रोमी 8:25-27
रोमी 8:25-27 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर यदि हामी आफूले नदेखेका कुराको आशा गर्छौं भने, धैर्यसाथ हामी त्यसको प्रतीक्षा गर्छौं। त्यसै गरी पवित्र आत्माले पनि हाम्रो दुर्बलतामा सहायता गर्नुहुन्छ। कसरी प्रार्थना गर्नुपर्ने हो हामी जान्दैनौं, तर शब्दहरूमा व्यक्त गर्न नसकिने सुस्केरामा पवित्र आत्माले हाम्रा निम्ति मध्यस्थता गर्नुहुन्छ। र मानिसहरूका हृदयको खोजी गर्नुहुनेले पवित्र आत्माको विचार के हो सो जान्नुहुन्छ, किनकि परमेश्वरको इच्छाअनुसार पवित्र आत्माले सन्तहरूका निम्ति मध्यस्थता गर्नुहुन्छ।
रोमी 8:25-27 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर यदि हामीले जे प्राप्त गरेका छैनौँ, त्यस कुराको हामी आशा गर्छौँ भने त, हामी धैर्यतासाथ त्यसको प्रतीक्षा गर्छौँ। यसरी नै पवित्र आत्माले हामीलाई हाम्रो दुर्बलतामा सहायता गर्नुहुन्छ। हामीले कसरी प्रार्थना गर्नुपर्ने हो, सो हामी जान्दैनौँ, तर पवित्र आत्मा आफैँले हाम्रा निम्ति शब्दले व्यक्त गर्न नसकिने सुस्केरामा अन्तर्बिन्ती गरिदिनुहुन्छ। परमेश्वर, जसले हाम्रो हृदयको खोजी गर्नुहुन्छ; उहाँले आत्माका विचार जान्नुहुन्छ; किनभने पवित्र आत्माले परमेश्वरका सन्तहरूका निम्ति परमेश्वरको इच्छाअनुसार बिन्ती गरिदिनुहुन्छ।
रोमी 8:25-27 पवित्र बाइबल (NERV)
तर हामी केही चीजको आशा गरिरहेछौं जुन हामीले अहिले सम्म पाएका छैनौं। हामीले ठूलो धैर्यसित त्यो पर्खिरहेका छौं। आत्माले नै हामीलाई हाम्रो कमजोरीमा सहायता गर्नुहुन्छ। हामीले कसरी प्रार्थना गर्नु पर्ने हो! जान्दैनौ। तर आत्माले गंभीर भावले परमेश्वरसँग हाम्रो पक्षमा प्रार्थना गरिदिनुहुनेछ जुन शब्दहरूमा वर्णन गर्न सकिँदैन। परमेश्वरले हाम्रो हृदयमा के छ बुझ्न सक्नु हुन्छ किनभने आत्मा मानिसहरूका लागि परमेश्वरसँग उहाँकै इच्छाले बोल्नु हुन्छ।
रोमी 8:25-27 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तर यदि हामीले नदेखेको कुराको आशा राख्छौं भने हामीले यसको लागि पर्खन्छौं। पवित्र आत्माले हामीलाई कमजोरी अवस्थामा सहायता गर्नुहुन्छ। कसरी प्रार्थना गर्नुपर्ने हो, हामीलाई थाहा नहुँदा पवित्र आत्मा आफैंले शब्दले भ्याउनै नसक्ने गहिरो सुस्केरामा हाम्रो लागि प्रार्थना गरिदिनुहुन्छ। मानिसको हृदय देख्नुहुने परमेश्वरले पवित्र आत्माको विचार के छ, जान्नुहुन्छ किनभने पवित्र आत्माले विश्वासीहरूको लागि परमेश्वरको इच्छाअनुसार उहाँसँग बिन्ती गरिदिनुहुन्छ।