YouVersion लोगो
खोज आइकन

रोमी 3:10-23

रोमी 3:10-23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

जसो लेखिएको छ, “धर्मी कोही छैन, एक जना पनि छैन, बुझ्‍ने कोही छैन, परमेश्‍वरलाई खोज्‍ने कोही छैन। ती सबै बरालिएका छन्, तिनीहरू एकसाथ बेकम्‍मा भएका छन्‌। कसैले असल गर्दैन, असल गर्ने एक जना पनि छैन।” “तिनीहरूका घोक्रा खुला चिहान हुन्, तिनीहरू आफ्‍ना जिब्राले छलका कुरा गर्छन्‌।” “सर्पको विष तिनीहरूका ओठमा छ।” “तिनीहरूका मुख सराप र तीता कुराले भरिएका छन्‌।” “तिनीहरूका खुट्टा रक्तपात गर्नलाई छिटा छन्‌। विनाश र दुर्दशा तिनीहरूको बाटोमा छन्, र शान्‍तिको बाटो तिनीहरूले चिनेका छैनन्‌।” “तिनीहरूका आँखाको सामने परमेश्‍वरको भय छैन।” अब हामी जान्‍दछौं, जे-जति व्‍यवस्‍थाले भन्‍छ, व्‍यवस्‍थामुनि हुनेहरूलाई नै भन्‍छ, कि हरेक मुख चूप रहोस्, र सारा संसार परमेश्‍वरको अगि जवाफदेही होस्‌। यसैकारण व्‍यवस्‍थाको कर्मले कोही प्राणी उहाँको दृष्‍टिमा धर्मी ठहरिनेछैन, किनकि व्‍यवस्‍थाद्वारा नै पापको चेतना हुन्‍छ। तर अब त व्‍यवस्‍थाविनै परमेश्‍वरबाट आउने धार्मिकता प्रकट भएको छ। त्‍यसैको गवाही व्‍यवस्‍था र अगमवक्ताहरूले दिएका छन्‌। येशू ख्रीष्‍टमा विश्‍वास गर्ने सबैमाथि परमेश्‍वरको धार्मिकता विश्‍वासद्वारा प्रकट भएको छ। किनभने केही भेद छैन, किनकि सबैले पाप गरेका छन्, र परमेश्‍वरको महिमासम्‍म पुग्‍नबाट चुकेका छन्‌।

शेयर गर्नुहोस्
रोमी 3 पढ्नुहोस्

रोमी 3:10-23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

यसरी लेखिएको छ: “धर्मी कोही छैन, एक जना पनि छैन; बुझ्ने कोही छैन, परमेश्‍वरलाई खोज्ने पनि कोही छैन। सबै परमेश्‍वरदेखि तर्किगएका छन्, ती सबै एकसाथ काम नलाग्ने भएका छन्; भलाइ गर्ने कोही छैन, एक जना पनि छैन।” “तिनीहरूका घोक्रो खुल्‍ला चिहानहरू हुन्; तिनीहरूका जिब्राले झूटा कुरा बोल्छन्।” “तिनीहरूका ओठमा विषालु सर्पका विष छ।” “तिनीहरूका मुख श्राप र तितोपनाले भरिएका छन्।” “तिनीहरूका खुट्टा रगत बगाउन सदा तयार छन्; तिनीहरूका मार्गहरू विनाश र दुर्दशाले भरिएका छन्, तिनीहरूले शान्तिको मार्गलाई चिनेकै छैनन्।” “तिनीहरूका आँखामा परमेश्‍वरको डर छैन।” अब हामी जान्दछौ, व्यवस्थाले जे भन्दछ, व्यवस्थाका अधीनमा हुनेहरूलाई नै भन्दछ, ताकि सबैको मुख बन्द रहोस् र सारा संसारलाई परमेश्‍वरको अगि जवाफदेही बनाइयोस्। यसैकारण व्यवस्था पालन गरेर कोही पनि परमेश्‍वरको दृष्‍टिमा धर्मी ठहरिँदैन। व्यवस्थाले हामीलाई हाम्रा पापको बारेमा सचेतचाहिँ गराउँदछ। तर अब व्यवस्थाविना नै परमेश्‍वरबाट धार्मिकता प्रकट भएको छ, जसको गवाही व्यवस्था र अगमवक्ताहरूले दिन्छन्। यो धार्मिकताचाहिँ येशू ख्रीष्‍टमा विश्‍वास गर्ने सबैले विश्‍वासद्वारा प्राप्‍त गर्दछन्। यसमा यहूदी र गैरयहूदी बीचमा कुनै भिन्‍नता छैन। किनकि सबैले पाप गरेका छन्, र परमेश्‍वरको महिमाबाट टाढा भएका छन्

शेयर गर्नुहोस्
रोमी 3 पढ्नुहोस्

रोमी 3:10-23 पवित्र बाइबल (NERV)

धर्मशास्त्रले भन्दछ, “त्यहाँ पापरहित मानिस कोही छैनन्। एउटै पनि छैनन्! त्यहाँ कोही बुझ्झकी मानिस छैनन्। त्यहाँ परमेश्वरको खोजी गर्ने एकैजना पनि छैन। सबैले परमेश्वरपट्टि पीठ फर्काएका छन्, अनि सबै बेकम्मा भएका छन्। असल कर्म गर्ने कोही छैन। एकैजना पनि छैन।” “मानिसहरूका मुख खुल्ला चिहानहरू जस्ता छन्। तिनीहरू आफ्ना जिब्रोले अरूलाई धोका दिंदछन्।” “तिनीहरूले जुन कुराहरू भन्दछन् ती सर्पका विष जस्ता हुँदछन्।” “तिनीहरूका मुखहरू श्राप र तीतोपनले भरिपूर्ण छन्।” “तिनीहरूका खुट्टा हत्या गर्नमा छीटो कुद्दछन्। जता-जता तिनीहरू जान्छन् त्यहाँ सर्वनाश र विपत्ति ल्याउँदछन्। तिनीहरू शान्तिको बाटो जान्दैनन्।” “तिनीहरूमा परमेश्वरको डर र सम्मान छैन।” हामी जान्दछौं कि व्यवस्थाले भने झैं, त्यो व्यवस्थाकै अधीनमा हुनेहरूलाई हो। यसले सारा मानवीय बहानाहरूको अन्त गर्नेछ सम्पूर्ण संसारलाई परमेश्वरको न्यायको अधीनमा ल्याउने छ। किनभने व्यवस्थालाई पछ्याएर कोही पनी परमेश्वरको अघि धर्मी हुन सक्तैन। व्यवस्थाले हाम्रो पापलाई मात्र औंल्याउँछ। तर अब व्यवस्था बिना नै मानिसहरूलाई धार्मिक बनाउने परमेश्वरको नयाँ बाटो देखा परेको छ। व्यवस्था र अगमवक्ताहरूले हामीलाई त्यस नयाँ बाटोको विषयमा भनेका छन्। परमेश्वरले हामीलाई येशू ख्रीष्टमा विश्वासको माध्यमद्वारा धर्मी बनाउनु हुन्छ। परमेश्वरले कुनै पक्षपात बिना नै सबैलाई धर्मी बनाउनु हुन्छ जसले ख्रीष्टमा विश्वास गर्छ। सबै मानिसहरूले पाप गरेका छन् अनि परमेश्वरको महिमासम्म पुग्न चुकेका छन्।

शेयर गर्नुहोस्
रोमी 3 पढ्नुहोस्

रोमी 3:10-23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

यस्‍तै कुरा धर्मशास्‍त्रमा पनि लेखिएको छ, “परमेश्‍वरको अगाडि कुनै मानिस पनि ठीक छैन, अहँ एउटै पनि। परमेश्‍वरलाई बुझ्‍ने मानिस कोही छैन नता कसैले परमेश्‍वरको खोजी नै गरेका छन्। सबैले बाटो बिराएका छन् र सबै काम नलाग्‍ने भएका छन्, असल काम गर्ने एक जना पनि छैन,।” “तिनीहरूको घोक्रो खुल्ला चिहानजस्‍तै छ, तिनीहरूले आफ्‍नै जिब्राले ढाँटेका छन्,।” “तिनीहरूको बोली विषालु सर्पको विषजस्‍तो छ,।” “तिनीहरूले सरापिरहन्‍छन् र मनको तीतो पोखाइरहन्‍छन्,।” “तिनीहरू मानिस मार्न छिटा छन्। तिनीहरू जहाँ-जहाँ जान्‍छन्, त्‍यहाँ-त्‍यहाँ मृत्‍यु र दु:ख फैलाउँछन्। शान्‍तिको बाटो तिनीहरूले चिनेका छैनन्,।” “नता परमेश्‍वरको डरै मानेका छन्,।” व्यवस्थाको कुरा व्यवस्थाका अधीनमा हुने मानिसलाई भनिएको हो भनी हामीलाई थाहा छ। यसकारण सबै मानिसको मुखमा बुजो लाग्‍नेछ र सारा संसार दोषी ठहराइन परमेश्‍वरको अगाडि उभ्‍याइनेछ। व्यवस्था पालनले कोही पनि परमेश्‍वरको अगाडि ठीक ठहरिनेछैन किनभने व्यवस्थाले त मानिसले गरेको पाप चिनाइदिन्‍छ। तर अहिले व्यवस्थाबिना परमेश्‍वरले मानिसलाई ठीक ठहराउनुहुन्‍छ भनी उहाँले देखाउनुभएको छ। यही कुरा व्यवस्था र अगमवक्ताहरूले बताएका छन्। यसरी परमेश्‍वरले येशू ख्रीष्‍टमा विश्‍वास गर्ने सबैलाई ठीक ठहराउनुहुन्‍छ किनभने उहाँले कसैलाई पनि छुट्याउनुहुन्‍न किनभने सबैले पाप गरेका छन् र परमेश्‍वरको महिमाबाट टाढिएका छन्।

शेयर गर्नुहोस्
रोमी 3 पढ्नुहोस्