रोमी 8:22-25
रोमी 8:22-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हामी जान्दछौं, सारा सृष्टि अहिलेसम्म एकसाथ प्रसववेदनाको आर्तनाद गरिरहेछ। सृष्टि मात्र होइन, तर हामी आफै पनि, जसमा पवित्र आत्माको पहिलो फल छ, सन्तानको रूपमा ग्रहण गरिनलाई, अर्थात् हाम्रो देहको उद्धारको निम्ति प्रतीक्षा गरेर हामी आफै पनि भित्र-भित्रै आर्तनाद गर्दछौं। किनकि यही आशामा हामीले मुक्ति पाएका थियौं। अब देखिनेचाहिँ आशा त आशा नै होइन। किनकि देखेका कुराको आशा कसले गर्छ र? तर यदि हामी आफूले नदेखेका कुराको आशा गर्छौं भने, धैर्यसाथ हामी त्यसको प्रतीक्षा गर्छौं।
रोमी 8:22-25 नेपाली समकालीन संस्करण (NCV)
हामी जान्दछौं कि, सारा सृष्टि अहिलेसम्म बच्चा जन्माउने प्रसव पीडामाझैं छटपटिरहेको छ। त्यति मात्र होइनन्, तर हामी पनि, जोसँग पवित्र आत्माको पहिलो फल छ, धर्मपुत्रका रूपमा ग्रहण गराइन हाम्रो शरीरको उद्धारको निम्ति प्रतीक्षा गर्दै उत्कट इच्छाका साथ भित्रीरूपमा छटपटिरहेका छौं। यही आशामा हामीले मुक्ति पाएका छौं। तर देखिने आशा, आशा नै होइन। जुन कुरा आफूसँग अगाडि नै छ, त्यही कुराको आशा कसले गर्दछ र? तर यदि हामीले जे प्राप्त गरेका छैनौं, त्यस कुराको हामी आशा गर्छौं भने ता, हामी धैर्यतासाथ त्यसको प्रतीक्षा गर्छौं।
रोमी 8:22-25 पवित्र बाइबल (NERV)
हामी जान्दछौ सारा संसार सृष्टि गरिएको प्रसव-वेदनाले तडपिरहेकी एउटी स्त्रीले झैं आज सम्म उत्सुकतापूर्वक पर्खिरहेकै छन्। यो संसारले मात्र होइन, हामीले पनि आन्तरिक पीडा बोकेर पर्खिरहेकाछौं। हामीमा परमेश्वरको प्रतिज्ञाको प्रथम अंश सरह आत्मा छ। यसैले हामीलाई उहाँले आफ्ना सन्तान कहिले बनाउनु हुने हो भनेर उत्सुकतापूर्वक पर्खिरहेकाछौं। मेरो भन्नुको तात्पर्य, हामीलाई उहाँले हाम्रा शरीरहरूबाट कहिले मुक्ति दिनुहुनेछ भनेर पर्खिरहेकाछौं। हामीहरू बचाईँयौं र हामीमा यो आशा छ। यदि हामीले पर्खिरहेका कुरा देख्न सके त्यो साँचिकै आशा हुने छैन। मानिसहरूले त्यस कुराको आशा गर्दैनन् जुन तिनीहरूले पहिल्यै पाइसकेका हुँन्छन्। तर हामी केही चीजको आशा गरिरहेछौं जुन हामीले अहिले सम्म पाएका छैनौं। हामीले ठूलो धैर्यसित त्यो पर्खिरहेका छौं।
रोमी 8:22-25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अहिलेसम्म सुत्केरीलाई व्यथा लागेको झैँ पूरा सृष्टि दु:खले कनिरहेको छ। तर सृष्टि मात्र होइन, पवित्र आत्माले पछि ल्याउने सुख-सम्मान्को स्वाद पाउने हामी पनि परमेश्वरको बाटो हेरेर भित्र-भित्रै कष्टले कनिरहेका छौं किनभने उहाँले हामीलाई आफ्ना छोरा-छोरी बनाएर हाम्रो शरीरलाई नाश हुन नदिई बचाउनुहुन्छ र यसैलाई स्वर्गीय शरीर बनाउनुहुन्छ किनभने ठूलो आशाको लागि परमेश्वरले हामीलाई बचाउनुभयो अनि हामी त्यही आशामा बाँचिरहेका छौं। आशा भनेको हामीले कुनै चीजको लागि पर्खिरहनु हो। मानिसले पहिले नै पाइसकेको कुराको आशा राख्तैन। तर यदि हामीले नदेखेको कुराको आशा राख्छौं भने हामीले यसको लागि पर्खन्छौं।