो। यसकारण तिनीहरूलाई जोडसित हप्काऊ; ताकि तिनीहरू विश्वासमा दह्रो बन्न सकून्, र यहूदी दन्त्यकथाहरूतिर अथवा सत्यतालाई अस्वीकार गर्ने ती मानिसहरूका आज्ञाहरूतिर ध्यानै नदिऊन्। शुद्ध हृदय भएकाहरूका लागि सबै थोकहरू शुद्ध हुन्छन्; तर जो भ्रष्ट छन् र विश्वास गर्दैनन्, तिनीहरूका लागि केही पनि शुद्ध हुँदैन। वास्तवमा तिनीहरूका मन र विवेक दुवै भ्रष्ट भएका हुन्छन्। तिनीहरूले परमेश्वरलाई जान्दछौं भनी दाबी त गर्छन्, तर आफ्ना कामले भने उहाँलाई इन्कार गर्छन्। तिनीहरू घृणित, अटेरी र कुनै असल काम गर्ने योग्यका छैनन्।
तीतस 1:1-16 पवित्र बाइबल (NERV)
परमेशवरको सेवक र येशू ख्रीष्टका प्रेरित पावलको प्रणाम। परमेश्वरले छानेका मानिसहरूको विश्वासलाई सहायता गर्नु अनि मानिसहरूलाई सत्य बताउनुको निम्ति मलाई पठाइएको हो। परमेश्वरको सेवा कसरी गर्ने त्यो सत्यले मानिसलाई सिकाउँछ। त्यो विश्वास र त्यो ज्ञान अनन्त जीवनको हाम्रो आशाबाट उत्पन्न हुन्छ। त्यो जीवन दिने वचन परमेश्वरले हामीलाई अनादि कालमै दिनु भएको हो परमेश्वर कहिल्यै झूटो बोल्नु हुँदैन। ठीक समयमा परमेश्वरले संसारलाई त्यो जीवन बारे जान्न दिनुभयो। परमेश्वरले त्यसलाई प्रचारद्वारा जान्न दिनु भयो। त्यो काम परमेश्वरले मलाई सुम्पनु भयो। मैले त्यो हाम्रो मुक्तिदाता परमेश्वरको आदेशमा प्रचार गरें। तीतसलाई प्रणाम। हाम्रो साझा विश्वासमा तिमी मेरा साँच्चो छोरा हौ। पिता परमेश्वर र हाम्रा मुक्तिदाता ख्रीष्ट येशूबाट शान्ति र अनुग्रह रहोस्। मैले तिमीलाई क्रेटमा यसकारणले छाडें कि त्यहाँ बाँकी रहेको काम पूर्ण होस्। अनि हरेक शहरमा धर्म-गुरूहरूलाई पनि नियुक्त गर्नु भनी मैले छाडें। धर्म-गुरू यस्तो मानिस हुनुपर्छ जो गलत जीवन बिताइरहेको अभियुक्त नहोस्। उसको एउटै मात्र पत्नी हुनु पर्छ। उसका केटा-केटीहरू विश्वासी हुनु पर्छ, असभ्य जीवन बाँचेको वा आज्ञाकारी नभएको अभियुक्त हुनु हुँदैन। धर्मगुरूको कार्य परमेश्वर प्रति कामको ख्याल राख्नु हो। यसर्थ कुनै गलत कर्मको निम्ति उनी अभियुक्त हुनु हुँदैन। उनी घमण्डी अनि स्वार्थी हुनु हुँदैन वा झट्ट रिसाउने हुनु हुँदैन। ऊ पियक्कड हुनु हुँदैन। ऊ झगड़ालु अनि ठगेर धनी हुने आकांक्ष भएको हुनु हुँदैन। धर्म-गुरूले मानसिहरूलाई आफ्नो घरमा लगेर सहायता गर्नु पर्छ। उसले जे असल छ त्यसलाई प्रेम गर्नु पर्छ, ज्ञानी हुनु पर्छ, सही अनि पवित्र जीवन जिउनु पर्छ। उसित आत्मा संयम हुनु पर्छ। धर्म-गुरूले हामीले सिकाएको सत्य विश्वासपूर्वक मान्नु पर्छ। ऊ, सही अनि सत्य शिक्षाको उपयोगद्वारा मानिसहरूलाई सहायता गर्न समर्थ हुनुपर्छ अनि मानिसहरू जो सत्य शिक्षाको विरूद्ध छन् तिनीहरू गलत छन् भनी प्रमाणित गर्न समर्थ हुनु पर्छ। आज्ञापालन नगर्ने धेरै छन्। तिनीहरू व्यर्थका कुराहरू गर्छन् अनि मानिसहरूलाई गलत तरिकाले अगुवाई गर्छन्। म विशेष गरी तिनीहरूका बारेमा कुरा गर्दैछु जो यहूदी मतबाट बाहिर भएका छन्। धर्म-गुरूले मानिसहरू भूलमा छन् भनी देखाउनु पर्छ अनि तिनीहरूलाई त्यस्तो व्यर्थका कुराबाट रोक्नु पर्छ। तिनीहरूले नसिकाउनु पर्ने कुराहरू सिकाएर त्यस्ता मानिसहरूले ठग्नु अनि पैसा कमाउनु मात्र तिनीहरू त्यस्तो शिक्षा दिन्छन्। तिनीहरूका आफ्नै एकजना देशवासी जो तिनीहरूका अगमवक्ताले भने, “क्रेटका मानिसहरू सधैँ झूटो बोल्छन्। ती जङ्गली पशुहरू जस्तै छन् अनि तिनीहरू अल्छे छन्, तिनीहरूले कसरी खानु त्यो मात्र जानेका छन्।” अगमवक्ताले भनेका ती कुराहरू ठीक हुन्, यसर्थ तिमीले तिनीहरूलाई देखाउनु पर्छ कि तिनी गलत छन्। तिमी तिनीहरूसित कठोर बन्नुपर्छ जसमा कि तिनीहरूले सत्य विश्वास अनुशरण गर्नेछन्। तब तिनीहरूले यहूदी कथाहरू सुन्ने अनि ती मानिसहरूका आदेश मान्ने छैनन् जसले सत्यलाई तुच्छ सम्झन्छन्। शुद्ध हृदय हुनेहरूलाई सबै कुरा शुद्धै हुन्छ। तर तिनीहरूका निम्ति केही पनि सुद्ध हुँदैन। साँच्चै, तिनीहरूको विचारै खराब भइसकेको छ अनि उचित के हो त्यो चिन्ने तिनीहरूको शक्ति नष्ट भइसकेको छ। तिनीहरू परमेश्वरलाई जान्दछौं भनेर दावी गर्छन्, तर तिनीहरूको कर्मद्वारा यो स्पष्ट हुन्छ कि तिनीहरू उहाँलाई मान्दैनन्। तिनीहरू भयंकर मानिसहरू हुन्, तिनीहरू अनाज्ञाकारी छन् अनि तिनीहरू कुनै किसिमको राम्रो कामको निम्ति लायकका छैनन्।
तीतस 1:1-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
म पावल परमेश्वरकै कमारो र ख्रीष्ट येशूकै प्रेरित यो पत्र लेख्दै छु। परमेश्वरले मलाई छान्नुभयो र उहाँका चुनिएकाहरूको विश्वास बढाउन पठाउनुभयो र परमेश्वरलाई मनपर्दो जीवनसँग मिल्ने सत्यतिर तिनीहरूलाई पुर्याउन पनि मलाई खटाउनुभयो। यो सत्यचाहिँ अजम्मरी जीवनको आशामा अडिएको छ। कहिले पनि झूटो नबोल्ने परमेश्वरले सृष्टि हुनुभन्दा अघि नै हामीलाई यो जीवन दिन्छु भनेर प्रतिज्ञा गर्नुभएको थियो। अनि ठीक समयमा नै उहाँले यो आफ्नो सुसमाचारमा प्रकट गर्नुभयो। यही सुसमाचार सुनाउने जिम्मा हामीलाई मुक्ति दिनुहुने परमेश्वरको हुकुमअनुसार मलाई दिइयो। मसँग एकै किसिमको विश्वासमा भएको मेरो साँचो छोरा तीतसलाई यो पत्र लेख्दै छु। परमेश्वर पिता र हामीलाई मुक्ति दिनुहुने ख्रीष्ट येशूले तिमीलाई अनुग्रह र शान्ति देऊन्। त्यहाँ बाँकी रहेका काम पूरा गर्न तिमीलाई क्रेटमा छोडेको हुँ। हरेक सहरमा धर्म-गुरुहरू नियुक्त गर्न मैले तिमीलाई त्यहाँ छोडें। मण्डलीका धर्म-गुरुहरूलाई कसैले पनि दोष लाउन नसकोस्, एउटै मात्र पत्नी भएका, नराम्रा चालचलन नभएका र तिनका छोरा-छोरीहरू पनि भनेको मान्ने र विश्वासी हुनुपर्छ। मण्डलीको अगुवाले परमेश्वरको कामको जिम्मा लिएका हुन्छन्। यसकारण तिनी कुनै दोष नभएका मानिस हुनुपर्दछ। तिनी आफूखुसी गर्ने, छिट्टै रिसाउने, मात्तिने, मारपिट गर्ने र माग्ने लोभी हुनुहुँदैन। तिनी पाहुनाहरूको सत्कार गर्ने र असल काम, राम्रा कुरा मन पराउने अनि होश राखेर काम गर्ने, न्यायी, पवित्र र आफैंलाई वशमा राख्ने हुनुपर्दछ। आफूले पाएको साँचो शिक्षामा लागिरहने र अरूलाई पनि यो शिक्षा दिएर साहस दिन सक्ने हुनुपर्दछ। यो शिक्षा हामीले सिकाएबमोजिम हुनुपर्छ अनि यसको विरोध गर्नेहरूको गल्तीलाई पनि देखाइदिन सक्नेछौ। किनभने धेरै मानिसहरू पाखण्डी, व्यर्थको कुरा गर्ने, ढाँट्नेहरू हुन्छन्। यस्ताहरूमध्ये त खास गरी खतना गर्नुपर्छ भन्नेहरू छन्। तिनीहरूको मुखमा बुजो नलगाई हुँदैन किनभने तिनीहरूले त सिकाउनै नहुने कुराहरू सिकाएर पूरै घर-परिवारमा भाँड-भैलो मच्चाएका छन्। खालि पैसा कमाउनलाई नै तिनीहरूले यसो गरेका हुन्। क्रेटका एक जना ज्ञानी मानिसले यसरी भनेका छन्, “क्रेटका मानिसहरू सबै झूटो बोल्ने, दुष्ट पशु र अल्छी घिचुवाहरू हुन्।” यो कुरा साँचो हो। यसकारण तिनीहरूलाई बेस्सरी हप्काऊ र तिनीहरूमा पक्का विश्वास आउन सकोस्। अब यहूदीका दन्त्यकथा र सत्यलाई नमान्ने मानिसको कुराहरूलाई सुन्दै नसुन्नू। शुद्ध मानिसहरूका लागि सबै थोक शुद्धै छन्। तर अशुद्ध र विश्वास नगर्नेका लागि भने केही कुरा पनि शुद्ध छैनन् किनभने तिनीहरूका मन र चित्त नै अशुद्ध छन्। तिनीहरूले परमेश्वरलाई चिनेको छु भनेर दाबी गर्छन्, तर तिनीहरूका कामले चाहिँ परमेश्वरलाई इन्कार गर्छ भनी देखाउँछ। तिनीहरू त घिनलाग्दा, अट्टेरीहरू छन् र कुनै पनि असल काम गर्न लायकका छैनन्।