भजनसंग्रह 7:1-17
भजनसंग्रह 7:1-17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हे परमप्रभु मेरा परमेश्वर! मेरो सुरक्षाको लागि म तपाईंकहाँ आउँछु, मेरो खेदो गर्नेहरू सबैदेखि मेरो उद्धार गर्नुहोस् र मलाई बचाउनुहोस्। होइन भने त सिंहले झैँ कसैले बचाउन नसक्ने ठाउँमा घिस्याएर तिनीहरूले मलाई लानेछन्, र त्यहीँ तिनीहरूले मलाई टुक्रा-टुक्रा पार्नेछन्। हे परमप्रभु मेरा परमेश्वर! यदि मैले कसैको केही बिगार गरेको छु भने, कुनै साथीलाई धोका दिएको छु भने, कारणैबिना मेरा शत्रुको विश्वासघात गरेको छु भने, मैले कुनै यस्तो उपद्रव काम गरेको छु भने मेरा शत्रुहरूले मलाई खेदून् र पक्रून्, तिनीहरूले मलाई काटून् र मारून् र मेरो लाशलाई जमिनमा फालिराखून्! हे परमप्रभु! आफ्नो रिसमा खडा हुनुहोस्। मेरा शत्रुहरूका क्रोधको अघि उभिनुहोस्। उठेर मेरो सहायता गर्नुहोस्। तपाईंले न्याय चाहनुहुन्छ। यसर्थ सबै मानिसहरूलाई आफ्नो चारैपट्टि भेला गर्नुहोस् र स्वर्गदेखि तिनीहरूमाथि राज्य गर्नुहोस्। तपाईं सारा मानव-जातिका न्यायकर्ता हुनुहुन्छ। हे परमप्रभु! मेरो पक्षमा निसाफ गर्नुहोस्। तपाईं जान्नुहुन्छ कि म निर्दोष छु। तपाईं धर्मी परमेश्वर हुनुहुन्छ र हाम्रा सोच-विचार र इच्छा जाँच्नुहुन्छ। दुष्टहरूको दुष्ट काम रोक्नुहोस् र भला मानिसहरूलाई इनाम दिनुहोस्। परमेश्वर मेरा रक्षक हुनुहुन्छ, आफ्ना आज्ञा मान्नेहरूलाई उहाँले बचाउनुहुन्छ। परमेश्वर धार्मिक न्यायकर्ता हुनुहुन्छ र सधैँ दुष्टलाई दोषी ठहराउनुहुन्छ। तिनीहरूले आफ्ना बानी-बेहोरा सुधार्दैनन् भने परमेश्वरले आफ्नो तरवारमा सान लाउनुहुनेछ। उहाँले आफ्नो धनु तानेर हान्नलाई तयार पार्नुहुन्छ, उहाँले आफ्ना घात गर्ने हतियारहरू उठाउनुहुन्छ र अग्नि-वाण ताक्नुहुन्छ। हेर्नुहोस्, कसरी दुष्ट मानिसहरूले दुष्ट कुरा सोच्छन्। तिनीहरू झैँ-झगडा गर्ने युक्ति गर्छन्, छल-कपट गर्छन्। तर अरूलाई थापेको पासोमा तिनीहरू आफैं पर्छन्। आफ्ना दुष्कर्मको दण्ड तिनीहरू आफैं भोग्छन् र आफ्ना हिँसाको चोट आफैं खप्छन्। तपाईंको न्यायको लागि म परमप्रभुलाई धन्यवाद दिन्छु। म सर्वोच्च परमप्रभुको प्रशंसा गाउँछु।
भजनसंग्रह 7:1-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमप्रभु मेरा परमेश्वर, तपाईंमा नै म शरण पर्छु। मेरो खेदो गर्नेहरू सबैबाट मलाई बचाउनुहोस् र छुटाउनुहोस्, नत्रता सिंहले झैँ तिनीहरूले मलाई फहराउनेछन्, र मलाई छुटाउने कोही नहुँदा तिनीहरूले मलाई टुक्रा-टुक्रा पार्नेछन्। हे परमप्रभु मेरा परमेश्वर, यदि मेरा हातबाट केही अधर्म भएको छ भने— यदि आफ्नो मित्रलाई मैले खराबी गरेको छु भने, र विनाकारण मेरा विरोधीलाई लुटेको छु भने, यदि मैले यसो गरेको भए, मेरो शत्रुले मलाई खेदेर भेट्टाओस्, र त्यसले मेरो शरीर भूइँमा कुल्चीमिल्ची पारोस्, र मेरो प्राण धूलोमा मिलाइदेओस्। हे परमप्रभु, आफ्नो कोपमा उठ्नुहोस्, र मेरा शत्रुहरूका प्रकोपको विरुद्ध तपाईं आफै खड़ा हुनुहोस्। हे मेरा परमेश्वर, जाग्नुहोस्, र न्यायको आदेश दिनुहोस्। जाति-जातिहरू तपाईंको वरिपरि एकत्र होऊन्, र तिनीहरूमाथि उच्च स्थानबाट राज गर्नुहोस्। परमप्रभुले सबै जातिहरूको न्याय गरून्। हे परमप्रभु, मेरो धार्मिकताअनुसार र मेरो निर्दोषताअनुसार मेरो न्याय गर्नुहोस्, हे सर्वोच्च परमेश्वर। हे धार्मिक परमेश्वर, जसले मन र हृदयको जाँच गर्नुहुन्छ, दुष्टहरूको उपद्रव समाप्त गर्नुहोस्, तर धर्मीहरूलाई स्थिर गराउनुहोस्। मेरो ढाल सर्वोच्च परमेश्वर हुनुहुन्छ, जसले सोझो हृदय भएका मानिसहरूलाई बचाउनुहुन्छ। परमेश्वर निष्पक्ष न्यायाधीश हुनुहुन्छ, जुन परमेश्वरले प्रतिदिन आफ्नो क्रोध व्यक्त गर्नुहुन्छ। यदि मानिसले पश्चात्ताप गरेन भनेता, उहाँले आफ्नो तरवारमा शान लाउनुहुनेछ। उहाँले आफ्नो धनुमा ताँदो चढ़ाउनुहुनेछ। उहाँले आफ्ना घातक शस्त्रहरू तयार पार्नुभएको छ। उहाँले आफ्ना काँड़हरूलाई अग्निबाण तुल्याउनुहुन्छ। जसको कल्पना दुष्टताले पूर्ण छ, र उपद्र्याइँ सोच्दछ, त्यसले भ्रमलाई जन्म दिन्छ। जसले खनेर एउटा खाल्डो बनाउँछ, त्यसले खनेको खाल्डोभित्र त्यो आफै जाकिन्छ। त्यसको उपद्र्याइँ त्यसको आफ्नै टाउकोमा खनिन्छ, त्यसको अत्याचार त्यसकै थाप्लोमाथि ओइरिन्छ। परमप्रभुका धार्मिकताको कारण म उहाँमा धन्यवाद चढ़ाउनेछु, र सर्वोच्च परमप्रभुको स्तुति म गाउनेछु।
भजनसंग्रह 7:1-17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे याहवेह, मेरो परमेश्वर, म तपाईंमा नै शरण पर्दछु; मेरो खेदो गर्नेहरूबाट मलाई बचाउनुहोस् र छुटकारा दिनुहोस्, नत्रता तिनीहरूले मलाई सिंहले झैँ फहराउनेछन्; मेरो उद्धार गर्ने कोही नहुँदा तिनीहरूले मलाई टुक्रा-टुक्रा पार्नेछन्। हे याहवेह, मेरा परमेश्वर, यदि मैले यो गरेको छु र यदि मेरा हातबाट केही अधर्म भएको छ भने; यदि मसँग मिल्ने मित्रहरूलाई मैले खराबी गरेको छु भने; वा कारणविना मेरा शत्रुहरूलाई केही लुटेको छु भने; यदि मैले यसो गरेको भए, मेरो शत्रुहरूले मलाई खेदून् र पक्रून्; तिनीहरूले मेरो प्राणलाई धुलोमा कुल्चिऊन्, र मेरो इज्जत धुलोमा पारून्। सेला हे याहवेह, तपाईंको क्रोधमा उठ्नुहोस्; मेरा शत्रुहरूको क्रोधको विरुद्धमा खडा हुनुहोस्, हे मेरा परमेश्वर, उठ्नुहोस् र आफ्नो न्याय आदेश गर्नुहोस्। जाति-जातिहरू तपाईंको वरिपरि भेला होऊन्; उच्च सिंहासनमा विराजमान भई तिनीहरूमाथि शासन गर्नुहोस्; याहवेहले जाति-जातिहरूको न्याय गरून्। हे याहवेह, सर्वोच्च परमेश्वर मेरो धार्मिकताअनुसार, र मेरो इमानदारीताअनुसार निर्दोष प्रमाणित गर्नुहोस्। हे धार्मिक परमेश्वर, जसले हृदय र मन जाँच्नुहुन्छ, दुष्टहरूको उपद्रवको अन्त्य गर्नुहोस्, अनि धर्मीहरूको सुरक्षा गर्नुहोस्। सर्वोच्च परमेश्वर मेरो ढाल हुनुहुन्छ, जसले सोझो हृदय भएकाहरूलाई बचाउनुहुन्छ। परमेश्वर धार्मिक न्यायकर्ता हुनुहुन्छ, यस्तो परमेश्वर, जसले प्रतिदिन आफ्नो क्रोध प्रकट गर्नुहुन्छ। यदि मानिसले पश्चात्ताप गरेन भने, उहाँले आफ्नो तरवारमा शान लगाउनुहुनेछ; उहाँले आफ्नो धनुमा ताँदो चढाउनुहुनेछ र निसाना लगाउनुहुनेछ। उहाँले आफ्ना प्राणघातक हातहतियार तयार पार्नुभएको छ; उहाँले आफ्ना अग्निकाँडहरू तयार पार्नुभएको छ। जसले अधर्मको गर्भधारण गर्दछ, त्यसले सङ्कष्ट बोक्दछ र छललाई जन्म दिन्छ। जसले खनेर खाडल बनाउँछ र अरूलाई गिराउन चाहन्छ, त्यसले खनेको खाडलमा आफैँ जाकिन्छन्। त्यसले रचेका उपद्रवले आफैँलाई नै बेर्नेछ; र त्यसको अत्याचार त्यसकै टाउकोमा खनिन्छ। उहाँका धार्मिकताको कारण म याहवेहलाई धन्यवाद चढाउनेछु र सर्वोच्च याहवेहको नामको स्तुति गाउनेछु।
भजनसंग्रह 7:1-17 पवित्र बाइबल (NERV)
हे परमप्रभु, मेरा परमेश्वर, म तपाईंमाथि भरोसा राख्दछु। ती खेदो गर्ने मानिसहरूबाट मलाई बचाउनु होस्। यदि तपाईंले मलाईं सहयोग गर्नु हुन्न भने, म सिंहले पक्रेको पशु जस्तै हुनेछु। मलाई तिनीहरूले लगेर जानेछन्, र मलाई कसैले बचाउन सक्ने छैन! हे परमप्रभु मेरा परमेश्वर, मैले त्यस्तो कुनै नराम्रो काम गरिनँ। म कसम खान्छु मैले नराम्रो काम गरिनँ! मैले मेरा साथीहरूका लागि अधर्म काम गरेको छैन्। म बिना कारण मेरा शत्रुहरूमाथि जाइलागेको छैन्। यदि त्यो सत्य होइन भने, मलाई दण्ड दिनुहोस्। मलाई मेरो शत्रुहरूले खेदुन्, समातुन् र मारून्। मलाई भुइँमा कुल्चिउन् र मेरो आत्मालाई धूलो-मूलोमा फालिदिउन्। हे परमप्रभु, जाग्नु होस् अनि तपाईंको रिसले तिनीहरूलाई न्याय गर्नुहोस्। मेरा रिसाएका शत्रुहरूको विरोधमा उठ्नु होस्। हे मेरा परमेश्वर, तपाईं न्याय गर्नुहुन्छ यसर्थ मेरो निम्ति न्याय गर्नुहोस्। हे परमप्रभु, मानिसहरूको न्याय गर्नुहोस्, जातिहरूलाई वरिपरि जम्मा गर्नुहोस्। परमप्रभु, जाग्नु होस् र स्वच्छ न्याय गर्नुहोस्। हे परमप्रभु, मानिसहरूको न्याय गर्नुहोस्। मेरो न्याय गर्नुहोस्। म सही र निर्दोष छु भनेर प्रमाणित गर्नुहोस्। दुष्ट मानिसहरूलाई दण्ड दिनुहोस्, अनि धार्मिक मानिसहरूलाई सहयोग गर्नुहोस्। हे परमप्रभु, तपाईंले मानिसहरूको हृदय देख्न सक्नुहुन्छ। परमेश्वरले ईमान्दार हृदयसँग मानिसहरूलाई सघाउनु हुन्छ। यसकारण परमेश्वरले मेरो रक्षा गर्नुहुन्छ। परमेश्वर असल न्यायाकर्त्ता हुनुहुन्छ, उहाँ सधैँ अधर्मको विरूद्ध बोल्नु हुन्छ। यदि परमेश्वरले कुनै निर्णय लिनु भयो भने उहाँले आफ्नो मन बदल्नु हुन्न। यदि दुष्ट मानिसहरू परिर्वतन हुँदैनन् भने, परमेश्वर तिनीहरूलाई सजाय दिनु तयार हुनुहुन्छ। परमेश्वरले आफ्नो तरवार उध्याउनु भएकोछ अनि काँड हान्न तयार हुनुहुन्छ। दुष्ट मानिसहरूले दिएको कष्ट र पीरहरू तपाईंले निश्चय देख्नु भएकोछ। यस विषायमा तपाईंले केही गर्नुहोस्। ती असहाय मानिसहरूलाई सहायता गर्ने कोही पनि छैनन्। दृष्टीहीनको निम्ति तपाईं रक्षक हुनुहुन्छ। तिनीहरूले पाउनु पर्नै दण्ड पाउने छन्, जो अरूको लागि कपटी छन्। तर तिनीहरूले जस्तो रोपेका छन् त्यस्तै फल पाउनेछन्। म परमप्रभुको प्रशंसा गाउँदछु किनभने उहाँ असल हुनुहुन्छ। सर्वोच्च परमप्रभुको नाउँको म प्रशंसा गर्नेछु।