YouVersion लोगो
खोज आइकन

रोमी 12:1-5

रोमी 12:1-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

यसकारण भाइ हो, परमेश्‍वरको कृपालाई ध्‍यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्‍मिक उपासनाको रूपमा आ-आफ्‍ना शरीरलाई पवित्र र परमेश्‍वरलाई ग्रहणयोग्‍य हुने जिउँदो बलिको रूपमा अर्पण गर। यस संसारको ढाँचामा नचल, तर आफ्‍नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्‍वरको असल, ग्रहणयोग्‍य र सिद्ध इच्‍छा के हो, त्‍यो तिमीहरूले जाँच्‍न सक। किनभने मलाई दिइएको अनुग्रहद्वारा तिमीहरूमध्‍ये हरेकलाई म आग्रह गर्दछु, जसले आफूलाई जस्‍तो सम्‍झनुपर्छ त्‍यसभन्‍दा बढ़ी नसम्‍झोस्, तर परमेश्‍वरले हरेकलाई दिनुभएको विश्‍वासको नापबमोजिम सन्‍तुलित विचारले सोचोस्‌। किनकि जसरी हाम्रो एउटै शरीरमा धेरै अङ्ग हुन्‍छन्, तर सबै अङ्गहरूको एउटै काम हुँदैन, त्‍यसरी नै हामी जो धेरै छौं, हामी पनि ख्रीष्‍टमा एउटै शरीर हौं, र प्रत्‍येक एक-अर्काका अङ्ग हौं।

शेयर गर्नुहोस्
रोमी 12 पढ्नुहोस्

रोमी 12:1-5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

यसकारण दाजुभाइ-दिदीबहिनीहरू हो, परमेश्‍वरको कृपाद्वारा म बिन्ती गर्दछु, तिमीहरूले आफ्ना शरीरलाई पवित्र र परमेश्‍वरलाई मनपर्दो जिउँदो बलिदानको रूपमा अर्पण गर; यही तिम्रो साँचो र व्यवस्थित आराधना हो। यस संसारको रीतिमा नचल, तर आफ्नो मनमा नयाँ भई परिवर्तित हुँदैजाओ; तब मात्र तिमीहरूले परमेश्‍वरको असल, मनपर्दो र सिद्ध इच्छा के हो, सो जाँच गर्न र स्वीकार गर्न सक्नेछौ। किनकि परमेश्‍वरले मलाई दिनुभएको अनुग्रहद्वारा म प्रत्येकलाई भन्दछु, आफूलाई ठूलो नठान, तर परमेश्‍वरले तिमीहरू प्रत्येकलाई दिनुभएको विश्‍वासअनुसार नै आफूलाई शान्त भएर जाँच। किनकि जसरी हामी प्रत्येकको एउटा शरीर छ, तर अङ्गहरू धेरै छन्, र यी सबै अङ्गहरूका काम एउटै हुँदैन, त्यसरी नै हामी अनेक भएर पनि ख्रीष्‍टमा एउटै शरीर हौँ तथा सबै एक-अर्काका अङ्ग हौँ।

शेयर गर्नुहोस्
रोमी 12 पढ्नुहोस्

रोमी 12:1-5 पवित्र बाइबल (NERV)

यसैले दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, केही गर भनेर म बिन्ती गर्दछु। परमेश्वरले हामीलाई ठूलो दया देखाउनुभयो। यसकारण परमेश्वरलाई प्रसन्न गर्दै आफ्नो जीवनलाई जीवित बलिदानको रूपमा अर्पण गर। यही तिमीहरूको आत्मिक उपासना हो। सांसारिक स्तरमा आफूलाई परिवर्तन नगर। तर विचारको नयाँ बाटो अप्नाएर आफूलाई आन्तरिक रूपले परिवर्तन गर। अनि त्यसपछि तिमीहरू राम्रो के हो, उहाँलाई के मन पर्छ र सम्पूर्णता के हो, आफैं परमेश्वरको इच्छा पत्तो लाउन समर्थ हुने छौ। परमेश्वरले मलाई अनुग्रहको वरदान दिनुभएकोछ, म तिमीहरू सबैलाई भन्छु आफू जे छौ त्यो भन्दा बढता आफूलाई नसम्झौं। परमेश्वरले दिनुभएको विश्वासको आधारमा तिमी वास्तवमा बाँचिरहेकाछौ त्यो स्वयं हेर। हामी प्रत्येकको एउटै शरीर छ अनि यो धेरै भागमा बाँडिएको छ। यी भागहरूको एउटै काम हुँदैन। उसै गरी, हामी धेरै मानिसहरू छौं, तर ख्रीष्टमा हामी एक शरीर हौं। अनि प्रत्येक अंग अरू भागहरूका हुन्।

शेयर गर्नुहोस्
रोमी 12 पढ्नुहोस्

रोमी 12:1-5 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

मेरा प्‍यारा दाजुभाइहरू, परमेश्‍वरको धेरै दया तिमीहरूमाथि भएको छ। त्‍यसैले आफ्‍नै शरीर पवित्र र परमेश्‍वरलाई मनपर्दो जिउँदो बलिदान बनाएर परमेश्‍वरको सेवा गर्न उहाँको सामु चढाओ भनेर म तिमीहरूलाई बिन्‍ती गर्दछु। तिमीहरूको आत्‍माले गर्नुपर्ने साँचो आराधना पनि यही नै हो। तिमीहरूले संसारका मानिसहरूका देखासिकी गरेर उनीहरूजस्‍तै हुने इच्‍छा नराख, अब आफ्‍नो मनमा नयाँ भई परिवर्तन होओ। त्‍यसो भए मात्र तिमीहरूले परमेश्‍वरको इच्‍छा के रहेछ, पत्ता लाउन सक्‍छौ अनि कुन कुरो असल छ, कुन कुरोले परमेश्‍वरलाई खुसी तुल्‍याउँछ अनि कुनचाहिँ कुरा पक्‍का हो, त्‍यो तिमीहरूलाई छर्लङ्ग थाहा हुन्‍छ। परमेश्‍वरले मलाई अनुग्रह देखाउनुभएकोले म तिमीहरू सबैलाई भन्‍दै छु, आफूलाई ठूलो नठान तर परमेश्‍वरले दिनुभएको विश्‍वासको मात्राअनुसार आफू जस्‍ता छौ, त्‍यस्‍तै ठान। हाम्रो शरीरमा धेरै अङ्गहरू भए पनि ती अङ्गहरूका बेग्‍लाबेग्‍लै काम छन्। त्‍यसै गरी हामी धेरै भए पनि ख्रीष्‍टमा एउटै शरीर हौं र हामी सबै एक-अर्काका अङ्ग हौं।

शेयर गर्नुहोस्
रोमी 12 पढ्नुहोस्

रोमी 12:1-5

रोमी 12:1-5 NNRVरोमी 12:1-5 NNRVरोमी 12:1-5 NNRV
शेयर गर्नुहोस्
पुरै अध्याय पढ्नुहोस्