भजनसंग्रह 77:1-20
भजनसंग्रह 77:1-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मैले सहायताको निम्ति परमेश्वरमा पुकारा गरें। उहाँले मलाई सुनून् भनेर मैले परमेश्वरलाई पुकारें। मेरो दु:खको घड़ीमा मैले परमप्रभुलाई खोजें, राती नथाकी मेरो हात पसारें, अनि मेरो प्राणले सान्त्वना ग्रहण गर्न चाहेन। हे परमेश्वर, मैले तपाईंलाई सम्झें, र अफसोस गरें, मैले चिन्ता गरें, र मेरो आत्मा शिथिल भयो। सेला तपाईंले मेरा आँखा लाग्न दिनुभएन, म यति दु:खित भएँ, कि बोल्न पनि सकिनँ। बितेका दिनहरू, धेरै पुराना वर्षहरूको मैले सम्झना गरें। राती मैले आफ्ना गीतहरू सम्झें, म ध्यानमा बसें, र मेरो आत्माले यो सोध्यो: के परमेश्वरले सदाको निम्ति इन्कार गर्नुहुन्छ, र उहाँले फेरि कहिल्यै निगाह राख्नुहुन्न? के उहाँको अचूक प्रेम सदाको लागि मेटिएको छ? के उहाँका प्रतिज्ञाहरू सदाको निम्ति समाप्त भएका छन्? के परमेश्वरले दया गर्न बिर्सनुभएको छ? के रिसाएर उहाँले आफ्नो कृपा-दृष्टि बन्द गर्नुभएको छ? अनि मैले सोचें, “यस कुरामा म अपिल गर्छु: सर्वोच्चको दाहिने बाहुलीका वर्षहरू।” परमप्रभुका कार्यहरूको म स्मरण गर्नेछु, निश्चय नै तादिका तपाईंका आश्चर्यकर्महरू म सम्झनेछु। म तपाईंका सबै कामहरूमाथि मनन गर्नेछु, र तपाईंका सबै शक्तिशाली कार्यहरूमाथि चिन्तन गर्नेछु। हे परमेश्वर, तपाईंका मार्ग पवित्र छन्, हाम्रा परमेश्वरझैँ महान् देव अरू को छ? तपाईं आश्चर्य कामहरू गर्ने परमेश्वर हुनुहुन्छ, तपाईं आफ्नो सामर्थ्य मानिसहरूका बीचमा प्रकट गर्नुहुन्छ। तपाईंले आफ्नो बाहुलीको शक्तिले आफ्ना मानिसहरूलाई उद्धार गर्नुभयो, याकूब र योसेफका सन्तानहरूलाई। सेला हे परमेश्वर, समुद्रको पानीले तपाईंलाई देख्यो, जब पानीले तपाईंलाई देख्यो, त्यो मड़ारियो। अथाह सागर कम्पायमान भयो। बादलहरूले पानी खन्याए, आकाशमा भयङ्कर रूपले गर्जन लाग्यो, तपाईंका बाणहरू चारैतिर चम्कन लागे। तपाईंको गर्जन आँधीबेहरीमा सुनियो, तपाईंको बिजुलीले संसारलाई आलोकित पारिदियो, पृथ्वी कम्पित भएर हल्लियो। तपाईंको बाटो समुद्र भएर गयो, र तपाईंको पथ महासमुद्रको बीचमा थियो, यद्यपि तपाईंका पाइलाहरू देखिएनन्। मोशा र हारूनका हातद्वारा तपाईंले आफ्नो प्रजालाई भेड़ाको एउटा बगाललाई जस्तै डोर्याउनुभयो।
भजनसंग्रह 77:1-20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मैले सहायताको निम्ति परमेश्वरलाई पुकारेँ, मलाई सुन्नुभएको होस् भनेर मैले परमेश्वरलाई पुकारेँ। जब म दुःखमा थिएँ, मैले प्रभुलाई प्रार्थना गरेँ; रातमा नथाकी उहाँमा मैले हात पसारेँ, तर मेरो हृदयले सान्त्वना पाएन। हे परमेश्वर, मैले तपाईंको सम्झना गरेँ, र मैले अफसोस गरेँ; मैले हृदयमा मनन गरेँ, र मेरो आत्मा शिथिल भयो। सेला तपाईंले मेरा आँखा चिम्लन दिनुभएन; म बोल्न नसक्ने गरी अति दुःखित थिएँ। मैले बितेका दिनहरूको सम्झना गरेँ, धेरै अगाडिका वर्षहरू; रातका मेरा गीतहरू सम्झेँ। मैले हृदयमा मनन गरेँ, र मेरो आत्माले यो विचार गर्यो: “के प्रभुले सदाको निम्ति मलाई त्याग्नुहुनेछ? के उहाँले मलाई फेरि कहिल्यै दया देखाउनुहुनेछैन? के उहाँको अचुक प्रेम सदाको लागि मेटिएको छ? के उहाँका प्रतिज्ञाहरू सदाको लागि असफल भएका हुन्? के परमेश्वरले दया देखाउन बिर्सनुभएको हो? के उहाँले आफ्नो रिसमा दयाको दृष्टि रोक्नुभएको हो?” सेला तब मैले सोचेँ, “मेरो पीडाको कारणचाहिँ सर्वोच्च परमेश्वरको दाहिने बाहुली परिवर्तन भएको छ।” म याहवेहका हातका कामहरू स्मरण गर्नेछु; हो, म बितेका समयहरूका तपाईंका अचम्मका कामहरू याद गर्नेछु। म तपाईंका सबै कामहरूलाई विचार गर्नेछु र तपाईंका सबै महान् कार्यहरूलाई मनन गर्नेछु। हे परमेश्वर, तपाईंका मार्गहरू पवित्र छन्; हाम्रा महान् परमेश्वरझैँ अरू देव को छ र? तपाईं अचम्मका कामहरू गर्ने परमेश्वर हुनुहुन्छ; तपाईंले आफ्नो शक्ति जाति-जातिहरूका बीच प्रकट गर्नुहुन्छ। तपाईंको शक्तिशाली बाहुलीले आफ्ना मानिसहरूलाई, याकोब र योसेफका सन्तानहरूलाई उद्धार गर्नुभयो। सेला हे परमेश्वर, समुद्रले तपाईंलाई देख्यो, सागरले तपाईंलाई देख्यो र डरायो; गहिरो महासागर डराएर काम्यो। बादलहरूले झरी बर्साए, आकाशमा चट्याङ गुन्ज्यो; तपाईंको बिजुली काँडहरू चारैतिर चम्के। तपाईंको चट्याङको गर्जन आँधीबेहरीमा सुनियो; तपाईंको चम्किलो बिजुलीले संसारलाई उज्यालो पारिदियो; पृथ्वी काम्यो र भुइँचालो गयो। तपाईंको मार्गले समुद्र भएर डोर्यायो; तपाईंको बाटो महासागरको बीचमा थियो, यद्यपि तपाईंका पाइलाका छापहरू देखिएनन्। तपाईंले आफ्ना मानिसहरूलाई भेडाका बथानलाई जस्तै मोशा र हारूनका हातद्वारा डोर्याउनुभयो।
भजनसंग्रह 77:1-20 पवित्र बाइबल (NERV)
मैले ठूलो-ठूलो आवाजले कराएर परमेश्वरलाई गुहार मागें। हे परमेश्वर, मेरो रोदन सुनिदिनु होस्! मेरो स्वामी, जब म सङ्कटमा परें म तपाईं कहाँ आएँ, तपाईंलाई पाउने प्रयासमा म रातभरी जागें र पनि आत्मामा शान्ति भएन। मैले परमेश्वरको बारेमा सोचें, अनि आफ्नो हालत बताउने प्रयास गरें, तर मैले सकिनँ। तपाईंले मलाई सुत्न दिनु भएन, म केही भन्न चाहन्थे तर म एकदम हताश थिएँ। मैले बितेका कुराहरू सम्झिरहेको थिएँ। धेरै अगाडि हुन गएको घटनाहरू सम्झिरहेको थिएँ। रातमा, मैले आफ्ना गीतहरूको बारेमा सोच्ने प्रयास गरें। मैले आफैंलाई बुझ्ने कोशिश गरें। म छक्क पर्छु, “के हाम्रो स्वामीले हामीलाई सदाको लागि त्याग्नु भयो? के फेरि उहाँ हामीसित खुशी हुनुहुन्न? के फेरि हामीसँग उहाँ बात मार्न सक्नु हुनेछ? के परमेश्वरको प्रेम सदाको निम्ति बिलाउँछ? करूणा के हो भन्ने कुरा उहाँले भुल्नु भयो? उहाँको समवेदना जति क्रोधमा परिवर्तन भयो?” तब मैले सोचें, “जुन कुराले मलाई सधैँ सताई रहन्छ त्यो होः ‘के सर्वशक्तिमान् परमेश्वरले आफ्नो शक्ति गुमाउनु भयो?’” म सम्झना गर्छु उहाँले कस्तो-कस्तो कार्य गर्नुभयो भनेर। परमेश्वर म ती आश्चर्यपूर्वक कुराहरू सम्झना गर्छु, जुन तपाईंले धेरै-धेरै अगाडि गर्नु भएको थियो। तपाईंले के गर्नु भएको थियो त्यो मैले सोचें। म तपाईंका सबै शक्तिशाली कार्यहरू सोच्दछु। परमेश्वर, तपाईंका बाटोहरू पवित्र छन्, तपाईं बाहेक कोही पनि महान् छैन। तपाईं परमेश्वर हुनुहुन्छ जसले अचम्मका कामहरू गर्नु हुन्छ। तपाईंले मानिसहरूलाई आफ्नो महान् शक्तिहरू देखाउनु भयो। तपाईंको शक्तिले मानिसहरूलाई बचाउनु भयो तपाईंले याकूब र यूसफका सन्तानहरूलाई बचाउनु भयो। परमेश्वर, पानीले तपाईंलाई देख्यो र भयभित भयो। गहिरो पानी भएका ठाउँहरू पनि डरले कामे। बाक्लो बादलहरूले पानी बर्षाए। मानिसहरूले डरलाग्दो उच्चबादलहरूमा बिजुली चम्केको देखें। त्यहाँ बिजुलीको गडगडाहट थियो, तब बिजुलीको चमक्ले संसार नै उज्यालो पार्यो, अनि पृथ्वी थर-थर काँप्न थाल्यो। परमेश्वर, तपाईं गहिरो पानी भएर हिँड्नु भयो, तपाईंले गहन समुद्र पार गर्नुभयो, तर तपाईंले कुनै छाप छोड्नु भएन। तपाईंले आफ्ना भक्तजनहरूलाई भेंडा सरह डोर्याउनँ, मोशा र हारूनलाई खटाउनु भयो।
भजनसंग्रह 77:1-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
म परमेश्वरकहाँ ठूलो स्वरले पुकारा गर्दछु, ठूलो स्वरले पुकारा गर्दछु र उहाँले मलाई सुन्नुहुन्छ। कष्टको समयमा म परमप्रभुलाई प्रार्थना गर्दछु, रातभरि म प्रार्थनामा आफ्ना हात उचाल्दछु, तर मैले केही सान्त्वना पाउँदिनँ। जब म परमेश्वरबारे सोच्दछु, मैले सुस्केरा मार्दछु, जब म ध्यानमा बस्दछु, म निरुत्साहित हुन्छु। उहाँले मलाई रातभरि जागो राख्नुहुन्छ, म यति चिन्तित छु कि म बोल्न समेत सक्दिनँ। म बितेको दिनबारे सोच्दछु, धेरै अघिका वर्षहरू याद गर्दछु। म गहिरो सोचमा परेर रात बिताउँछु; म ध्यानमा बस्दछु र म आफैंलाई यो सोध्दछु: “के प्रभुले हामीलाई सधैँ अस्वीकार गर्नुहुनेछ? के उहाँ फेरि हामीसँग कहिल्यै खुसी हुनुहुन्न? के उहाँले हामीलाई प्रेम गर्न छोड्नुभयो? के अब उहाँको प्रतिज्ञा रहनेछैन? के परमेश्वरले दयामाया गर्न छोड्नुभयो? के उहाँका मायाको सट्टामा अब क्रोध रहेको छ?” तब मैले भनें, “अब परमेश्वरमा सामर्थ्य नै रहेनछ भन्ने कुराले मलाई सबैभन्दा दु:ख दिन्छ।” हे परमप्रभु! म तपाईंका महान् कार्यहरू सम्झनेछु, बितेका समयमा तपाईंले गर्नुभएको आश्चर्य कामहरू याद गर्नेछु। तपाईंले गर्नुभएका सबै कुराबारे म सोच्नेछु, तपाईंका सबै सामर्थी कामहरूमा ध्यान गर्नेछु। हे परमेश्वर! तपाईंले गर्नुभएको सबै काम पवित्र छन्, तपाईंजस्तो महान् परमेश्वर अरू कोही छैन। तपाईं आश्चर्यकर्म गर्नुहुने परमेश्वर हुनुहुन्छ, जाति-जातिको बीचमा तपाईंले आफ्ना सामर्थ्य देखाउनुभयो। आफ्ना शक्तिले तपाईंले आफ्ना प्रजालाई बचाउनुभयो, याकूब र योसेफका सन्तानलाई बचाउनुभयो। हे परमेश्वर! तपाईंलाई देखेर महासागरहरू डराए, समुद्रका गहिराइहरू हल्लिए। बादलले पानी बर्सायो; आकाशमा चट्याङ्ग पड्क्यो र चारैतिर बिजुली चम्क्यो। चट्याङ्गका गर्जन आकाशभरि फैलियो, बिजुली चम्केकाले चारैदिशा उज्यालो पार्यो, पृथ्वीमा भूइँचालो गयो र हल्लियो। पानीका भलमा हिँडेर तपाईंले गहिरो समुद्रपार गर्नुभयो, तर तपाईंका पैतालाका छाप कतै देखिएनन्। मोशा र हारूनलाई जिम्मा दिएर गोठालाले झैँ तपाईंले आफ्ना प्रजालाई डोर्याउनुभयो।