YouVersion लोगो
खोज आइकन

प्रकाश 19:6-21

प्रकाश 19:6-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

त्‍यसपछि एउटा ठूलो भीड़को सोरजस्‍तो मैले सुनें, उर्लंदो पानीहरूको आवाज र धेरै शक्तिशाली मेघ गर्जनको आवाजजस्‍तो मैले सुनें, जसले यसो भनिरहेको थियो: “हल्‍लेलूयाह! किनकि परमप्रभु हाम्रा परमेश्‍वर सर्वशक्तिमान्‌ले राज्‍य गर्नुहुन्‍छ। हामी रमाऔं र अत्‍यन्‍त खुशी होऔं, र उहाँलाई महिमा दिऔं! किनकि थुमाका विवाहको दिन आएको छ, र उहाँकी दुलही स्‍वयम्‌ तयार भएकी छिन्‌। चहकिलो र स्‍वच्‍छ मलमलको वस्‍त्र पहिरन तिनलाई दिइयो।” चहकिलो मलमलको वस्‍त्र सन्‍तहरूका धार्मिक कार्य हुन्‌। अनि ती स्‍वर्गदूतले मलाई भने, “यो लेख, थुमाका विवाहको भोजमा निमन्‍त्रणा पाउनेहरू धन्‍यका हुन्‌।” तिनले फेरि मलाई भने, “परमेश्‍वरका सत्‍य वचनहरू यी नै हुन्‌।” अनि तिनलाई दण्‍डवत्‌ गर्न म तिनको पाउमा घोप्‍टो परें। तर तिनले मलाई भने, “तिमीले मलाई यसो गर्नुहुँदैन। म येशूको गवाही कायम राख्‍ने तिम्रा भाइहरूको र तिम्रो सङ्गी-दास मात्र हुँ। परमेश्‍वरलाई दण्‍डवत्‌ गर! किनकि येशूको गवाही अगमवाणीको आत्‍मा हो। मैले स्‍वर्ग उघ्रेको देखें र त्‍यहाँ एउटा सेतो घोडा थियो। त्‍यसमाथि सवार हुनुहुने “विश्‍वासयोग्‍य” र “सत्‍य” कहलाइनुहुन्‍छ। धार्मिकतामा उहाँले इन्‍साफ र युद्ध गर्नुहुन्‍छ। उहाँका आँखा आगोका ज्‍वालाजस्‍ता थिए, र उहाँका शिरमा धेरै राजमुकुट थिए। उहाँमा एउटा नाउँ अङ्कित थियो, जो उहाँलाई बाहेक अरू कसैलाई थाहा थिएन। उहाँले रगतमा चोबलिएको पोशाक पहिरनुभएको थियो, र उहाँको नाउँ “परमेश्‍वरको वचन” थियो। स्‍वर्गका सेनाहरू सेता र स्‍वच्‍छ मलमलका वस्‍त्र पहिरिई सेता घोडाहरूमा चड़ेर उहाँको पछिपछि लागे। जाति-जातिहरूलाई प्रहार गर्न उहाँको मुखबाट धारिलो तरवार निस्‍कन्‍छ, र उहाँले फलामको डन्‍डाले तिनीहरूमाथि शासन गर्नुहुनेछ। सर्वशक्तिमान्‌ परमेश्‍वरका क्रोधको दाख-कुण्‍ड उहाँले कुल्‍चनुहुन्‍छ। उहाँका पोशाक र तिघ्रामा “राजाहरूका राजा र प्रभुहरूका प्रभु” अङ्कित छ। तब मैले एउटा स्‍वर्गदूत सूर्यमा उभिरहेका देखें। तिनले मध्‍य आकाशमा उड्‌ने सबै पक्षीहरूलाई चर्को सोरले यसो भने, “आओ, परमेश्‍वरको ठूलो भोजमा भेला होओ। तिमीहरूले राजाहरू, कप्‍तानहरू, शक्तिशाली मानिसहरू र घोडाहरू र तीमाथि सवार हुनेहरू, फुक्‍का र कमारा-कमारीहरू, ठूला र साना सबैको मासु खानेछौ।” अनि घोडामा सवार हुने र उहाँका सेनाहरूका विरुद्धमा युद्ध गर्न त्‍यो पशु र पृथ्‍वीका राजाहरू र तिनका सेनाहरू भेला भएका मैले देखें। तब त्‍यो पशु र त्‍यसको उपस्‍थितिमा अचम्‍म काम गर्ने झूटो अगमवक्ता दुवै पक्राउ परे। यी अचम्‍मका कामहरूद्वारा त्‍यस झूटो अगमवक्ताले त्‍यस पशुको छाप लिने र त्‍यसको मूर्तिको पूजा गर्नेहरूलाई बहकाएको थियो। यी दुवै जलिरहेको गन्‍धकको अग्‍नि-कुण्‍डमा जिउँदै फालिए। बाँकी रहेकाहरूचाहिँ घोडामाथि सवार हुनुहुनेको मुखबाट निस्‍केको तरवारद्वारा मारिए, र सबै पक्षीहरूले तिनका मासु अघाउञ्‍जेल खाए।

शेयर गर्नुहोस्
प्रकाश 19 पढ्नुहोस्

प्रकाश 19:6-21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तब एउटा ठूलो भीडको जस्तो, पानीको बेगजस्तो आवाज र मेघ गर्जनको आवाजजस्तो यसरी चिच्याएको मैले सुनेँ: “हल्‍लेलूयाह! किनकि हाम्रा सर्वशक्तिमान् परमप्रभु परमेश्‍वरले राज्य गर्नुहुन्छ, हामी आनन्द मनाऔँ, खुशी होऔँ, र उहाँलाई महिमा दिऔँ! किनकि थुमाको विवाहको बेला आइपुगेको छ; अनि उहाँकी दुलहीले आफूलाई तयार पारेकी छिन्। तिनलाई चहकिलो र स्वच्छ मलमलको कपडा पहिरनलाई दिइएको थियो।” मसिनो मलमलको कपडाले सन्तहरूको धार्मिक कार्यलाई जनाउँछ। अनि ती स्वर्गदूतले मलाई भने, “यो लेख: ‘थुमाको विवाहको भोजको निम्तो पाउनेहरू धन्यका हुन्!’ ” अनि तिनले अझ थपेर भने, “यी परमेश्‍वरका सत्य वचनहरू हुन्।” अनि म तिनको पाउमा दण्डवत् गर्नलाई घोप्टो परेँ। तर तिनले मलाई भने, “यसो नगर! म येशूको गवाही कायम राख्ने तिमी र तिम्रा दाजुभाइ-दिदीबहिनीहरूझैँ एक जना सङ्गी-सेवक हुँ। परमेश्‍वरको मात्र आराधना गर! किनकि अगमवाणीका आत्माले नै येशूको गवाही बोकेका छन्।” मैले स्वर्ग उघ्रिएको देखेँ, र मेरो सामु एउटा सेतो घोडा थियो, जसको सवारलाई विश्‍वासयोग्य र सत्य भनिन्छ। उहाँले निष्पक्षसित न्याय र लडाइँ गर्नुहुन्छ। उहाँका आँखाहरू बल्दैगरेको आगोजस्ता छन्, र उहाँका शिरमा धेरै मुकुटहरू छन्। उहाँमा एउटा नाम लेखिएको छ, जो उहाँबाहेक अरू कसैले जान्दैन। उहाँले रगतमा चोपिएको एउटा पोशाक पहिरिनुभएको छ; अनि उहाँको नाम परमेश्‍वरको वचन हो। सेता घोडाहरूमा सवार भएका, मिहिन सेता र स्वच्छ मलमलको वस्त्र पहिरेका स्वर्गीय सेनाहरूले उहाँलाई पछ्याइरहेका थिए। राष्ट्रहरूलाई प्रहार गर्न उहाँको मुखबाट एउटा धारिलो तरवार निस्केको छ। “उहाँले फलामको राजदण्डले तिनीहरूमाथि शासन गर्नुहुनेछ।” उहाँले सर्वशक्तिमान् परमेश्‍वरको क्रोधको मद्यको कोल कुल्चनुहुनेछ। उहाँको वस्त्र र तिघ्रामा यो नाम लेखिएको छ: राजाहरूका राजा र प्रभुहरूका प्रभु। अनि मैले एक जना स्वर्गदूतलाई सूर्यमा उभिरहेका देखेँ, जसले आकाशको बीचमा उडिरहेका चराहरूलाई चर्को सोरमा भनिरहेका थिए, “आओ, परमेश्‍वरको ठूलो भोजको लागि एकसाथ भेला होओ; अनि तिमीहरूले राजाहरू, सेनापतिहरू, शक्तिशाली योद्धाहरू, घोडाहरू, त्यसका सवारहरू, स्वतन्त्र र सेवक-सेविकाहरू, ठूला-सानाहरू सबैका मासु खान पाउनेछौ।” तब मैले त्यो पशु, पृथ्वीका राजाहरू, र तिनीहरूका सेनाहरूलाई त्यस घोडामाथि सवार हुनुहुने र उहाँका सेनाहरूसित युद्ध गर्नलाई एकसाथ भेला भएको देखेँ। तर त्यो पशु पक्राउ पर्‍यो, र त्योसँगै त्यसको पक्षमा अचम्मका शक्तिशाली कामहरू गर्ने त्यो झूटा अगमवक्ता पनि, जसले यी अलौकिक चिन्हहरूद्वारा पशुको छाप लगाउने र त्यसको मूर्तिलाई आराधना गर्नेहरूलाई बहकाएको थियो। ती दुवै जलिरहेको गन्धकको अग्निकुण्डमा जिउँदै फालिए। अरू बाँकी रहेकाहरूचाहिँ घोडामा सवार हुनुहुनेको मुखबाट निस्केको तरवारद्वारा मारिए; अनि सबै चराहरूले तिनीहरूको मासु लुछ्दै खाए र अघाए।

शेयर गर्नुहोस्
प्रकाश 19 पढ्नुहोस्

प्रकाश 19:6-21 पवित्र बाइबल (NERV)

त्यसपछि मैले ठूलो भीड़ले गरेको आवाज, बाढिको पानीको आवाज जस्तै ठूलो गर्जनको आवाज जस्तै, यसो भन्दै गरेको सुनें: “हल्लेलूयाह। हाम्रा परमप्रभु परमेश्वरले शासन गर्नुहुन्छ। उहाँ माहा-शक्तिशाली हुनुहुन्छ। हामी खुशी मनाऔं अनि खुशी होऔं अनि परमेश्वरलाई महिमा प्रदान गरौं! परमेश्वरको थुमाको विवाह आएकोछ। अनि परमेश्वरको थुमाकी बेहुलीले स्वयंलाई तयार पारेकी छे। बेहुलीको पहिरनकोलागि उत्तम मलमल दिइएको थियो। मलमल चम्किलो र सफा थियो।” (उत्तम मलमल को अर्थ परमेश्वरको मानिसहरूको सुकर्म।) तब त्यस स्वर्गदूतले मलाई भने, “यो लेख धन्य हुन् ती मानिसहरू जसलाई परमेश्वरको थुमाको विवाह-भोजमा निमंत्रणा गरियो।” तब त्यस स्वर्गदूतले भने, “यी परमेश्वरका सत्य वचन हुन्।” म उसलाई आराधना गर्नकानिम्ति स्वर्गदूतको पाउमा झूकें। तर स्वर्गदूतले मलाई भने, “मलाई आराधना नगर! म, तिमी अनि तिम्रो भाइहरू जस्तै सेवक हुँ जोसित येशूको सत्यता छ। यसर्थ परमेश्वरको आरधना गर किनभने अगमवाणीको आत्मा नै येशूको गवाही हो।” तब मैले खोलिएको स्वर्ग देखें। मेरो सामुन्ने एउटा सेतो घोडा थियो। घोड सवारलाई विश्वासी अनि सत्य भनिन्छ। तिनी ठीक न्याय गर्छन् अनि साँच्चो लडाँईं लडाउँछन्। तिनका आँखा बल्दै गरेको आगो जस्तो छ। तिनका शिरमा अनेक मुकुटहरू छन्। तिनको नाउँ तिनीमाथि लेखिएको छ। तर तिनी मात्र एक जना छन् जसले त्यो नाउँ जान्दछन्। अन्य कुनै मानिसले त्यो नाउँ जान्दैन। तिनले रगतमा डुबाएको पोशाक पहिरेका थिए। तिनको नाउँ परमेश्वरको वचन हो। स्वर्गका सेनाहरू तिनलाई पछ्याइ रहेका थिए। तिनीहरू सेता घोडामा सवार थिए। तिनीहरू सेतो अनि सफा चिल्लो मलमलका पहिरनमा थिए। घोडसवारको मुखबाट एक धारिलो तरवार बाहिर निस्कन्छ। तिनले राष्ट्रहरूलाई परास्त गर्नका निम्ति यो तरवार प्रयोग गर्नेछन्। तिनले फलामे डन्डाले राष्ट्रहरूमाथि शासन गर्नेछन्। तिनले सर्वशक्तिमान् परमप्रभुको भयानक प्रकोपको दाख-भट्टीमा अङ्गूर निचोर्ने छन्। तिनको पोशाक अनि तिनको फिलामा यो नाउँ लेखिएको थियो: राजाहरूका राजा अनि प्रभुहरूका प्रभु त्यसपछि मैले सूर्यमा उभिएका एउटा स्वर्गदूतलाई देखें। त्यो स्वर्गदूतले ठूलो स्वरमा माथि आकाशमा उडिरहेका सबै पंक्षीहरूलाई भने, “परमेश्वरको महा-भोजमा सम्मिलित हुनु एक साथ आऊ। राजाहरू, सेनाका सेनाध्यक्षहरू अनि प्रसिद्ध मानिसहरूको मासु खान एक साथ आऊ। घोड़ाका अनि तिनका सवारहरूका अनि सबै मुक्त, दास, साना अनि ठूला मानिसहरूको मासु खान एक साथ आऊ।” त्यसपछि मैले त्यो पशु अनि पृथ्वीका राजाहरू देखें। तिनीहरूका सेनाहरू घोड़-सवार अनि तिनका सेनासित युद्ध गर्नका निम्ति एकसाथ भेला भएका थिए। तर त्यो पशुलाई कब्जा गरियो। झूटो अगमवक्तलाई पनि कैद गरियो। यो झूटो अगमवक्ता त्यो थियो जसले त्यो पशुको निम्ति चमत्कारीक संकेतहरू गरेको थियो। झूटो अगमवक्ता त्यो थियो जसले त्यो पशुको लागि चमत्कारिक संकेतहरू गर्थ्यो। असत्य अगमवक्ताले ती मानिसहरूलाई जसमा पशुको चिन्ह लगाइको थियो अनि पशुका मूर्तिलाई पूजा गर्थे, छक्याउन चमत्कारिक कर्महरू गर्थ्यो। त्यो झूटो अगमवक्त अनि पशुलाई गन्धक बल्ने आगोको कुवामा फ्याँकी दिए। तिनीहरूका सेनाहरू घोड-सवारको मुखबाट निस्केको तरवारद्वारा मारिए। सम्पूर्ण पक्षीहरूले पेट भरुन्जेल ती शवहरू खाए।

शेयर गर्नुहोस्
प्रकाश 19 पढ्नुहोस्

प्रकाश 19:6-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

यसपछि मानिसको ठूलो घुइँचोको सोर वा पानीको छाँगाको आवाज जस्‍तो र बादलमा गड्‌याङ-गुडुङ‌को गर्जनजस्‍तो आवाजले यसो भनेको मैले सुनें: “परमेश्‍वरको प्रशंसा होस्! हाम्रा प्रभु सर्वशक्तिमान् परमेश्‍वर महाराजा हुनुहुन्‍छ। हामी रमाऔं र खुसी मनाऔं! उहाँको जयजयकार गरौं! किनभने थुमाको विवाहको दिन आइसक्‍यो र उहाँकी दुलही तयार भइसकेकी छिन्! लगाउनका लागि तिनलाई सफा चम्‍कने वस्‍त्र दिइएको छ।” सफा वस्‍त्रचाहिँ परमेश्‍वरका भक्तहरूका असल काम हुन्। यसपछि स्‍वर्गदूतले मलाई यसो भनेर अह्राए, “यो कुरा लेख: थुमाको विवाहको भोजमा बोलाइएका सबै धन्‍य हुन्।” तब स्‍वर्गदूतले फेरि भने, “यी कुरा परमेश्‍वरले भन्‍नुभएका साँचा वचन हुन्।” तब ती स्‍वर्गदूतलाई आदर गर्न म उनको अघि झुकें, तर उनले मलाई भने, “यसो नगर।” मचाहिँ तिमी, तिम्रा भाइहरूसित र येशूको साँचो वचन मान्‍ने सबैसित काम गर्ने परमेश्‍वरको सेवक मात्र हुँ। परमेश्‍वरलाई मात्र पुज।” किनभने प्रभु येशू ख्रीष्‍टले प्रकट गर्नुभएको सत्‍यले नै अगमवक्तालाई प्रेरणा दिन्‍छ। अनि मैले स्‍वर्ग खोलिएको देखें र एउटा सेतो घोडा देखें। त्‍यो घोडामाथि सवारी हुनेको नाउँ ‘विश्‍वासिलो र सत्‍य’ रहेछ। उहाँले ठीकसित न्‍याय गर्नुहुन्‍छ र लडाइँ गर्नुहुन्‍छ। उहाँका आँखा आगोको ज्‍वालाजस्‍ता रहेछन् र उहाँका टाउकोमा धेरै मुकुट थिए। उहाँको एउटा नाउँ लेखिएको थियो तर त्‍यो नाउँ उहाँलाई मात्र थाहा छ। उहाँले लाउनुभएको लुगा रगतले भरिएको थियो। उहाँको नाउँचाहिँ “परमेश्‍वरको वचन” हो। सेता घोडामा चढेका र सफा सेता लुगा लाएका स्‍वर्गका सेनाहरू उहाँका पछि-पछि लागे। उहाँको मुखबाट एउटा धारिलो तरवार निस्‍केको थियो। त्‍यो तरवार लिएर उहाँले जाति-जातिलाई जित्‍नुहुनेछ। उहाँले उनीहरूमाथि कडा शासन गर्नुहुनेछ र कोलमा दाख कुल्‍ची रस निकालेझैँ उहाँले सर्वशक्तिमान् परमेश्‍वरको क्रोधको कोलमा तिनीहरूलाई कुल्‍चनुहुनेछ। उहाँको लुगा र उहाँको तिघ्रामा “राजाहरूका राजा र प्रभुहरूका प्रभु” भन्‍ने नाउँ लेखिएको थियो। यसपछि मैले घाममाथि उभिरहेका एक स्‍वर्गदूत देखें। आकाशमा उडिरहेका सबै चराहरूलाई यसो भनेर ठूलो सोरले उनी कराए, “आओ, परमेश्‍वरको ठूलो भोज खान जम्‍मा होओ। राजाहरू, सेनापतिहरू र सेनाहरूका मासु, घोडा-घोडामा चढ्‍नेहरूको मासु, ठूला र साना, कमारा र फुक्‍का सबैको मासु खान आओ!” “तब त्‍यो जनावर र संसारका राजा आ-आफ्‍ना सेना लिएर सेता घोडामा सवारी हुनेको र उहाँका सेनाहरूको विरोधमा लडाइँ गर्न जम्‍मा भएका मैले देखें। जनावर र त्‍यसको अगाडि अचम्‍मका चिन्‍हहरू देखाउने त्‍यो झूटो अगमवक्ता पनि कैदी भयो। ती अचम्‍मका चिन्‍हहरूले नै त्‍यसले त्‍यो जनावरको चिन्‍ह लाउने र जनावरको मूर्ति पूज्‍नेहरूलाई छलेको थियो। ती दुवै जिउँदै गन्‍धकले जलिरहेको त्‍यो आगोको कुण्‍डमा फ्‍याँकिए अनि तिनीहरूका सेना चाहिँ घोडामाथि सवारी हुनेको मुखबाट निस्‍केको तरवारले मारिए। चराहरूले ती सबैका लाश खाएर अघाए।

शेयर गर्नुहोस्
प्रकाश 19 पढ्नुहोस्