प्रकाश 20:4-15
प्रकाश 20:4-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब मैले सिंहासनहरू र त्यसमाथि बस्नेहरूलाई देखें, जसलाई इन्साफ गर्ने अधिकार दिइएको थियो। तब येशूका गवाहीको निम्ति र परमेश्वरका वचनको निम्ति शिर काटिएकाहरू, र त्यो पशु र त्यसका मूर्तिको पूजा नगर्नेहरू र त्यसको छाप निधार वा हातमा नलगाउनेहरूका आत्माहरूलाई मैले देखें। तिनीहरू फेरि जीवित भए, र तिनीहरूले ख्रीष्टसँग एक हजार वर्षसम्म राज्य गरे। अरू मरेकाहरूचाहिँ ती एक हजार वर्ष नबितुञ्जेल जीवित भएनन्। यो पहिलो पुनरुत्थान हो। पहिलो पुनरुत्थानमा सहभागी हुनेहरू धन्य र पवित्र हुन्। यिनीहरूलाई दोस्रो मृत्युको शक्तिले केही गर्न सक्दैन, तर तिनीहरू परमेश्वर र ख्रीष्टका पूजाहारी भएर उहाँसँग एक हजार वर्षसम्म राज्य गर्नेछन्। एक हजार वर्ष बितेपछि शैतान त्यसको कैदबाट छोडिनेछ, र पृथ्वीका चारै दिशामा भएका देश-देशका मानिसहरूलाई बहकाउन, अर्थात् गोग र मागोगलाई लड़ाइँको निम्ति भेला गर्न निस्केर आउनेछ। तिनका संख्या समुद्रका बालुवा जत्तिकै हुनेछ। तिनीहरूले सारा पृथ्वीभरि गएर सन्तहरूका छाउनीको वरिपरि र प्रिय सहरलाई घेरे, तर स्वर्गबाट आगो बर्सेर तिनीहरूलाई भस्म पार्यो। तिनीहरूलाई बहकाउने त्यो दियाबलस आगो र गन्धकको कुण्डमा फालियो, जहाँ त्यो पशु र झूटो अगमवक्ता पनि थिए। त्यहाँ तिनीहरूले दिनरात सदासर्वदै यातना भोग्नेछन्। तब मैले एउटा ठूलो सेतो सिंहासन र त्यसमाथि विराजमान हुनुहुनेलाई देखें। उहाँको सामुन्नेबाट पृथ्वी र आकाश भागेर गए, र तिनीहरूका निम्ति कतै ठाउँ पाइएन। मैले ठूला र साना सबै मृतकहरूलाई सिंहासनको सामुन्ने उभिरहेका देखें, र पुस्तकहरू खोलिए। अर्को एउटा पुस्तक पनि खोलियो, जो जीवनको पुस्तक हो। ती पुस्तकहरूमा लेखिएका कुरामुताबिक, तिनीहरूका कामअनुसार मृतकहरूको इन्साफ भयो। समुद्रले त्यसमा भएका मृतकहरू दिइहाल्यो, अनि मृत्यु र पातालले पनि तिनीहरूमा भएका मृतकहरू दिइहाले। तिनीहरू प्रत्येकको आ-आफ्ना कामअनुसार इन्साफ भयो। मृत्यु र पाताल अग्नि-कुण्डमा फालिए। यो अग्नि-कुण्ड दोस्रो मृत्यु हो। जसको नाउँ जीवनको पुस्तकमा लेखिएको भेट्टाइएन त्यो अग्नि-कुण्डमा फालियो।
प्रकाश 20:4-15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब मैले सिंहासनहरू देखेँ; अनि ती सिंहासनहरूमा मैले न्याय गर्ने अख्तियार पाएकाहरूलाई बसिरहेको देखेँ। अनि मैले येशूको गवाहीको निम्ति र परमेश्वरको वचनको निम्ति शिर काटिएकाहरूका आत्माहरूलाई देखेँ। तिनीहरूले त्यस पशु वा त्यसको मूर्तिको आराधना गरेका थिएनन्; अनि आफ्ना निधारहरू र हातहरूमा त्यसको छाप लगाएका थिएनन्। तिनीहरू फेरि जीवित भए, र ख्रीष्टसित एक हजार वर्षसम्म राज्य गरे। (अरू बाँकी मरेकाहरूचाहिँ एक हजार वर्ष नबितुन्जेल जीवित भएनन्।) यो पहिलो पुनरुत्थान हो। पहिलो पुनरुत्थानमा सहभागी हुनेहरू धन्य र पवित्र हुन्। तिनीहरूमाथि दोस्रो मृत्युको शक्तिले केही अधिकार गर्न सक्दैन, तर तिनीहरू परमेश्वरका र ख्रीष्टका पुजारीहरू हुनेछन्, र उहाँसित एक हजार वर्षसम्म राज्य गर्नेछन्। एक हजार वर्ष बितेपछि त्यो शैतानलाई त्यसको कैदबाट छोडिनेछ; अनि पृथ्वीका चारै दिशामा भएका राष्ट्रहरूलाई अर्थात् गोग र मागोगलाई लडाइँको लागि बहकाउन र भेला गर्न त्यो निस्केर जानेछ। संख्यामा तिनीहरू समुद्रको किनारमा भएका बालुवा जतिकै हुनेछन्। तिनीहरूले पृथ्वीको परिक्रमा गरेर परमेश्वरका जातिका छाउनी अर्थात् उहाँको प्रिय सहरलाई घेरा हाले। तर स्वर्गबाट आगो बर्सेर तिनीहरूलाई भस्म पार्यो। अनि तिनीहरूलाई ठग्ने त्यो दियाबलसलाई, गन्धक जल्दैगरेको अग्निकुण्डमा फालियो, जहाँ त्यो पशु र झूटा अगमवक्ता पनि फालिएका थिए। त्यहाँ तिनीहरूले दिनरात सदासर्वदा यातना भोग्नेछन्। तब मैले एउटा ठूलो उज्ज्वल सिंहासन र त्यसमाथि बस्नुहुनेलाई देखेँ। पृथ्वी र आकाश उहाँको उपस्थितिबाट बिलाएर गए; अनि तिनीहरू कतै पाइएनन्। अनि मैले ठूला र साना सबै मृतकहरूलाई सिंहासनको सामु उभिरहेका देखेँ, र पुस्तकहरू खोलिए। अर्को एउटा पुस्तक पनि खोलियो, जुनचाहिँ जीवनको पुस्तक हो। ती पुस्तकहरूमा लेखिएका तिनीहरूका कामका आधारमा मृतकहरूको न्याय गरियो। समुद्रले त्यससित भएका मुर्दाहरू दिइहाल्यो, र मृत्यु र पातालले पनि तिनीहरूमा भएका मुर्दाहरू दिइहाले; अनि प्रत्येकले गरेका कामअनुसार तिनीहरूलाई न्याय गरियो। मृत्यु र पाताल अग्निकुण्डमा फालिए। त्यो अग्निकुण्ड दोस्रो मृत्यु हो। जसको नाम जीवनको पुस्तकमा लेखिएको भेट्टाइएन, त्यसलाई अग्निकुण्डमा फालियो।
प्रकाश 20:4-15 पवित्र बाइबल (NERV)
तब मैले केही सिंहासनहरू जहाँ मानिसहरू बसेको देखें। यी मानिसहरू तिनीहरू थिए जसलाई न्याय गर्ने अधिकार प्रदान गरिएको थियो। अनि मैले ती मानिसहरूको आत्मा देखें जसलाई मारिएको थियो, किनभने तिनीहरू येशूको सत्यता अनि परमेश्वरको सन्देशप्रति विश्वासी थिए। ती मानिसहरूले त्यो पशु अनि त्यसको मूर्तिको उपासना गरेनन्। तिनीहरूले आफ्ना निधार वा आफ्ना हातमा त्यो पशुको छाप लगाएनन्। ती मानिसहरू फेरि जीवित भए अनि ख्रीष्टसँग एक हजार वर्ष सम्म शासन गरे। एक हजार वर्ष पूरा नहुन्जेलसम्म अन्य मानिसहरू फेरि जीवित भएनन्। यो मृत्यु पछि वौरिने प्रथमपल्ट हो। ती मानिसहरू जो पाहिलो पुनरुत्थानमा सहभागी भए तिनीहरू धन्य अनि पवित्र हुन्। यी मानिसहरूमाथि दोस्रो मृत्युको कुनै अधिकार छैन। ती मानिसहरू परमेश्वर अनि ख्रीष्टको निम्ति पूजाहारीहरू हुनेछन्। तिनीहरूले एक हजार वर्षको निम्ति शासन गर्नेछन्। जब एक हजार र्वष पूरा हुन्छ शैतानलाई उसको कैदबाट मुक्त गरिनेछ। शैतान पृथ्वीका समस्त राष्ट्रहरू गोग अनि मागोगलाई छल गर्न जानेछ। शैतानले लडाँईको निम्ति मानिसहरू भेला गर्नेछ। त्यहाँ ठूल्ठूला भीड़ लाग्नेछ अनि तिनीहरू समुद्र किनारको बालुवा सरी अनगन्ति हुनेछन्। शैतानको सेना पृथ्वी पारी गए अनि परमेश्वरका मानिसहरूका शिविर अनि परमेश्वरको प्यारो नगर वरिपरि एकत्रित भए। तर स्वर्गबाट आगो आयो अनि शैतानको सेनालाई ध्वंश पार्यो। अनि शैतान जसले मानिसहरूलाई छल गरिरहेको थियो, जलिरहेको गन्धकको पोखरीमा हालिदियो जहाँ झूटो अगमवक्ता अनि त्यो पशु अघि नै फ्याँकिएको थियो। त्यहाँ दिन रात सदासर्वदा तिनीहरूलाई सजाय भोगाइनेछ। तब मैले एक विशाल सेतो सिंहासन देखें। मैले एक उहाँलाई देखें जो सिंहासनमा हुनु हुन्थ्यो। उनीदेखि पृथ्वी अनि आकाश भागे अनि अल्पिए। अनि मैले ती महान अनि साधारण मानिसहरू जो मरिसकेका थिए, सिंहासन अघि उभिएका देखें। अनि त्यो जीवनको पुस्तक खोलियो। त्यहाँ अन्य पुस्तकहरू पनि खुल्ला थिए। यी मरेका मानिसहरूलाई तिनीहरूले गरेका कर्महरूको आधारमा जुन ती किताबरुमा लेखिएका थिए न्याय गरियो। समुद्रले ती मृत मानिसहरूलाई छोडि दियो जो त्यसमा थिए। मृत्यु अनि पातालले तिनीहरूसँग भएका मृत मानिसहरू दिए। प्रत्येक मानिसलाई उसले गरेका कर्मको आधारमा न्याय गरियो। अनि मृत्यु एवं पाताललाई अग्नि-कुण्डमा हालियो। यो अग्नि-कुण्ड दोस्रो मृत्यु हो। यदि कुनै मानिसको नाउँ जीवनको पुस्तकमा लेखिएको नभेट्टाइए त्यो मानिसलाई अग्नि-कुण्डमा हालिन्थ्यो।
प्रकाश 20:4-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तब मैले सिंहासनहरू देखें र तीमाथि बस्नेहरूलाई न्याय गर्ने अधिकार दिइएको थियो। येशूद्वारा प्रकाशमा ल्याइएको सत्यता र परमेश्वरको वचन सुनाएको कारणले मारिएकाहरूका आत्मा पनि मैले देखें। उनीहरूले जनावर वा त्यसको मूर्तिलाई पुजेका थिएनन् नता उनीहरूले आफ्ना निधार वा हातमा त्यसको चिन्ह लाएका थिए। उनीहरू फेरि जिउँदो भएर उठे अनि एक हजार वर्षसम्म ख्रीष्टसित राज्य गरे। तर बाँकी रहेका मुर्दाहरूचाहिँ ती हजार वर्ष नबितुञ्जेल जिउँदो भएर उठेनन्। पहिलो पुनरुत्थान यही हो। पहिलो पुनरुत्थानमा बाँचेर उठ्नेहरू धन्य हुन्। दोस्रो मरणले उनीहरूलाई केही गर्न सक्दैन। उनीहरू परमेश्वर र ख्रीष्टलाई मान्ने पूजाहारी हुनेछन् र उहाँसित एक हजार वर्षसम्म राज गर्नेछन्। हजार वर्ष बितेपछि शैतान आफ्नो कैदबाट मुक्त हुनेछ र पृथ्वीका चारैतिर भएका जाति-जातिका मानिसहरूलाई अर्थात् “गोग” र “मागोग” लाई ठग्न जानेछ। शैतानले समुद्रको बालुवाजत्तिकै सङ्ख्यामा लडाइँ गर्न तिनीहरूलाई भेला गराउनेछ। तिनीहरू सारा पृथ्वीभरि फिँजिएर गए अनि परमेश्वरका भक्तहरूका छाउनी र उहाँले प्रेम गर्नुभएको सहरलाई घेरा हाले तर स्वर्गबाट आगो वर्षेर उनीहरूलाई नाश पार्यो। जाति-जातिलाई ठग्ने त्यो दुष्ट शैतानचाहिँ आगो र गन्धकको कुण्डमा फ्याँकियो, जहाँ त्यो जनावर र झूटा अगमवक्ता पहिल्यै फ्याँकिएका थिए। तिनीहरूले रात-दिन सधैँभरि दु:ख-कष्ट भोगिरहनेछन्। तब एउटा ठूलो सेतो सिंहासन र त्यसमाथि विराजमान् हुनुहुनेलाई मैले देखें। उहाँको सामुन्नेबाट आकाश र पृथ्वी भागे र तिनीहरू फेरि देखा परेनन्। अनि मरेका साना र ठूला सबै सिंहासनको अगाडि उभिरहेको मैले देखें अनि पुस्तकहरू खोलिएका थिए, अनि अर्को एउटा पुस्तक पनि खोलियो जुनचाहिँ जीवनको पुस्तक हो। ती पुस्तकहरूमा लेखिएका उनीहरूका कामअनुसार मरेकाहरूको न्याय गरिँदै थियो। समुद्रले त्यसका मुर्दाहरू सुम्पिदियो, मृत्यु र पातालले आफूसँग राखेका मुर्दाहरूलाई सुम्पिदिए र सबैको आ-आफूले गरेका कामअनुसार न्याय भयो। यसपछि मृत्यु र पाताल पनि अग्नि-कुण्डमा फ्याँकिए (यो अग्नि-कुण्ड दोस्रो मरण हो)। जस-जसको नाउँ जीवनको पुस्तकमा लेखिएको थिएन, तिनीहरू आगोको कुण्डमा फ्याँकिए।