रोमी 8:18-21
रोमी 8:18-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
म विचार गर्दछु, कि हामीमा जुन महिमा प्रकट गरिनेछ, त्यससँग वर्तमान समयका कष्टहरू तुलना गर्न योग्य छैनन्। सृष्टि बड़ो उत्कण्ठाले परमेश्वरका पुत्रहरू प्रकट हुने कुराको प्रतीक्षा गर्छ। सृष्टि व्यर्थताको वशमा पारियो, त्यसको आफ्नै इच्छाले होइन, तर उहाँको इच्छाले, जसले त्यसलाई वशमा पार्नुभयो, यसै आशामा, कि सृष्टि त्यसको आफ्नै विनाशको बन्धनबाट मुक्त गराइनेछ, र त्यसले पनि परमेश्वरका सन्तानको महिमित स्वतन्त्रता प्राप्त गर्नेछ।
रोमी 8:18-21 नेपाली समकालीन संस्करण (NCV)
म विचार गर्दछु, कि हाम्रा वर्तमान कष्टहरू हामीमा पछि प्रकट हुने महिमाको तुलनामा केही पनि होइन। किनकि सृष्टि बडो उत्सुकतासाथ परमेश्वरका सन्तानहरू प्रकट होस् भनी प्रतीक्षा गरिरहेको छ। किनकि सृष्टिलाई श्राप पर्यो, यसको आफ्नै इच्छाले होइन, तर उहाँको इच्छाले, जसले यसलाई अधीनतामा राख्नुभयो, यस आशामा कि, सृष्टि स्वयम् पनि विनाशको दासत्वबाट मुक्त भएर परमेश्वरका सन्तानका महिमित स्वतन्त्रता प्राप्त गर्न सकोस्।
रोमी 8:18-21 पवित्र बाइबल (NERV)
अहिले हामी कष्टमा छौं। तर जुन कष्ट अहिले हामीमा छ त्यो भविष्यमा हामीलाई दिइने महिमासँग तुलना गर्दा त्यो केही होइन। परमेश्वरले बनाउनु भएको प्रत्येक वस्तुले ठूलो उत्सुकताको साथ त्यस समयलाई पर्खिरहेकोछ जब परमेश्वरले उहाँका छोराहरू को को हुन् भनेर देखाउनु हुनेछ। त्यो विशेष समय हेर्न सारा संसारको उत्कट अभिलाषा छ। प्रत्येक वस्तु जुन परमेश्वरले बनाउनु भयो त्यो मूल्यहीन भएर गयो। त्यसले परिवर्तन गर्न चाहेन, तर परमेश्वरकै इच्छा अनुसार यस्तो भयो। तथापि त्यहाँ यस्तो आशा थियोः परमेश्वरले बनाउन भएको हरेक कुरा नाश हुनबाट मुक्त बनाइने छ र परमेश्वरका छोरा-छोरीहरूले महिमा र स्वतन्त्रता प्राप्त गर्नेछन्।
रोमी 8:18-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यस जीवनमा हामीले भोगेका दु:खहरूलाई हामीमा पछि देखा पर्ने सुख सम्मान्सँग तुलना गर्न सकिन्न। परमेश्वरले आफ्ना छोरा-छोरी देखाउनुहुने दिन सारा सृष्टिले ठूलो चाख मानेर पर्खिरहेको छ। किनभने सृष्टि नै काम नलाग्ने भएको थियो तर यसो भएको सृष्टिको आफ्नै इच्छाले थिएन। सृष्टिले आशा गरिरहोस् भनी परमेश्वरले नै यसो गर्नुभएको थियो। सृष्टि आफैंले पनि नाशको कैदबाट एक दिन छुटकारा पाएर परमेश्वरका छोरा-छोरीको महान् छुटकारामा सहभागी हुनेछ।