भजनसंग्रह 94:1-23
भजनसंग्रह 94:1-23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हे परमप्रभु! तपाईं दण्ड दिनुहुने परमेश्वर हुनुहुन्छ, आफ्नो क्रोध प्रकट गर्नुहोस्! तपाईं सबै मानिसहरूका न्यायकर्ता हुनुहुन्छ, उठ्नुहोस् र अहङ्कारीले जे फल पाउनु उचित छ, त्यही त्यसलाई दिनुहोस्। कहिलेसम्म दुष्टहरूले आनन्द गर्न पाउँछन्? कहिलेसम्म, परमप्रभु? कहिलेसम्म अपराधीहरूले अहङ्कारी भएर आफ्ना अपराधमा घमण्ड गर्न पाउनेछन्? हे परमप्रभु! तिनीहरूले तपाईंका प्रजालाई चुर-चुर पार्दछन्, तपाईंका जनहरूलाई सताउँदछन्। तिनीहरूले विधवाहरू र टुहुराटुहुरीहरूलाई मार्दछन् र हाम्रा देशमा बास गर्ने परदेशीहरूको हत्या गर्दछन्। तिनीहरू भन्छन्, “परमप्रभुले हामीलाई देख्नुहुन्न। इस्राएलका परमेश्वरले चाल पाउनुहुन्न।” मेरा मानिसहरू हो! कसरी तिमीहरू यस्ता मूर्ख र हुस्सू हुन सक्छौ? तिमीहरूले कहिले सिक्ने? परमेश्वरले हाम्रा कान बनाउनुभयो, के उहाँले सुन्नुहुन्न र? उहाँले हाम्रा आँखा बनाउनुभयो, के उहाँ आफैंले देख्नुहुन्न र? उहाँले जाति-जातिहरूलाई हप्काउनुहुन्छ, के उहाँले तिनीहरूलाई दण्ड दिनुहुन्न र? उहाँ सबै मानिसहरूका गुरु हुनुहुन्छ, के उहाँको आफ्नो ज्ञान छैन र? परमप्रभुले तिनीहरूका सोचाइ जान्नुहुन्छ; तिनीहरूका विचार कस्तो विवेकहीन छ, त्यो पनि जान्नुहुन्छ। परमप्रभु, जसलाई तपाईंले शिक्षा दिनुहुन्छ, जसलाई तपाईं आफ्ना व्यवस्था सिकाउनुहुन्छ, त्यो कति खुसी हुन्छ! कष्टका दिनदेखि जबसम्म दुष्टहरू पर्ने खाडल तयार हुन्न, तबसम्म तपाईंले उसलाई विश्राम दिनुहुन्छ। परमप्रभुले आफ्ना प्रजालाई त्याग्नुहुन्न, जो-जो मानिसहरू उहाँका हुन्, उहाँले तिनीहरूलाई छोड्नुहुन्न। अड्डामा न्याय फेरि पाइनेछ र सबै धर्मी मानिसहरूले त्यसको समर्थन गर्नेछन्। दुष्टहरूका विरुद्धमा को मसँग खडा थियो? दुष्कर्मीहरूको विरुद्धमा कसले मेरो साथ दियो? परमप्रभुले मेरो मद्दत गर्नुनभएको हुँदो हो ता म चाँडै सुनसान मृत्यु-लोकमा पुग्नेथिएँ। मैले भनें, “म ढल्दै छु,” तर हे परमप्रभु! तपाईंको अटुट प्रेमले मलाई थामिराख्यो। जहिले-जहिले चिन्ता-फिक्री मलाई आइपर्दछ, तपाईंले मलाई सान्त्वना दिनुहुन्छ र खुसी बनाउनुहुन्छ। भ्रष्ट न्यायकर्ताहरू, जसले अन्यायलाई न्याय बनाउँदछन्, जसले असल मानिसहरूका विरुद्धमा जाल गर्छन् र निर्दोषीलाई प्राण दण्ड दिँदछन्, तिनीहरूसँग तपाईंको कुनै सरोकार छैन। तर परमप्रभुले मलाई बचाउनुहुन्छ, मेरा परमेश्वरले मेरो रक्षा गर्नुहुन्छ। परमेश्वरले तिनीहरूलाई आफ्ना दुष्टताको लागि दण्ड दिनुहुनेछ, आफ्ना पापको लागि तिनीहरूलाई नष्ट पार्नुहुनेछ। परमप्रभु हाम्रा परमेश्वरले, तिनीहरूलाई नाश गर्नुहुनेछ।
भजनसंग्रह 94:1-23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमप्रभु, प्रतिशोध लिनुहुने परमेश्वर, बदला लिनुहुने हे परमेश्वर, आफ्नो ज्योति प्रदर्शित गर्नुहोस्। हे पृथ्वीका न्यायाधीश, उठ्नुहोस्, अहङ्कारीहरूलाई तिनीहरूका कर्मको प्रतिफल दिनुहोस्। हे परमप्रभु, दुष्टहरू कहिलेसम्म रमाउने, कहिलेसम्म दुष्टहरू उल्लसित हुने? तिनीहरू हठी कुरा गर्छन्, सबै कुकर्मीहरू अहङ्कारले भरिएका छन्। हे परमप्रभु, तिनीहरूले तपाईंका प्रजालाई मिच्दछन्, र तपाईंको उत्तराधिकारका मानिसहरूलाई सताउँछन्। तिनीहरूले विधवा र विदेशीहरूको हत्या गर्दछन्, र अनाथहरूलाई मार्दछन्। तिनीहरू भन्छन्, “परमप्रभुले देख्नुहुन्न, याकूबका परमेश्वरले वास्ता गर्नुहुन्न।” मानिसहरूका माझमा ए विवेकहीन हो, विचार गर, ए मूर्ख हो, तिमीहरू कहिले बुद्धिमान् हुने? जसले कान दिनुभयो, के उहाँ सुन्नुहुन्न र? जसले आँखा सृजनुभयो, उहाँले देख्नुहुन्न र? जसले जाति-जातिलाई ताड़ना दिनुहुन्छ, के उहाँले दण्ड दिनुहुन्न र? मानिसलाई शिक्षा दिनुहुनेलाई बुद्धिको अभाव हुन्छ र? परमप्रभुले मानिसका विचारहरू जान्नुहुन्छ, तिनीहरू त निरर्थक हुन् भनी उहाँ जान्नुहुन्छ। हे परमप्रभु, त्यो मानिस धन्यको हो, जसलाई तपाईंले ताड़ना दिनुहुन्छ, र आफ्नो व्यवस्थाबाट सिकाउनुहुन्छ। त्यसलाई दु:खको दिनमा तबसम्म चैन दिनुहुन्छ, जबसम्म दुष्टहरूका निम्ति खाड़ल खनिँदैन। किनकि परमप्रभुले आफ्नो प्रजालाई फ्याँक्नुहुन्न, उहाँले आफ्नो निज उत्तराधिकारका मानिसहरूलाई त्याग्नुहुनेछैन। इन्साफ फेरि धार्मिकताको आधारमा गरिनेछ, र सबै सोझो मन भएकाहरू त्यसको पछि लाग्नेछन्। दुष्टहरूका विरुद्धमा मसँग को खड़ा हुनेछ? अधर्म गर्नेहरूका विरुद्धमा मेरो पक्षमा को उठ्नेछ? परमप्रभु मेरा सहायक नहुनुहुँदो हो त, मेरो प्राण अघि नै मृत्युको शून्यतामा वास गरिसक्नेथियो। “मेरो खुट्टा चिप्लिरहेछ” भनी जब मैले भनें, तब तपाईंको प्रेमले मलाई थाम्यो, हे परमप्रभु। जब मेरो मनमा ज्यादा फिक्री भयो, तपाईंको सान्त्वनाले मेरो प्राणलाई आनन्दित तुल्यायो। के दुष्ट शासकहरू तपाईंसँग मिल्न सक्छन्, जसले आफ्ना ऐनद्वारा विपद् ल्याउँछन्? तिनीहरू धर्मीहरूका विरुद्धमा गठबन्धन गर्छन्, र निर्दोषलाई मृत्युदण्ड दिन्छन्। तर परमप्रभु मेरो गढ़ हुनुभएको छ, र मेरा परमेश्वर मेरो शरणस्थानको चट्टान हुनुभएको छ। उहाँले तिनीहरूका पाप तिनीहरूमाथि खन्याइदिनुहुनेछ, र तिनीहरूका दुष्टताको निम्ति तिनीहरूलाई नाश गर्नुहुनेछ, परमप्रभु हाम्रा परमेश्वरले तिनीहरूलाई नाश गर्नुहुन्छ।
भजनसंग्रह 94:1-23 पवित्र बाइबल (NERV)
हे परमप्रभु, तपाईं परमेश्वर हुनहुन्छ, जसले मानिसहरूलाई दण्ड दिन्छ। तपाईं परमेश्वर हुनुहुन्छ जसले मानिसहरू प्रति दण्ड लिएर आउँछन्। तपाईं सारा पृथ्वीका न्याय पालक हुनुहुन्छ। अहंकारी मानिसहरूलाई दण्ड दिनुहोस् जो त्यसका लायक छन्। हे परमप्रभु, कहिले सम्म दुष्ट मानिसहरूले खेलाँची गर्नेछन्? कहिले सम्म परमप्रभु? कहिलेसम्म ती दुष्टकर्मीहरूले भयङ्कर कामहरू गर्नेछन्? हे परमप्रभु, तिनीहरूले तपाईंको मानिसहरूलाई कष्ट दिए। तिनीहरूले नै तपाईंका मानिसहरूलाई दुःखी, पीडित बनाए। ती दुष्ट मानिसहरूले हाम्रा देशमा बसिरहेका विधवाहरू र परदेशीहरूलाई मारे। तिनीहरूले माता-पिता नभएका नानीहरूलाई हत्या गरे। अनि तिनीहरूले भने परमप्रभुले तिनीहरूले गरिरहेका नीच कामहरू देख्दैनन्। तिनीहरूले भने कि इस्राएलका परमेश्वरले के भईरहेछ त्यो केही पनि जान्दैनन्। तिमी अबुझ मानिसहरू तिमीहरू कहिले ज्ञानी हुन्छौ? हे मूर्खहरू हो तिमीहरू कहिले चेतनशील हुन्छौ? तिमी पापी मानिसहरू अति हरिलट्ठक छौ। तिमीहरूले बुझ्नै पर्छ। परमेश्वरले हाम्रो कानहरू बनाउनु भयो, निश्चय नै जसले कान बनायो उसले सुन्न सक्नुहुन्छ। परमेश्वरले आँखा बनाउनु भयो, निश्चय नै के भइरहेको छ त्यो देख्न पनि सक्नुहुन्छ। परमेश्वरले ती मानिसहरूलाई अनुशासनमा राख्नु हुनेछ। ती मानिसहरूले के गर्नु पर्ने परमेश्वरले सिकाउनु हुनेछ। मानिसहरूले के सोचिरहेछन् परमेश्वर जान्नुहुन्छ। परमेश्वर जान्नुहुन्छ कि मानिसहरू हावाका झोंका मात्र हुन्। मानिस जसलाई परमप्रभुले अनुशासनमा राख्नु भएको छ त्यो सुखी हुनेछ। परमेश्वरले त्यस मानिसलाई ठीक तरिकाले बाँच्ने बाटो बताउनु हुनेछ। हे परमेश्वर, तपाईंले त्यस मानिसलाई सहयोग गर्नु हुनेछ, जो सङ्कट आईपर्दा बिछिन्न हुँदछ। जब सम्म ती दुष्ट मानिसहरूलाई चिहानमा पुरिदैन, त्यसलाई शान्ति बस्न तपाईंले सहायता गर्नु हुनेछ। परमप्रभुले आफ्ना मानिसहरूलाई त्याग्नु हुन्न, उहाँले तिनीहरूलाई सहयोग गर्न छोड्नुहुन्न। न्याय फर्केर निर्मलतासित आउने छ। अनि त्यहाँ असल, ईमान्दारी मानिसहरू हुनेछन्। कसैले पनि मलाई दुष्ट मानिसहरूको विरूद्ध लड्न सघाएनन्। कोही पनि मसँग ती नीच कर्म गर्ने मानिसहरूको विरूद्ध लडाईँ गर्न उभिएनन्। यदि परमप्रभुले मलाई सहायता नगर्नु भएको भए, मृत्युद्वारा म मौन भइसकेको हुन्थें। म जान्दछु कि म पतन हुन लागेको थिएँ, तर परमप्रभुले आफ्नो चेलालाई सहायता गर्नुभयो। म अत्यन्त चिन्तीत र हड्बडिएको थिएँ तर परमप्रभु, तपाईंले मलाई सान्त्वना दिनुभयो अनि खुशी पार्नुभयो! परमेश्वर, कपटी न्यायकर्त्तालाई सहयोग नगर्नुहोस्। ती दुष्ट न्यायकर्ताहरूले साधारण जनताको लागि, कठिन जीवन यापन गर्ने नियमहरू बनाउँदछन्। त्यस्ता न्यायकर्ताहरूले असल मानिसहरूलाई आक्रमण गर्दछन्। तिनीहरूलाई दोषी साबित गरेर मार्न लगाउँछन्। तर मेरो परमप्रभु, उच्च पर्वतमाथि मेरो सुरक्षाको ठाउँ हुनुहुन्छ। परमेश्वर मेरो चट्टान हुनुहुन्छ, मेरो सुरक्षाको ठाउँ। परमेश्वरले भयङ्कर कार्य गर्ने ती दुष्ट न्यायकर्ताहरूलाई दण्ड दिनुहुनेछ। परमेश्वरले तिनीहरूलाई नष्ट गर्नुहुनेछ किनभने तिनीहरूले पाप गरे। परमप्रभु हाम्रा परमेश्वरले ती पापी न्यायकर्ताहरूलाई नष्ट गर्नुहुनेछ।