प्रकाश 19:1-7

प्रकाश 19:1-7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

त्‍यसपछि मैले स्‍वर्गबाट एउटा ठूलो भीड़ले चर्को सोरमा यसो भनिरहेको जस्‍तो सुनें, “हल्‍लेलूयाह! मुक्ति, महिमा र शक्ति हाम्रा परमेश्‍वरका हुन्, किनकि उहाँका इन्‍साफ सत्‍य र न्‍यायसङ्गत छन्‌। सारा पृथ्‍वीलाई आफ्‍नो व्‍यभिचारले भ्रष्‍ट पार्ने त्‍यस महा वेश्‍यालाई उहाँले दण्‍ड दिनुभएको छ, र उहाँका दासहरूका रगतको बदला लिइसक्‍नुभएको छ।” तिनीहरूले फेरि एक पल्‍ट उच्‍च सोरले भने, “हल्‍लेलूयाह! त्‍यो महानगरी जलेको धूवाँ सदासर्वदा मास्‍तिर गइरहन्‍छ।” अनि ती चौबीसै धर्म-गुरु र ती चार जीवित प्राणीहरूले घोप्‍टो परेर सिंहासनमा विराजमान हुनुभएको परमेश्‍वरलाई यसो भनेर दण्‍डवत्‌ गरे, “आमेन, हल्‍लेलूयाह!” तब सिंहासनबाट यसो भनिरहेको एउटा आवाज आयो, “हाम्रा परमेश्‍वरको प्रशंसा गर, उहाँका सबै दास हो, तिमीहरू साना र ठूला जसले उहाँको भय मान्‍दछौ।” त्‍यसपछि एउटा ठूलो भीड़को सोरजस्‍तो मैले सुनें, उर्लंदो पानीहरूको आवाज र धेरै शक्तिशाली मेघ गर्जनको आवाजजस्‍तो मैले सुनें, जसले यसो भनिरहेको थियो: “हल्‍लेलूयाह! किनकि परमप्रभु हाम्रा परमेश्‍वर सर्वशक्तिमान्‌ले राज्‍य गर्नुहुन्‍छ। हामी रमाऔं र अत्‍यन्‍त खुशी होऔं, र उहाँलाई महिमा दिऔं! किनकि थुमाका विवाहको दिन आएको छ, र उहाँकी दुलही स्‍वयम्‌ तयार भएकी छिन्‌।

शेयर गर्नुहोस्
प्रकाश 19 पढ्नुहोस्

प्रकाश 19:1-7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

यसपछि मैले स्वर्गमा एउटा ठूलो भीडले यसरी चिच्याएको सोर सुनेँ: “हल्‍लेलूयाह! मुक्ति, महिमा र शक्ति हाम्रा परमेश्‍वरका हुन्; किनकि उहाँका न्यायहरू सत्य र न्यायपूर्ण छन्। आफ्ना व्यभिचारद्वारा पृथ्वीलाई भ्रष्‍ट पार्ने त्यस महावेश्यालाई उहाँले दण्ड दिनुभएको छ। अनि परमेश्‍वरले त्यससित आफ्ना सेवकहरूका रगतको बदला लिइसक्नुभएको छ।” अनि तिनीहरू फेरि चिच्याए: “हल्‍लेलूयाह! त्यस स्त्रीबाट निस्केको न्यायको धुवाँ सदासर्वदाको लागि उँभोतिर गइरहन्छ।” ती चौबीस प्रधानहरू र ती चार जीवित प्राणीहरूले घोप्टो परेर सिंहासनमा बस्‍नुहुने परमेश्‍वरलाई आराधना गरे। अनि तिनीहरू यसो भन्दै कराए: “आमेन, हल्‍लेलूयाह!” तब सिंहासनबाट यसो भनिरहेको एउटा आवाज आयो: “हे उहाँका सबै सेवकहरू हो, तिमीहरू जो उहाँसित डराउँछौ, अर्थात् साना र ठूलाहरू दुवै, हाम्रा परमेश्‍वरलाई प्रशंसा गर।” तब एउटा ठूलो भीडको जस्तो, पानीको बेगजस्तो आवाज र मेघ गर्जनको आवाजजस्तो यसरी चिच्याएको मैले सुनेँ: “हल्‍लेलूयाह! किनकि हाम्रा सर्वशक्तिमान् परमप्रभु परमेश्‍वरले राज्य गर्नुहुन्छ, हामी आनन्द मनाऔँ, खुशी होऔँ, र उहाँलाई महिमा दिऔँ! किनकि थुमाको विवाहको बेला आइपुगेको छ; अनि उहाँकी दुलहीले आफूलाई तयार पारेकी छिन्।

शेयर गर्नुहोस्
प्रकाश 19 पढ्नुहोस्

प्रकाश 19:1-7 पवित्र बाइबल (NERV)

तब मैले स्वर्गमा धेरै मानिसहरूको बढो भीडले गरेको गर्जन जस्तै आवाज सुनें। तिनीहरू भन्दै थिए, “हल्लेलूयाह! विजय, महिमा अनि सक्ति हाम्रा परमेश्वरमा रहिरहुन्। किनभने उहाँको न्याय सत्य अनि सही छ। हाम्रा परमेश्वरले वेश्यालाई दण्डित तुल्याउनु भयो। ऊ नै हो जसले आफ्नो व्याभिचारद्वारा पृथ्वीलाई भ्रष्ट पारी, परमेश्वरले वेश्यालाई दण्ड दिएर, आफ्ना सेवकहरूको रगतको बद्ला लिए।” स्वर्गका मानिसहरूले यो पनि भनेः “हल्लेलूयाह! त्यो जल्दैछे अनि त्यसको धुवाँ सदा-सर्वदा उँभो जान्छ।” त्यसपछि चौबीस धर्मगुरुहरू अनि चार जीवित जीवातहरू निहुरिए अनि परमेश्वरको उपासना गरे जो सिंहासनमा बसिरहेका थिए यसो भन्दै: “आमिन! हल्लेलूयाह!” त्यापछि सिंहासनबाट एउटा आवाज आयो। आवाजले भन्यो, “तिमी सबै मानिसहरू जो उहाँको सेवा गर्छौं, हाम्रा परमेश्वरको स्तुति गर! तिमीहरू सबै साना-ठूला मानिसहरू जसले उहाँको सम्मान गर्छो, हाम्रा परमेश्वरको स्तुति गर!” त्यसपछि मैले ठूलो भीड़ले गरेको आवाज, बाढिको पानीको आवाज जस्तै ठूलो गर्जनको आवाज जस्तै, यसो भन्दै गरेको सुनें: “हल्लेलूयाह। हाम्रा परमप्रभु परमेश्वरले शासन गर्नुहुन्छ। उहाँ माहा-शक्तिशाली हुनुहुन्छ। हामी खुशी मनाऔं अनि खुशी होऔं अनि परमेश्वरलाई महिमा प्रदान गरौं! परमेश्वरको थुमाको विवाह आएकोछ। अनि परमेश्वरको थुमाकी बेहुलीले स्वयंलाई तयार पारेकी छे।

शेयर गर्नुहोस्
प्रकाश 19 पढ्नुहोस्

प्रकाश 19:1-7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

यसपछि स्‍वर्गमा मानिसहरूको ठूलो घुइँचोको आवाज जस्‍तो यसो भनेको मैले सुनें, “परमेश्‍वरको प्रशंसा होस्! उद्धार, सम्‍मान् र अधिकार परमेश्‍वरकै हुन्! उहाँका न्‍याय ठीक-ठीक र सत्‍य छन्। आफ्‍ना व्‍यभिचारले सारा पृथ्‍वीलाई बिगार्ने त्‍यो वेश्‍यालाई उहाँले ठीक सजाय दिनुभएको छ। उहाँले आफ्‍ना सेवकहरूको रगतको बदला त्‍यसैमाथि लिनुभएको छ।” फेरि एक पटक उनीहरूले यसो भनेर कराए, “परमेश्‍वरलाई प्रशंसा होस्, त्‍यो ठूलो सहरलाई ध्‍वंश गर्ने आगोको धुवाँ सधैँ उभोतिर गइरहनेछ।” तब ती चौबीस धर्म-गुरु र ती चार जीवित प्राणीहरूले सिंहासनमा विराजमान् हुनुभएका परमेश्‍वरलाई दण्‍डवत् गरे अनि यसो भनेर उहाँको जयजयकार गरे, “आमेन। परमेश्‍वरको प्रशंसा होस्।” सिंहासनबाट एउटा ठूलो सोरमा यसो भनेको सुनियो, “परमेश्‍वरका सेवक हो, उहाँलाई मान्‍नेहरू, साना-ठूला सबैले उहाँको जयजयकार गर।” यसपछि मानिसको ठूलो घुइँचोको सोर वा पानीको छाँगाको आवाज जस्‍तो र बादलमा गड्‌याङ-गुडुङ‌को गर्जनजस्‍तो आवाजले यसो भनेको मैले सुनें: “परमेश्‍वरको प्रशंसा होस्! हाम्रा प्रभु सर्वशक्तिमान् परमेश्‍वर महाराजा हुनुहुन्‍छ। हामी रमाऔं र खुसी मनाऔं! उहाँको जयजयकार गरौं! किनभने थुमाको विवाहको दिन आइसक्‍यो र उहाँकी दुलही तयार भइसकेकी छिन्!

शेयर गर्नुहोस्
प्रकाश 19 पढ्नुहोस्