रोमी 6:19-23
रोमी 6:19-23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीहरूमा रहेको मानवीय कमजोरीको कारणले म तिमीहरूले बुझ्न सकिने भाषामा बोलिरहेको छु। किनकि जसरी तिमीहरूले एक पल्ट आफ्ना अङ्गहरूलाई अशुद्धता र झन्-झन् बढ़ी अपराधका निम्ति समर्पण गर्यौ, अब त्यसरी नै पवित्रकरणको निम्ति आफ्ना अङ्गहरूलाई धार्मिकताको निम्ति समर्पण गर। तिमीहरू पापका कमारा भएको बेलामा चाहिँ धार्मिकताको लेखि स्वतन्त्र थियौ। अब जुन कुराहरूमा तिमीहरू अहिले शर्माउँछौ, सो कुराहरूबाट तिमीहरूले के प्रतिफल पायौ? ती कुराहरूको अन्त्यचाहिँ मृत्यु हो। तर अब तिमीहरू पापबाट मुक्त भई परमेश्वरका कमारा भएका छौ, अनि तिमीहरूले पाउने प्रतिफलचाहिँ पवित्रकरण हो, र त्यसको अन्त्यचाहिँ, अनन्त जीवन। किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैँको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो।
रोमी 6:19-23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म तिमीहरूलाई तिमीहरूका मानवीय कमजोरीका कारण मानवीय दृष्टिकोणबाट यो भन्दैछु। जसरी तिमीहरूले आफ्ना शरीरका अङ्गहरूलाई अशुद्धता र सधैँ बढिरहने दुष्टताको निम्ति सेवक हुनलाई समर्पण गरेका थियौ, त्यसरी नै अहिले आफ्ना अङ्गहरूलाई पवित्रताको लागि धार्मिकताका सेवक हुनलाई समर्पण गरिदेओ। जब तिमीहरू पापका सेवकहरू थियौ, धार्मिकताको नियन्त्रणबाट स्वतन्त्र थियौ। जुन कुराको निम्ति अहिले तिमीहरू लज्जित छौ, ती कुराहरूबाट तिमीहरूलाई के फाइदा भएको थियो र? ती कुराहरूको परिणाम त मृत्यु हो। तर अहिले तिमीहरू पापबाट स्वतन्त्र भएका छौ र परमेश्वरका सेवकहरू भएका छौ। परमेश्वरका सेवकहरू हुने फाइदाले तिमीहरूलाई पवित्रतातर्फ डोर्याउँछ र यसको परिणाम अनन्त जीवन हो। किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो।
रोमी 6:19-23 पवित्र बाइबल (NERV)
म यसको व्याख्या उदाहरण दिएर व्याख्या गरिरहेछु किनभने तिमीहरूलाई बुझ्न गाह्रो हुन्छ। विगतमा, तिमीहरूले पापको निम्ति आफ्ना शरीरका अंगहरू अर्पण गर्यौ र पापकै दास भयौ। तिमीहरू दुष्ट कुराहरूको लागि मात्र बाँच्यौ। त्यस्तै प्रकारले, तिमीहरूले धार्मिकताको लागि शरीरका अंगहरू समर्पण गर। त्यसपछि मात्र तिमीहरू परमेश्वरको निम्ति बाँच्नेछौ। विगतमा तिमीहरू पापका दास थियौ अनि धार्मिकताले तिमीहरूलाई नियन्त्रण गरेन। तिमीहरू दुष्ट कर्महरू गर्दै बाँच्यौ। ती कुराहरूका लागि अहिले तिमीहरू लज्जित छौ। के ती कुराहरूले तिमीहरूलाई साथ दियो? अँहँ! ती कुराहरूले आत्मिक मृत्यु ल्याँउछ। तर अब तिमीहरू पापबाट मुक्त छौ। अब तिमीहरू परमेश्वरका दास हौ। अनि यसले तिमीहरूलाई यस्तो जीवन ल्याउँछ जुन परमेश्वरको निम्ति मात्र हुन्छ। अनि त्यहाँबाट तिमीहरूले अनन्त जीवन प्राप्त गर्नेछौ। जब मानिसहरूले पाप गर्दछन्, तिनीहरूले पापको ज्याला कमाउँछन् जो चाँहि मृत्यु हो। तर परमेश्वरले आफ्ना मानिसहरूलाई मूल्य रहित उपहार दिनु हुन्छ जुन हाम्रा ख्रीष्ट येशू प्रभुमा अनन्त जीवन हो।
रोमी 6:19-23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तिमीहरूको शारीरिक स्वभावको कमजोरीले गर्दा म मानिसहरूले बुझ्ने गरी मालिक र कमाराको नमुना लिएर भन्दै छु। एक पल्ट खराब इच्छा लिएर ठूलो पाप र दुष्ट काम गर्न तिमीहरूले आफ्नो जीवन कमाराले झैँ सुम्पियौ। अब पवित्र हुन तिमीहरूको जीवन परमेश्वरको लागि असल काम गर्ने कमाराले झैँ सुम्पिदेओ। तिमीहरू पापको कमारा हुँदा तिमी परमेश्वरको अगाडि ठीक हुने कामको वास्ता गर्दैनथ्यौ। त्यस बेला गरेका कामबाट जसमा तिमीहरू अहिले लाज मान्छौ, तिमीहरूले के पायौ? ती सबै घिनलाग्दा कुराको फलचाहिँ मृत्यु हो। अब तिमीहरू पापको कैदबाट छुटेका छौ र परमेश्वरका कमारा बनाइएका छौ। यसको फलचाहिँ पवित्रता हो। यसले तिमीलाई अजम्मरी जीवनमा पुर्याउँछ। पापले आफ्नो कमारालाई दिने ज्यालाचाहिँ मृत्यु हो, तर हाम्रा प्रभु येशू ख्रीष्टमा अजम्मरी जीवन जिउनुचाहिँ सित्तैमा दिइने परमेश्वरको दान हो।