YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 9:13-18

भजनसंग्रह 9:13-18 पवित्र बाइबल (NERV)

मैले परमेश्वरलाई यो प्रार्थना गरें, “हे परमप्रभु, ममाथि कृपा गर्नुहोस्। मेरो शत्रुहरूले मलाई सताइरहेछन्, ‘मृत्युको द्वारबाट’ मलाई बचाउँनु होस्। तब, यरूशलेमको प्रवेशद्वारहरूमा म तपाईंको लागि स्तुति-गान गर्न सक्छु। परमप्रभु म अत्यन्त खुशी हुनेछु किनभने तपाईंले मलाई बचाउँनु भयो।” ती मानिसहरू जो अन्य जातिहरूबाट आएका थिए, तिनीहरूले अरूलाई संकष्टमा पार्न खाडल खने। तर तिनीहरू आफूले थापेका पासोहरूमा आफैं फस्नेछन्। अनि तिनीहरू ती जालहरूमा आफैं पर्ने छन्। परमप्रभुले ती दुष्ट मानिसहरूलाई समाउनु हुनेछ, यसकारण मानिसहरूले अधर्म काम गर्दा परमप्रभुबाट दण्ड पाइन्छ भनेर ज्ञान पाउनेछन्। मानिसहरू जसले परमेश्वरलाई बिर्सन्छन् तिनीहरू दुष्टहरू हुन्, तिनीहरू मृत्युको ठाउँमा जानेछन्। कहिले काहीं यस्तो लाग्छ परमेश्वरले दुःखमा परेका मानिसहरूलाई बिर्सनु भयो। यस्तो भान हुन्छ ती गरीबहरूमा आशा छैन। तर परमेश्वले तिनीहरूलाई कहिल्यै पनि बिर्सनु हुने छैन।

शेयर गर्नुहोस्
भजनसंग्रह 9 पढ्नुहोस्

भजनसंग्रह 9:13-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

हे परमप्रभु, ममाथि अनुग्रह गर्नुहोस्‌। हेर्नुहोस्‌, मलाई घृणा गर्नेहरूबाट मैले कस्‍तो कष्‍ट भोग्‍नुपरेको छ। तपाईंले नै मलाई मृत्‍युको मुखबाट छुटाउनुहोस्‌, र सियोनकी छोरीका ढोकाहरूमा म तपाईंका सबै प्रशंसाको घोषणा गर्न सकूँ, र त्‍यहाँ तपाईंले गर्नुभएको उद्धारमा म रमाउन सकूँ। जाति-जातिहरू आफूले खनेको खाड़लमा आफै जाकिएका छन्‌। तिनीहरूले लुकाएर फैलाएको जालमा तिनीहरू आफै परेका छन्‌। परमप्रभु त उहाँकै न्‍यायद्वारा चिनिनुहुन्‍छ। दुष्‍टहरूचाहिँ आफ्‍नै हातका कामको जालमा फसेका छन्‌। (हिग्‍गायोन) सेला दुष्‍टहरूचाहिँ पातालमै फर्केर जानेछन्‌, सबै जातिहरू, जसले परमेश्‍वरलाई बिर्सन्‍छन्‌। तर दरिद्रहरूलाई सधैँ बिर्सिइनेछैन, पीडितहरूको आशा कहिल्‍यै चकनाचूर हुनेछैन।

शेयर गर्नुहोस्
भजनसंग्रह 9 पढ्नुहोस्

भजनसंग्रह 9:13-18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

हे याहवेह, हेर्नुहोस्, कसरी मलाई मेरा शत्रुहरूले खेदो गर्छन्। ममाथि कृपा गर्नुहोस् र मलाई मृत्युको मुखबाट छुटाउनुहोस्; ताकि सियोनकी छोरीका ढोकाहरूमा म तपाईंको प्रशंसाको घोषणा गर्न सकूँ र त्यहाँ तपाईंले गर्नुभएको मुक्तिमा म रमाउन सकूँ। राष्ट्रहरू आफूले खनेका खाडलमा आफैँ जाकिएका छन्; तिनीहरूले लुकाइराखेका जालमा तिनीहरूका आफ्नै पाउ परेका छन्। याहवेह त उहाँको न्यायको कामद्वारा चिनिनुहुन्छ; तिनीहरूका हातका कामद्वारा दुष्‍टहरू जालमा पर्दछन्। हिग्गियोन। सेला दुष्‍टहरूचाहिँ मृत्युको पातालमै फर्केर जानेछन्, सबै राष्ट्रहरू जसले परमेश्‍वरलाई बिर्सन्छन्। तर परमेश्‍वरले अभावमा हुनेहरूलाई कहिल्यै बिर्सनुहुनेछैन; पीडितहरूको आशा कहिल्यै चकनाचुर हुनेछैन।

शेयर गर्नुहोस्
भजनसंग्रह 9 पढ्नुहोस्

भजनसंग्रह 9:13-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

हे परमप्रभु! ममाथि दया गर्नुहोस्! मेरा शत्रुहरूले मलाई कष्‍ट दिएको हेर्नुहोस्! हे परमप्रभु! मलाई मृत्‍युदेखि बचाउनुहोस्! र म यरूशलेमका मानिसहरूको अघि खडा हुनेछु र जुन कुराका लागि म तपाईंको प्रशंसा गर्दछु, म तिनीहरूलाई ती सबै कुरा भन्‍नेछु। तपाईंले मलाई बचाउनुभएकोले म रमाउनेछु। अविश्‍वासीहरूले खाडल खने र आफैं त्‍यसमा परे; आफूले थापेको पासोमा तिनीहरू आफैं फसे। धर्मसित गरिएका निसाफमा परमप्रभु आफैं प्रकट हुनुभएको छ र दुष्‍टहरू आफ्‍नै कामका फन्‍दामा परेका छन्। सबै दुष्‍टहरू र परमेश्‍वर नमान्‍नेहरूका अन्‍त्‍य मृत्‍यु हो। अभावमा परेकाहरू सधैँभरि त्‍यागिनेछैनन्। दरिद्रको आशा सधैँभरि चकनाचुर हुनेछैन।

शेयर गर्नुहोस्
भजनसंग्रह 9 पढ्नुहोस्