रोमी 6:5-14
रोमी 6:5-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यदि उहाँको मृत्युमा हामी उहाँसँग एउटै भएका छौं भने, उहाँको पुनरुत्थानमा पनि निश्चय नै हामी उहाँसँगै एक हुनेछौं। हामी जान्दछौं कि हाम्रो पुरानो मनुष्यत्व उहाँसँग क्रूसमा टाँगियो, ताकि हाम्रो पापमय शरीर नाश होस्, र अब उसो हामी पापका कमारा नहोऔं। किनभने जो मरेको छ त्यो पापबाट मुक्त भएको छ। तर यदि हामी ख्रीष्टसँग मरेका छौं भनेता उहाँसँग जिउने पनि छौं भन्ने विश्वास गर्दछौं। हामी जान्दछौं कि ख्रीष्ट मरेकाहरूबाट जीवित भएर फेरि मर्नुहुनेछैन। अब उसो उहाँमाथि मृत्युको राज्य हुँदैन। जुन मृत्युमा उहाँ मर्नुभयो त्यो पापको लेखि सधैँको लागि एकै पल्ट मर्नुभयो। तर जुन जीवनमा उहाँ जिउनुहुन्छ, त्यो परमेश्वरको निम्ति जिउनुहुन्छ। यसै गरी तिमीहरूले पनि आफू-आफूलाई पापको लेखि मरेका, तर ख्रीष्ट येशूमा परमेश्वरको लागि जीवित भएका ठान्नुपर्छ। यसकारण शरीरका अभिलाषाअनुसार चल्नु नपरोस् भनी तिमीहरूका मरणशील शरीरमा पापलाई राज्य गर्न नदेओ। आफ्ना शरीरका अङ्गहरू दुष्टताका साधनको रूपमा पाप गर्नलाई समर्पण नगर। तर मृत्युबाट जीवनमा ल्याइएका मानिसहरूजस्तै आफैलाई परमेश्वरकहाँ दिइहाल, र शरीरका अङ्गहरूलाई धार्मिकताका साधनजस्तै परमेश्वरकहाँ समर्पण गर। किनकि पापले तिमीहरूमाथि राज्य गर्नेछैन, किनकि तिमीहरू व्यवस्थाको अधीनमा छैनौ, तर अनुग्रहको अधीनमा छौ।
रोमी 6:5-14 नेपाली समकालीन संस्करण (NCV)
यदि हामी उहाँसँगै उहाँको मृत्युको समानतामा एक भएका छौं भने, निश्चित रूपमा उहाँसँगै उहाँको पुनर्जीवनको समानतामा पनि उहाँसँगै एक हुनेछौं। किनकि हामी जान्दछौं कि, हाम्रो पुरानो जीवन उहाँसँगै क्रूसमा टाँगियो, ताकि पापको स्वभाव नाश होस् र अब उसो हामी पापको सेवकहरू भएर बस्नु नपरोस्। किनकि जो मरेको छ, ऊ पापबाट मुक्त भएको छ। अहिले यदि हामी ख्रीष्टसँग मरेका छौं भने हामी विश्वास गर्छौं कि, उहाँसँगै जिउने पनि छौं। किनकि हामी जान्दछौं कि, ख्रीष्ट मरेकाबाट पुनर्जीवित हुनुभएकोले फेरि मर्नुहुन्न; उहाँमाथि अब उसो मृत्युको अधिकार छैन। जुन अद्वितीय मृत्यु उहाँ मर्नुभयो; त्यो मृत्यु सबैका पापको लागि एकपटक मर्नुभयो; तर जुन जीवन उहाँ अब जिउनुहुन्छ, त्यो जीवन परमेश्वरको निम्ति जिउनुहुन्छ। यसरी नै तिमीहरूले पनि आफूलाई पापको निम्ति मरेको तर ख्रीष्ट येशूमा परमेश्वरको निम्ति जीवित भएको ठान्नुपर्छ। यसकारण शरीरका खराब अभिलाषाहरूका अनुसार चल्नु नपरोस् भनेर तिमीहरूका मरणशील शरीरमा पापलाई शासन गर्न नदेओ। आफ्ना शरीरका कुनै पनि अङ्गलाई दुष्टताको हतियारको रूपमा पापको निम्ति अर्पण नगर, तर मृत्युबाट जीवन पाएकाहरूझैं, आफूलाई परमेश्वरको निम्ति अर्पण गर र आफ्ना शरीरका सबै अङ्गहरूलाई धार्मिकताको हतियारको रूपमा अर्पण गर। अब उसो पाप तिम्रो मालिक हुनेछैन, किनकि तिमी व्यवस्थाको होइन, तर अनुग्रहको अधीनतामा छौ।
रोमी 6:5-14 पवित्र बाइबल (NERV)
ख्रीष्ट मर्नु भयो, र हामी पनि उहाँको मृत्युकै अनुरूपमा उहाँसित मिल्यौं। यसकारण हामी उहाँको बौराइको अनुरुपमा पनि ख्रीष्टसितै मिल्नेछौं। हामी जान्दछौं हाम्रो पुरानो जीवन ख्रीष्ट सँगै क्रूसमा मर्यो। यो त्यस्तै भयो जसमा कि हाम्रो पापपूर्ण स्वभावले हामीमाथि नियंत्रण गर्ने थिएन र अब हामी आफैं पापको दास हुने थिएनौं। जो मर्दछ उ पापको नियंत्रणबाट मुक्त हुँदछ। यदि हामी ख्रीष्टसँगै मरेका छौं भने, हामी जान्दछौं कि हामी पनि उहाँसँगै बाँच्ने छौं। ख्रीष्ट मृत्युबाट जाग्नु भयो। अनि हामी जान्दछौ कि उहाँ फेरि कहिल्यै मर्नु हुनेछैन। उहाँमाथि मृत्युको कुनै प्रभाव छैन। हो, जब ख्रीष्ट मर्नु भयो, उहाँ पापको शक्तिलाई जित्न एकैपल्ट मर्नु भयो। अब उहाँसँग नयाँ जीवन छ अनि त्यो नयाँ जीवन परमेश्वरसँग छ। त्यस्तै प्रकाले तिमीहरूले पनि पापको कारणले मरेको सम्झ। अनि ख्रीष्ट येशूमा परमेश्वरको निम्ति जीवित भएको ठान। यसकारण पापलाई तिमीहरूको पार्थिव जीवन नियंत्रण गर्न नदेऊ। तिम्रा पापपूर्ण स्वभावलाई तिमीमा राज गर्न दिनु हुदैन जसले तिमीलाई उसको इच्छा अनुसार कर्म गर्न लगाउँछ। तिम्रा शरीरका अंगहरूलाई पापर्कम र दुष्टकर्महरू गर्नलाई अर्पण नगर। बरू आफू मृत्युबाट जिउँदो भएको कारण स्वयंलाई परमेश्वरप्रति समर्पित गर। राम्रो कामको लागि तिम्रा शरीरका अङ्गग परमेश्वरको सेवामा अर्पण गर। पाप तिम्रो स्वामी हुनेछैन। किनभने तिमी व्यवस्थाको अधीनमा छैनौ। तिमीहरू अब परमेश्वरको अनुग्रहमा छौ।
रोमी 6:5-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
किनभने उहाँको मृत्युमा हामी एक भयौं भने उहाँसँगै मरेकोबाट बिउँतिदा पनि एक हुनेछौं। हामीलाई यो थाहा छ, पापले राज्य गरेको जीवन नाश होस् र हामी पापको कैदी भइरहनुनपरोस् भनेर हाम्रो पुरानो जीवन ख्रीष्टसँगै क्रूसमा मारिएको छ किनभने मरिसकेको मानिस पापको कैदबाट छुटेको हुन्छ। ख्रीष्टसँगै मर्यौं भने उहाँसँगै बाँच्ने पनि छौं भनेर हामी विश्वास गर्दछौं किनभने हामीलाई थाहा छ, ख्रीष्ट मरेर पनि फेरि बिउँतनुभएको छ। अब उहाँ कहिल्यै मर्नुहुनेछैन, उहाँमाथि मृत्युको कुनै शक्ति चल्दैन। पापको लेखि ख्रीष्ट एक पल्ट मर्नुभएकोले उहाँमाथि पापको पनि कुनै शक्ति चल्दैन अनि परमेश्वरको निम्ति उहाँ सधैँभरि बाँच्नुहुन्छ। त्यसरी नै तिमीहरूले पनि आ-आँफूलाई पापको लागि मरेको तर परमेश्वरको लागि ख्रीष्ट येशूसँगै बाँचेको सम्झिनुपर्छ। यसकारण आफ्नो मरणशील शरीरमा फेरि पापले राज्य गर्न नपाओस्। कुनै पनि आफ्ना अङ्ग दुष्ट काम गर्न पापलाई नचढाओ। तर मरेर पनि फेरि असल कामको लागि जिउने मानिसहरूजस्तै आफ्नो पूरै जीवन परमेश्वरकहाँ चढाओ र आफ्ना अङ्ग असल काम गर्न उहाँलाई चढाओ। पापले तिमीहरूमाथि राज गर्नेछैन किनभने तिमीहरू व्यवस्थाको अधीनमा होइन तर अनुग्रहको अधीनमा छौ।