रूथ 4:1-12
रूथ 4:1-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अब बोअज सहरको मूल ढोकामा गएर बसेका थिए। अनि केही समयपछि तिनले कुरा गरेका ती नजिकका मोल तिरेर छुटकारा दिने नातेदार त्यहीँबाट भएर आए। बोअजले तिनको नाउँ काढ़ेर तिनलाई बोलाई भने, “यता आएर बस्नुहोस्।” तिनी आएर बसे। तब बोअजले सहरका दश जना धर्म-गुरुहरूलाई रोकेर बस्ने बिन्ती गरे। अनि तिनीहरू त्यहाँ बसे। तब बोअजले ती नजिकका नातेदारलाई भने, “हाम्रा दाजु एलीमेलेकको एक टुक्रा जमिनको विषयमा तपाईंलाई यादै होला। मोआबीहरूको देशबाट नाओमी फर्केर आएकी छिन्, र त्यो बेच्न तिनी चाहन्छिन्। यी मेरा जातिका धर्म-गुरुहरूका समक्षमा तपाईंले त्यो लिनुहोस् भनी तपाईंसित यो कुरा उठाउने मैले विचार गरेको छु। नजिकको नातेदारको कर्तव्य तपाईं गर्नुहुन्छ भने गर्नुहोस्, तर गर्नुहुन्न भने मलाई भन्नुहोस्, र मलाई थाहा लाग्नेछ। किनभने तपाईंपछिको नजिकको नातेदार म हुँ।” तिनले भने, “नजिकको नातेदारको काम म गर्नेछु।” तब बोअजले भने, “नाओमी र मोआबी रूथबाट त्यो जमिन लिएको दिन मरेका मानिसको पैतृक-सम्पत्तिसँग तिनको नाउँ कायम राख्नलाई ती मरेका मानिसकी पत्नी पनि तपाईंले प्राप्त गर्नुहुनेछ।” यो सुनेर ती नजिकको नातेदारले भने, “म आफै यो काम गर्न सक्दिनँ, किनभने मेरो आफ्नै पैतृक-सम्पत्ति गुमाउने मलाई डर छ। यसर्थ मैले गर्नुपर्ने नजिकको नातेदारको काम तपाईंले गर्नुहोला। म यो काम गर्न सक्दिनँ।” प्राचीन समयमा जग्गाजमिन मोल तिरेर लिँदा वा सट्टापट्टा गर्दा, दिने मानिसले आफ्नो जुत्ता फुकालेर लिने मानिसलाई दिने चलन थियो। इस्राएलमा पक्का गर्ने रीति यस्तै थियो। यसैले ती नजिकको नातेदारले बोअजलाई भने, “तपाईंले आफ्नै निम्ति त्यो किन्नुहोस्।” अनि तिनले आफ्नो जुत्ता फुकाले। तब बोअजले ती धर्म-गुरुहरू र अरू सबै मानिसहरूलाई भने, “मैले आजको दिन एलीमेलेक अनि महलोन र किल्योनका जे-जति छन् सो सबै नाओमीको हातबाट प्राप्त गरेको कुरामा तपाईंहरू साक्षी हुनुहुन्छ। यसबाहेक महलोनकी पत्नी मोआबी रूथलाई पनि ती मरिसकेका मानिसको पैतृक-सम्पत्तिसँग तिनको नाउँ कायम राख्नलाई तिनका नातेदारहरूका बीचबाट र सहरको खाताबाट तिनको नाउँ नमेटिओस् भनेर मैले आफ्नी पत्नी हुनलाई प्राप्त गरेको छु। तपाईंहरू आजको दिन साक्षी हुनुहुन्छ।” तब धर्म-गुरुहरू र मूल ढोकामा हुने सबैले भने, “हामी साक्षी छौं। तपाईंको घरमा आउने यी स्त्रीलाई परमप्रभुले इस्राएलको घराना निर्माण गर्ने राहेल र लेआजस्तै तुल्याऊन्। एप्रातामा तपाईंको कदर होस्, र बेथलेहेममा तपाईंको नाउँ प्रसिद्ध रहोस्। अनि परमप्रभुले तपाईंलाई यस युवतीबाट दिने सन्तानको घराना तामारले यहूदाबाट जन्माएका छोरा फारेसको घरानाजस्तै होस्।”
रूथ 4:1-12 पवित्र बाइबल (NERV)
बोअज त्यो स्थानमा गए जहाँ शहरद्वारको नजिक मानिसहरू भेला हुन्छन्। बोअजका नजिकको आफन्त पार नभएसम्म बोअज त्यहाँ बसे। बोअजले उनीहरूलाई भने, “यहाँ आऊ साथी! यहाँ बस।” तब बोअजले केही गवाहीहरू भेला गरे। बोअजले शहरका दशजना अगुवाहरूलाई भेला गरे। तिनले उनीहरूलाई भने, “यहाँ बस्नु होस्।” यसर्थ तिनीहरू बसे। तब बोअजले त्यो नजिकको आफन्तलाई भने, “नाओमी मोआबको खेतहरूबाट फर्कि आएकी छिन्। उनले त्यो भूमि बिक्री गर्दै छिन् जो हाम्रो आफन्त एलीमेकको हो। तिमीलाई यहाँ बसेका मानिसहरू अनि मेरा मानिसहरू बूढा पाका अगुवाहरूका समक्ष भन्ने मैले निश्चय गरें। यदि तिमी त्यो भूमिलाई फर्काउन चाहन्छौ भने तिमी त्यो फर्काउ यदि त्यो भूमि तिमी फिर्ता लिन चाहँदैनौ भने मलाई भन। म जान्दछु कि तिमीपछि त्यो भूमिलाई ऋण मुक्त तुल्याउनु सक्ने अर्को व्यक्ति मै हुँ। यदि तिमी त्यो भूमिलाई किनेर फिर्ता लिन चाहँदैनौ भने म किन्ने छु।” तब बोअजले भने, “यदि तिमीले त्यो भूमि नाओमी बाट किन्यौ भने, तिमीले त्यो मृत व्यक्तिकी पत्नी, मोआबी स्त्री रूथ पनि पाउने छौ। जब रूथको नानी हुन्छ त्यो नानीले त्यो भूमि पाउनेछ। त्यसरी त्यो मृत मानिसको नाम परिवारमा रहेनछ।” त्यो नजिकको आफन्तले उत्तर दिए, “म त्यो भूमि फिर्ता गर्न सक्तिन। त्यो भूमि मेरो हुनुपर्छ, तर म त्यो किन्न सक्तिन। यदि मैले त्यो किनेभने मैले मेरो आफ्नै भूमि गुमाउन सक्छु। तपाईंले मेरो पुनः किन्ने अधिकार लिन सक्नु हुनेछ। यसकारण तपाईंले त्यो भूमि किन्नु, होस् किनभने म यो किन्न सत्तिनँ।” (धेरै समय अघि इस्राएलमा जब मानिसहरूले सम्पत्ति किन्थे वा ऋण मुक्त गर्थे, एक व्यक्तिले आफ्नो जुत्ता खोल्थ्यो अनि अर्को व्यक्तिलाई दिन्थ्यो। त्यो तिनीहरूको किन बेचको प्रमाण हुन्थ्यो।) यसर्थ त्यो नजिकको आफन्तले भने, “त्यो भूमि किन।” अनि त्यसपछि त्यो नजिकको आफन्तले आफ्नो जुत्ता खोले र बोअजलाई दिए। तब बोअजले अगुवाहरू अनि समस्त मानिसहरूलाई भने, “तपाईंहरू आज साक्षी हुनुहुन्छ कि नाओमीबाट हरेक चीज म किनी रहेछु। जो एलीमेलेक, किल्योन अनि महलोनको थियो। म मेरी पत्नी बनाउनका निम्ति, महलोनकी विधवा पत्नी, रूथलाई पनि किनी रहेछु। म यसो गर्दैछु ताकि त्यो मृत मानिसको सम्पत्ति उसको आफ्नै परिवारमा रहन्छ। यस प्रकारले मृत मानिसको नाउँ आफ्ना परिवार अनि आफ्नो देशबाट अलग हुनेछैन। आज तपाईंहरू यसको साक्षी हुनुहुन्छ।” यसर्थ समस्त मानिसहरू अनि अगुवाहरू जो शहरद्वारको छेउमा थिए, साक्षी भए। तिनीहरूले भने, “मेरो परमप्रभुले यो स्त्रीलाई, जो तिम्रो घरमा आउँदै छिन्, तिनलाई राहेल अनि लेआ जस्तै तुल्याउन्। जसले इस्राएलको वंश निर्माण गरे। तिमी इस्राएलमा शक्तिशालि बन। बेतलेहेममा प्रसिद्ध बन, तामारले यहूदाका छोरा पेरेसलाई जन्म दिईन, अनि तिनको परिवार महान बन्यो। त्यही प्रकारले परमप्रभुले तिमीलाई रूथद्वारा धेरै-धेरै सन्तानहरू दिउन्। अनि तिम्रो परिवार उहाँको जस्तै महान बनोस्।”
रूथ 4:1-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
बोअज गएर सहरको मूलढोकानिर सभा हुने ठाउँमा बसे। त्यहाँ एलीमेलेकका सबैभन्दा नजिकका ती नातेदार आए, जसको बारेमा बोअजले कुरा गरेका थिए। बोअजले उनलाई बोलाएर भने, “यहाँ आएर बस न,” उनी बोअजको छेउमा गएर बसे। बोअजले सहरका दश जना बुढापाका पुरुषहरूलाई बोलाएर त्यहाँ बस्न लगाए। सबै जना बसेपछि उनले आफ्ना नातेदारलाई भने, “अब नाओमी मोआबबाट फर्किआएकी छिन्। एलीमेलेकको खेतबारी उनी बेच्न चाहन्छिन्, मेरो विचारमा यो कुरा तिमीले जान्नु उचित छ। त्यो खेतबारी तिमी किन्न चाहन्छौ भने यी यहाँ बसेका मानिसहरूका सामु त्यो किनिहाल; तर तिमी त्यो खेतबारी किन्न चाहँदैनौ भने सो भनिदेऊ, कारण त्यो जमिन किन्ने पहिलो हकदार तिमी हौ, त्यसपछि म।” ती मानिसले भने, “खेतबारी म किन्नेछु।” बोअजले भने, “ठीकै छ, तिमीले नाओमीबाट त्यो खेतबारी किन्छौ भने त्यो मोआबी स्त्री रूथलाई पनि विवाह गर्नुपर्नेछ। त्यस खेतबारी एलीमेलेककै परिवारसँग रहनेछ।” त्यस मानिसले भने, “त्यसो हो भने म मेरो हक छोडिदिन्छु, कारण मेरो बालबच्चाले त्यो जमिनमाथि अधिकार पाउने रहेनछन्, जमिन तिमी किन। म किन्दिनँ।” ती दिनमा जमिन वा सम्पत्ति किनबेच वा सट्टापट्टा गर्दा बेच्नेले आफ्नो जुत्ता खोलेर किन्नेलाई दिने चलन थियो। व्यापार पक्का भएको कुरा यसरी इस्राएलीहरू प्रकट गर्थे। जब त्यस मानिसले बोअजलाई “जमिन तिमी किन,” भने, उनले आफ्नो जुत्ता खोलेर बोअजलाई दिए। तब बोअजले त्यहाँ भएका बुढापाका र अरू मानिसहरूलाई भने, “तपाईंहरू सबै मेरा साक्षी हुनुहुन्छ, मैले आज नाओमीदेखि एलीमेलेक र उसका छोराहरू महलोन र किल्योनका जे-जति छन्, ती सबै किनेको छु। साथै मोआबी रूथ महलोनकी विधवा मेरी स्वास्नी हुनेछे। त्यसो हुँदा मर्नेको परिवारसँग उसको धन-सम्पत्ति रहनेछ अनि उसको निज सहरमा उसको वंश रहिरहनेछ। आज तपाईंहरू यी सबै कुराका साक्षी हुनुहुन्छ।” ती बुढा प्रधानहरू र मानिसहरूले भने, “हो, हामी साक्षी छौं। सन्तानहरूले याकूबको घर भरिभराउ गरिदिने राहेल र लेआजस्तै तिम्री स्वास्नीलाई परमप्रभुले बनाऊन्। एप्राता वंशमा तिमी हुनेखाने बन र बेथलेहेममा तिम्रो नाम रहोस्। यो युवतीबाट तिमीलाई परमेश्वरले दिनुहुने सन्तानले तिम्रो परिवारलाई तामारका यहूदाबाट जन्मेको छोरो फारेसको परिवारजस्तै सुखी बनाओस्।”