YouVersion लोगो
खोज आइकन

रोमी 9:10-16

रोमी 9:10-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

त्‍यसो मात्र होइन, जब रिबेकाले एउटै पुरुष हाम्रा पुर्खा इसहाकबाट गर्भधारण गरिन्, र जुम्‍ल्‍याहा बालकहरू जन्‍मनु अघिबाटै, तिनीहरूले कुनै असल वा खराब गर्न अघि नै, कर्मले होइन तर उहाँको बोलावटअनुसार परमेश्‍वरका चुनाउको उद्देश्‍य ठहरिओस्‌ भनेर रिबेकालाई यसै भनिएको थियो, “जेठोले कान्‍छाको सेवा गर्नेछ।” जसो लेखिएको छ, “याकूबलाई मैले प्रेम गरें, तर एसावलाई तुच्‍छ ठानें।” अब हामी के भनौं? के परमेश्‍वरमा अन्‍याय छ त? कदापि होइन! उहाँ मोशालाई भन्‍नुहुन्‍छ, “जसमाथि म कृपा गर्न चाहन्‍छु, त्‍यसलाई म कृपा गर्नेछु, र जसलाई म टिठ्याउन चाहन्‍छु, त्‍यसलाई म टिठाउनेछु।” यसकारण मानिसको इच्‍छा वा प्रयासमाथि यो निर्भर गर्दैन, तर परमेश्‍वरको कृपामाथि निर्भर गर्दछ।

शेयर गर्नुहोस्
रोमी 9 पढ्नुहोस्

रोमी 9:10-16 नेपाली समकालीन संस्करण (NCV)

यति मात्र होइन, त्यही समयमा रिबेकाले हाम्रा पुर्खा इसहाकद्वारा सन्तानहरू गर्भधारण गरेकी थिइन्। जुम्ल्याहा छोराहरू जन्मनअघि तथा उनीहरूले कुनै असल वा खराब काम गर्न अघि नै चुनावमा परमेश्‍वरको उद्देश्य पूरा होस् भन्‍ने अभिप्रायले, कामद्वारा होइन, तर बोलावट गर्नेको इच्छा पूरा होस् भनेर रिबेकालाई यो बताइयो, “जेठोले कान्छोको सेवा गर्नेछ।” यस्तो लेखिएको छ: “याकोबलाई मैले प्रेम गरें, तर एसावलाई घृणा गरें।” अब हामीले के भनौं त? के परमेश्‍वर अन्यायी हुनुहुन्छ? कदापि होइन! किनकि उहाँले मोशालाई भन्‍नुहुन्छ; “जसलाई म कृपा गर्न चाहन्छु, म कृपा गर्नेछु, जसलाई म दया देखाउन चाहन्छु, म दया देखाउनेछु।” यसकारण यो कुरा मान्छेको चाहना र प्रयासमा निर्भर छैन, तर परमेश्‍वरको कृपामा निर्भर छ।

शेयर गर्नुहोस्
रोमी 9 पढ्नुहोस्

रोमी 9:10-16 पवित्र बाइबल (NERV)

अनि यति मात्र होइन। रिबेकाको पनि छोराहरू थिए। अनि ती छोराहरूका एउटै पिता थिए। उनी हाम्रा पिता पूर्खा इसहाक थिए। तर दुइजना छोराहरू जन्मनू भन्दा अघाडी परमेश्वरले रिबेकालाई भन्नुभयो, “ठूलो छोराले सानालाई सेवा गर्नेछ।” केटाहरू जन्मनु भन्दा र तिनीहरूले राम्रो वा नराम्रो कुनै काम गर्न भन्दा अगाडी यसो भनिएको थियो। आफूले चुनेको केटो आफ्नो योजनाकै आधारमा होस् भन्नालाई परमेश्वरले यसो भन्नुभएको थियो। परमेश्वरकै चाहनाले उनी चुनिएका थिए तर ती केटाहरूले केही गरेको कारणले होइन। त्यो परमेवरको इच्छा थियो। जस्तो धर्मशास्त्रमा भनिएको छ, “मैले याकूबालाई प्रेम गरें तर एसावलाई घृणा गरें।” यसकारण यस विषयमा हामीले के भन्नुपर्छ? के परमेश्वरमा कुनै अन्याय छ? निश्र्चय छैन। परमेश्वरले मोशालाई भन्नुभयो, “जसलाई म कृपा दर्शाउनु चाहन्छु उसैलाई कृपा दर्शाउँछ। अनि जसलाई सहानुभूति दर्शाउनु चाहन्छु उलाई सहानुभूति दर्शाउछु।” यसैले हरेक कुरो परमेश्वरको कृपामा निर्भर छ, अनि मानिसको इच्छामा वा प्रयासमा निर्भर छैन।

शेयर गर्नुहोस्
रोमी 9 पढ्नुहोस्

रोमी 9:10-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

यति मात्र होइन, रिबेकाले पनि हाम्रा पुर्खा इसहाकबाटै जुम्‍ल्‍याहा छोराहरू जन्‍माइन्। तर जुम्‍ल्‍याहाहरू पेटमै हुँदा र तिनीहरूले राम्रो-नराम्रो कुनै काम गर्नुअघि नै परमेश्‍वरले जुम्‍ल्‍याहाहरूमा एक जनालाई चुनेर रिबेकालाई भन्‍नुभयो, “दाजुचाहिँले भाइको सेवा गर्नेछ।” परमेश्‍वरले भनेझैँ धर्मशास्‍त्रमा लेखिएको छ, “मैले याकूबलाई माया र एसावलाई घृणा गरें,।” यसरी परमेश्‍वरको छान्‍ने काम मानिसहरूको काम हेरेर होइन तर उहाँको आफ्‍नो इच्छाअनुसार हुन्‍छ भनी उहाँले पक्‍का गर्नुभयो। त्‍यसो भए हामीले के भन्‍ने? के परमेश्‍वर अन्‍यायी हुनुहुन्‍छ त? कदापि होइन! किनभने उहाँले मोशालाई भन्‍नुभयो, “जसको मलाई दया लाग्‍छ, त्‍यसैलाई म दया गर्छु र जसलाई म टिठ्याउन चाहन्‍छु, त्‍यसैलाई म टिठ्याउनेछु,।” यसकारण परमेश्‍वरले मान्‍छेको इच्‍छा वा चेष्‍टाले उसलाई बोलाउनुभएको होइन तर आफ्‍नै दयाले पो हो।

शेयर गर्नुहोस्
रोमी 9 पढ्नुहोस्